पाइलटले मरेर भएपनि बचाउँछौं भनेका थिए

जुम्ला, फागुन १४ – कालिकोटको चिल्खायामा दुर्घटनामा परेको काष्ठमण्डप एयरलाइन्सको विमानका दुई चालकले आफ्नो ज्यान दिएर यात्रुको ज्यान बचाएका छन् ।
विमान दुर्घटनामा घाइते भएका यात्रु मेघराज गिरीका अनुसार विमानमा खराबी आएको थाहा पाएपछि आकस्मिक अवतरणको प्रयास गर्दै पाइलटले नआत्तिन यात्रुलाई आग्रह गरेका थिए ।
उनीहरुले पटकपटक आफूहरु मरेर भएपनि तपाइँहरुको ज्यान जोगाउँछौ भनेको घाइते यात्रु गिरीले टेलिफोनबाट जानकारी दिए । विमानको अघिल्लो भाग ठोक्किएर कुच्चिएको छ ।
घटना लगत्तै त्यहाँ पुगेका नन्द कटुवालका अनुसार एकजना चालकको ज्यान गइसकेको थियो भने अर्का पाइलटको प्राथमिक उपचार गर्दै गर्दा ज्यान गएको हो । घाइते अवस्थामा रहेका पाइलटले उपचार गर्न पटकपटक आग्रह गरेको पनि प्रत्यक्षदर्शी कटुवालले जानकारी दिए । 
यात्रु गिरीका अनुसार मान्मा लेक नजिकै पुग्दा नै विमानमा खराबी आएको महसुस गरिएको थियो । उडिरहेका बेला विमानको पंखा नचलेपछिचालकले आकस्मिक अवतरणको प्रयास गरेका थिए ।
‘एक्कासी ठूलो आवाज आयो र पंखा बन्द भयो’ घाइते गिरीले भने, ‘अकस्मात विमानमा खराबी आएको थाहा पाएर हामी आत्तिदा पाइलटहरुले जसरी पनि अवतरण गराउछौँ भनेर नआत्तिन भनेका थिए ।’