हात जोडेर माफी मागेपछि न्यायाधीश बास्तोला छुटे

महोत्तरी, फागुन १० – महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका जिल्ला अदालत महोत्तरीका न्यायाधीश पूर्णप्रसाद बास्तोला माफी मागेर छुटेका छन् ।
आइतबार राति १० बजे इलाका प्रहरी कार्यालय बर्दिबासमा न्यायाधीश बास्तोलाले पीडित महिला र स्थानीय बासिन्दासँग हात जोडेर माफी मागेका हुन् । इलाका प्रहरी कार्यालय बर्दिबास र जिल्ला प्रहरी कार्यालय महोत्तरीले यस घटनामा अहिलेसम्म केही बताएका छैनन् ।
बर्दिबासमा रहेको शिश महल होटलमा खाजा खान गएको बेला आइतबार दिउँसो न्यायाधीश बास्तोलाले महिलालाई अभद्र व्यवहार गरेको आरोप लागेको थियो । बास्तोला जिल्ला अदालत महोत्तरीका अतिरिक्त न्यायाधीश हुन् । 
स्थानीय एक सहकारीमा कार्यरत महिलालाई बास्तोलाले यौन दुर्व्यवहारको प्रयास गरेका पीडित महिलाले बताएकी छन् । बचत तथा ऋण सहकारीको किस्ता उठाउन होटलको काउण्टरमा गएको बेला न्यायाधीश बास्तोलाले आफूलाई ‘काली रमाइलो गरौं’ भन्दै अभद्र व्यवहार गरेका पीडित महिलाले बताएकी छन् ।
अपरिचित व्यक्तिले होटलमा आफूलाई अभद्र व्यवहार गरेपछि महिलाले हल्लाखल्ला गरेकी थिइन् । महिलाको हारगुहारपछि होटलमा पीडित महिलाका आफन्त, स्थानीय बासिन्दा र प्रहरी पुगेका थिए । त्यसपछि मात्र महिलालाई अभद्र व्यवहार गर्ने व्यक्ति न्यायाधीश भएको खुलेको थियो ।
होटलबाट प्रहरीले बा ११ च ५८९४ नम्बरको कारसहित न्यायाधीश बास्तोलालाई पक्राउ गरेको थियो । प्रहरी कार्यालयमा दिउँसो साढे तीन बजेदेखि राति १० बजेसम्म पीडित महिलाका आफन्त, प्रहरी र न्यायाधीशबिच छलफल चलेको थियो । छलफलमा प्रहरी प्रशासन, न्यायाधीश बास्तोला र अन्य केही व्यक्तिले यो विषयलाई अघि नबढाउन पीडित महिला र उनका आफन्तलाई पटक पटक आग्रह गरेका थिए ।
अन्तमा न्यायाधीश बास्तोलाले पीडित महिलासँग हात जोडेर माफी माग्ने सहमति भएपछि विवाद टुङ्गिएको हो । राति १० बजे प्रहरीको कडा सुरक्षा घेराबिच न्यायाधीश बास्तोलाले पीडित महिलासँग हात जोडेर माफी मागेपछि उनी छुटेका हुन् ।
न्यायाधीश बास्तोलाले पीडित महिलासँग हात जोडेर माफी मागेको दृष्यको फोटो लिन पुगेका पत्रकारलाई प्रहरीले प्रवेश निषेध गरेको थियो । स्थानीय प्रशासनले यस विषयमा अहिलेसम्म पनि केही बताएको छैन ।
इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी शालिकराम शर्माले न्यायाधीश बास्तोला पक्राउ परेदेखि नै पत्रकारको फोन रिसिभ गर्नु भएको थिएन । डिएसपी शर्माको नम्बरमा फोन गर्दा प्रहरी निरीक्षक जीवन गिरीले फोन उठाउने र यस विषयमा जिल्लामै बुझ्न आग्रह गर्दै आएका थिए ।
सोमबार बिहान जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईलाई फोन गर्दा उहाँले पनि यस विषयमा आफूलाई केही जानकारी नभएको र पछि बुझेर जवाफ दिने बताए ।