बार्सिलोनाको प्रतिद्वन्द्वी रियल मड्रिड होइन

एजेन्सी फागुन, ११ – स्पेनिस क्लब बार्सिलोनका अध्यक्षले आफ्नो क्लबको प्रतिद्वन्द्वी रियल मड्रिड भन्दा पनि इंग्लिस प्रिमियर लिग रहेको बताएका छन् । ला लिगा च्याम्पियन बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउले प्रिमियर लिग टिमको आर्थिक अवस्था निकै राम्रो भएको र यसले आफूहरुलाई निकै चिन्तित बनाएको बताए । यसले गर्दा आफूको प्रतिद्धन्द्वी रियल मड्रिड भन्दा पनि समग्र प्रिमियर लिग भएको उनको भनाई छ । प्रिमियर लिगका २० टिमले आउँदो सिजनमा हुने खेलको टेलिभिजन प्रत्यक्ष प्रशारण बापत पाँच अर्ब १३ करोड ६० लाख पाउण्ड स्टर्लिङ पाउने छन्

। यो निकै ठूलो रकम भएको र यसले गर्दा प्रिमियर लिग क्लबको आर्थिक अवस्था बलियो बन्दै गएकाले आफूहरुको प्रतिद्धन्दी कुनै एक क्लब नभएर प्रिमियर लिग नै भएको बार्सिलोनाका अध्यक्ष बार्टोमेउको भनाई छ । यसअघि ला लिगा टिम बार्सिलोना र रियल मड्रिडले आफ्नो खेलको टेलिभिन प्रत्येक्ष प्रशारणको सम्झौता आफै गर्ने गरेका थिए । तर नयाँ स्पेनिस कानुन अनुसार अब ला लिगाका सबै टिमको एक साथ सम्झौता गर्नु पर्ने हुन्छ । यसले गर्दा साना टिमलाई फाइदा हुने भएपनि आर्थिक रुपमा बार्सिलोना तथा रियल मड्रिडसहितका ठूला टिमलाई भने घाटा हुने छ । प्रिमियर लिगका सबै टिमको अवस्था राम्रो रहेको र उनीहरुको विज्ञापन पनि राम्रो भएकाले आफूहरुको प्रतिद्धन्द्वी ला लिगाको कुनै एक टिम भन्दा पनि प्रिमियर लिग भएको उनको भनाई छ । बार्सिलोनाले च्याम्पियन्स लिगमा मंगलबार राति इंग्लिस क्लब आर्सनलसँग खेल्दैछ ।