डा. भट्टराई भर्सेस नयाँशक्ति



मनोज श्रेष्ठ .

नयाँशक्तिको वहस अहिले टोलटोलमा हुन थालेको छ । अझ पूर्वप्रधानमन्त्री समेत भईसकेका तत्कालिन एमाओवादी नेता डा.बाबुराम भट्टराईले भन्दै आएको ‘नयाँ शक्ति’वारे झनै चर्को आलोचना हुने गरेको छ । उनले खोल्न लागेको नयाँ पार्टी हो, नयाँ शक्ति होइन । नयाँ शक्ति हुनलाई त सरकारी सुविधा नलिएका, सरकारी पदमा नवसेका अझ भनौँ अहिलेसम्म कुनै पार्टीको सदस्यता नलिएकाले संचालन गर्न लागेको अभियानबाट जुटाउन खोजेको मास जनमतलाई वुझाउँछ ।

यी र यस्ता तर्क डा.भट्टराईकै फेसवुक कमेन्टमा गएर हेरे पुग्छ । अहिले यो देशमा नयाँ शक्तिको आवश्यकतावारे स्कूल–स्कूलमा वहस हुन थालेको छ । बीबीसीका पत्रकार रवीन्द्र मिश्रदेखि लिएर बैंकर अनिल शाह हुदै डा. उपेन्द्र देवकोटा, हङकङ बस्दै आएका घनश्याम चौलागाई, युवा लिडर मणी पोखरेल, कृषि कल सेन्टर संचालक रविन अधिकारीसम्मले नयाँ शक्तिको कैयन वहस संचालन गरिरहेका छन् । कसैले आर्टिकल लेखेर होस वा कसैले फ्लोरमै गएर कार्यक्रम गरीरहेका छन् ।

अहिलेसम्म सतहमा देखिएका मात्रै हुन यी । नदेखिएका वा ससाना गतिविधी त धेरै हुने गरेका छन् टोलटोलमा । हुन त विवेकशील नेपालीले पनि आफुलाई नयाँ शक्तिको अकालत गर्दै आएको छ । तर, पार्टी दर्ता गरेर चुनावमा गईसकेपछि केको नयाँ शक्ति ?

यहाँ व्याख्या गर्न खोजिएको विषय भनेकै नयाँ शक्तिवारे हो । देश निरन्तर उँधोगतितर्फ गईरहेको टुलुटुलु हेरेर बस्न नसकेपछि हङकङमा वस्दै आएका मोरङका घनश्याम चौलागाईले फेसवुकबाटै नयाँ शक्ति नेपालको उदय गराए । लगभग डेढ बर्षदेखि फेसवुकबाट चलाएको यो अभियानमा अहिले ५५ हजार जोडिसकेका छन् । नेपालमा भर्खरै धनगढीमा अन्तराष्ट्रिय स्तरको खेल सम्पन्न गर्यो । यसअधि भुकम्प पीडितलाई सहयोग गर्यो । र, पछिल्लो केहि महिनादेखि जिल्लाजिल्लामा कमिटि गठनगरी रहेको छ ।

चौलागाईको नयाँ शक्ति नेपालले कम्तीमा एक लाख विदेशमा वस्नेहरुको संख्या वनाएपछि सवै एकै साथ नेपाल फर्केर ड्याङडुङ गरेर हरेक क्षेत्रको काम गर्ने जमर्को गर्दैछ । अव गफ बढी भो काम पनि गर्राँ भन्ने उनीहरुको निष्कर्ष छ ।

 त्यस्तैगरी युवा क्षेत्रमा राम्रो दख्खल राख्ने र उनीहरुकै वकालत गर्दै आएका भोजपुरका मणि पोखरेलले पनि अहिले सुशासन महाअभियान मार्फत नयाँ शक्तिको होमवर्क गरीरहेका छन् । उनले पनि लगभग तीनवर्षदेखि प्रयास गरेर यसै साता केन्द्रिय कमिटी गठन गर्यो । उनको यो महाअभियानले पुस मसान्तभित्र सार्वजनिक गर्ने सोचले काम अगाडि बढाईरहेका छन् । उनको नेतृत्व क्षमता देखेर नलोभिने कोही छैनन् । उनले भन्दै आएका छन्, ‘तपाईहरु साथ दिनुस नदिनुस म वाचुन्याल एक्लै भएपनि प्रयास गरीरहनेछु । विज्ञान संवत ढंगले समस्याको समाधान खोजौ, जसले गर्दा विवाद नहोस । र, सुशासन यस्तो शब्द हो जुन राजनीतिमा पनि ठिक र एनजिओमा पनि, तर, यो दुवै होइन ।’

त्यसैगरी विगत वर्षदिनदेखि लागिपरेका कृषि कल सेन्टर संचालक रविन अधिकारी पनि देशमा नयाँ शक्ति मार्फत देश विकास र समृद्धितर्फ लैजाऔं भन्ने अभियानमा छन् । त्यस्तै बैंकर अनिल केसरी शाहले पनि देश विकासकालागि विभिन्न अभियान संचालन गर्दै आएका छन् । उनले नयाँ शक्तिको लागि गरेका हुन या दवाव दिन मात्रै त्यो भने स्पष्ट भईसकेको छैन ।

माथि उद्हारण दिईएकाहरु यसअघि कुनै पार्टी निटक वा पार्टीको दसस्य थिएनन् । र, यिनले गर्न खोजेको पनि देश समृद्धिकै लागि हो । भलै कुन बाटो रोज्छन, त्यो त पछि देखिने कुरा हुन । तर, खोजेको रिजल्ट चाही एउटै हो । सवैले खुड्किलो चढ्न खोजेका त हुन, तर फरकफरक विषय वा मुद्या मार्फत । अहिलेका दल वा डा.भट्टराईको ‘नयाँ शक्ति’ले मुद्या वा भाषणवाजी गरेरै राजनीति गर्न खोजेका छन् । तर, बाँकी नयाँ आउन लागेकाहरुले संगै केहि काम वा अभियान मार्फत अघि आउन खोजेका छन् ।

प्रत्येक निर्वाचनमा कहिले पनि ७० प्रतिशतभन्दावढी भोट खस्दैन । यसलाई आधार मान्दा पनि नेपालमा पार्टीको सदस्यता नलिएकाहरु अझै धेरै छन् । माओवादी जनयुद्धताका गाउँगाउँमा बाडेको सपनाको एक प्रतिशत मात्रै विकास पुर्याईदिएका भए, दोश्रो संविधानसभाको चुनावमा त्यस्तो परिणाम भोग्न पर्दैनथियो । यहाँ देशमा जनताले विकास, समृद्धि र शान्ति चाहेका छन् । जसभित्र रोजगार होस, हिड्ने बाटो होस, गाउँमा किसानले उत्पादन गरेको अन्न तथा तरकारी सजहै वजारसम्म पुर्याउन सकियोस । यति मात्रै गर्न सक्ने हो भने अहिले भारतले लगाएको नाकाबन्दीको कुनै महसुस नै गर्नुपर्दैन थियो ।

यहाँका जनता यतिसम्मका मूर्ख छन्, जावो ग्रिनकार्ड होल्डरलाई सरकरी जागिरबाट हटाउन पर्छ भन्दा तालि पड्काएर वहाँवही दिन्छन् मन्त्रीलाई । तर, वुझन् नसकेको थोरै कुरा यहाँ सान्दर्भिकता भएकोले राख्दैछु । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राम्रै गर्न खोजेका होलान । तर, मेरो दिमागले के भन्छ भने, ‘सरकारी स्कटिङगरी भ्रष्टाचारीलाई अमेरिका सेफल्याण्डिङ गराईयो ।’ किनभने ग्रीन कार्ड चानचुनेले पाउने होइन, उच्च ओहोदामा वस्नेहरु जसको पेन्सन पाकी सकेको छ, त्यस्ताले मात्रै पाउने हुन । यो देशमा भ्रष्टाचार पनि तिनै तह र तप्काकाले गर्न सक्छन् । अव, पण्डितले ‘ल चाडै भागी हाल है, नत्र अख्तियारको दायरामा परेर जेल जालाउँ’ भनेर पठाई दिए । कम्तिमा सम्पक्ति शुद्धिकरण गरेर पठाउन पर्दैन ? यहाँ कार्यपालिकाले सिंका पनि भाच्दैन अनि यति काम गर्दा पनि वहाँवही पाउछन् ।

अर्को एउटा उद्हारण दिन चाहन्छु । सयहप्ता क्रसगरी सक्यो बागमती सफाई अभियान । यो अभियानमा सायद नपुग्ने कमै होलान । तर, म एक पटक पनि पुगिनँ । नपुग्नुको कारण पनि छ । यो पनि हल्ला गरेर नाउँ कमाउन भन्दा अन्य छैन । साच्चै बागमती सफा गर्न खोजेको हो भने यतिका समय चाहिँदैन । असार, साउन र भर्दौमा आउने भेलमा जम्मा दश हजार मेनपावर र ५० वटा जति डोजर भए, एकै दिनमा सफा हुन्छ । साच्चै सफा गर्न खोजेको हो भने । तर, फोहोर फ्याल्ने विकल्प दिन पर्यो नि ? हरेक ५० देखि सय मिटर दूरीमा फोहोर फ्याल्ने कन्टेनर राखिदिउँ त ? यो नाटक मञ्चन गरिरहनै पर्दैन । यस्ता उद्हारण धेरै छन् । लेख्न थाल्यो भने एउटा उपन्यास बन्छ ।

यि सन्दर्भ किन राखिएको भने, अव वन्ने नयाँशक्तिले गफलाई होइन, कामलाई ध्यान दिनपर्छ । रिजल्ट वेस काम गर्नुपर्छ । गफ दिन ठूलो कुरो होइन ? डा.भट्टराई वाहेकका नयाँ शक्ति अभियान्ताले रिजल्ट वेस काम गर्ने भनेरै कम्मर कसेका छन् । चोरैचोर भएको यो देशमा कम चोर कम चोर मिलेर देश बनाउने हिम्मत गर्नुपर्छ । यहाँ स्कूलमा आयोजना गरिने पिकनिकमा भ्रष्टाचार गर्छन । विद्यार्थी कालदेखि नै यो मौलाउदै आएको छ । सरकारले पचास पैसा पेट्रोलियम पदार्थमा बढाउदा आन्दोलन हुन्छ । विद्यार्थीको यो सस्कार बसेको हुदा सरकारले त्यै भएर अलिक धेरै वढाएको हुन्छ । अनि, आन्दोलनपछि थोरै घटाईदिन्छ । अहिले तिनै विरोधमा उत्रने विद्यार्थीहरुमध्ये अधिकांस धमाधम त्यै पेट्रोलियम पदार्थको कालोवजारी गर्न भ्याईनभ्याई छ ।

अव बन्ने नयाँ शक्ति कसको नेतृत्वमा हुन्छ, को सफल हुन्छ त्यो भविष्यको विषय हो । तर, म त भन्छु अझै पनि नयाँ शक्ति अभियान्ताहरु एक ठाउँमा आउनैपर्छ । किनभने जनमत भनेकै यहीँबाट निर्माण गर्ने हो । कुनै विदेशबाट आयात गर्ने चिज होइन । सुरुमा धेरै खटपट हुन सक्छ । तर, भुकम्पपछि प्लेट नमिल्दासम्म हल्लाई रहेजस्तै अलिअलि खटपटलाई पनि सहन पर्छ । उद्येश्य सवैको एउटै हो भने अलगअलग बाटो किन हिड्नु ? नयाँ शक्तिका अभियान्ता हो, मेरो गोरुको वाह्रै टक्का भनेर नहिड । त्यसो गरयौ भने समय मात्रै वर्वाद हुन्छ । न त्यसले तिमीलाई फाइदा गर्छ न त देशलाई नै । जसले जसरी काम गरेपनि अव देश बनाउनेहरुले कुनै काग्रेस वा कम्युनिष्टबाद वोकेर हिड्नु हुँदैन । नेपाल सुहाउदो नेपाली वा नेपाल वाद हुनुपर्छ । अव नेपाल सुहाउदो विकास मोडेल हुन पर्छ भन्ने उहाँको तर्फ थियो । मैले यो कुरा जहाँ पनि भन्ने गरेको थिए । उहाँजस्तो चर्चित व्यक्तिले पनि यस्ता कुरा लेख्लाने झनै राम्रो लाग्यो ।

बास्तवमै हामी नेपालमा भन्दा नेपाल वाहिर जादा मन रुन्छ । राष्ट्रभक्ति नेपालीहरु अझै पनि ठूलो संख्यामा नेपालमा हुनुहुन्छ । एकअर्काको सहयोगमा जुट्नुहुन्छ । यो एकता कायम राख्न थोरैथोरै भएपनि मबाट विकृतिको विरोधमा लागौ । अरुलाई गालीमात्रै होइन, आफैभित्रबाट थोरै भएपनि सकरात्मक वा राम्रो कामको थालनी गरौं । पेट्रोल चार सय गुणावढी तिरेर किन्नु पनि छ, त्यै पनि मिसावट । यतिसम्म पनि धनी बनी हालौ भन्ने तिर पनि नलागौ । मेरो घरमा पनि हिटर छ, तर म बाल्न दिन्न ।

अरुले पनि खाना पाउँन भनेर । भ्रष्टाचार नै गरेर ट्रान्समिटर खरिद गरेको भएपनि हुने कुरा भईसक्यो । त्यै संभावना आफैभित्र खोजौं । सिंगापुर जादा होटेलसम्म पुग्न ट्याक्सी चढियो । ट्याक्सीलाई होटेलको ठेगाना देखाईयो । उसले त्यस एरियासम्म पुर्यायो तर होटेल भेटेन । अनि उसले भन्यो, ‘यो मेरो मिस्टेक हो, मिटर यही वन्द गरेर तपाईहरुको गन्तव्य पुर्याईदिन्छु ।’ उनले अरु छ फन्को मार्यो । ट्राफिक, नगरपालिका लगायत धेरै ठाउँ सोधेर उनले गन्तव्य पुर्याईदियो । उनको कुरा सुनेर यति मन पग्लियो कि हामीले जति उठेको थियो, त्यसको डबल दिर्यौ । नेपालमा भए सोच्नुस त के हुन्थ्यो, सवैले भोगेकै कुरा हो ।

त्यै भएर नयाँ शक्तिका अभियान्ताले यस्ता कुरामा ध्यान पक्कै पनि दिन सक्नुपर्छ । साथसाथै हामी आफै पनि शुद्ध हुन आवश्यक छ । देशले चाडै निकास पाओस, यही आशा गरौं ।

रातोपाटीबाट