जय प्रणय दिवस ! -गौरव पोखरेल

तस्बिर: राजबल्लभ कोईराला, फेसबुक  

जब फेब्रुअरी १४ आउँछ ३७ वर्षीय ऊ सदा बेचैन हुन पुग्छ । आजको यो दिन प्रेम गर्नेहरुका लागि विशेष दिन अर्थात प्रणय दिवस । करिब १४ वर्ष अघि  उसको चैन या भनौं खुसीमाथि आफ्नी प्राण प्रिय प्रेमिकाले तुषारापात गरिदिएकी थिइन् ।

ऊ अझैँ पनि सम्झन्छ । त्यस समयमा प्रेमिकाको लागि कोरेको पत्रहरु । प्रेमका सुमधुर मुस्कानरुपी मुक्तक र सायरीहरु । उनीसँग विताएको पल ।

“त्यति बेला लाथ्यो संसारको सारा चीजहरु मेरै पक्षमा छन् ।” भावविहृल हुँदै ऊ भन्छ, “तर प्रेम त पापी हुँदो रहेछ ।  अन्धो हुँदो रहेछ । यो त क्षणिक रहेछ ।”

केहि दिन अघि एउटा होटलमा भेटिएको उसको जन्म दिन भ्यालेन्टाइन डेको अघिल्लो दिन पर्दो रहेछ । “मेरो जन्म दिनमा उनले मलाई गिफ्ट दिन्थिन् ।”, ऊ उनीसँगको साथलाई सम्झदै भन्छ, “अनि भ्यालेन्टाइन डेमा भोलिपल्ट म उनलाई गिफ्ट दिन्थें ।”

उसको यति विलौना सुन्न शुरु गर्दा कथाको गहिराइमा म पनि डुब्न पुगें । उसको भनाइलाई प्राथमिकतामा राख्न पुगें । उसको विलौना सुन्दै गर्दा मलाई लाग्थ्यो यो कतै फिल्मी कथन त होइन । तर, उसको कथा कुनै फिल्मी कथावस्तु नभएर उसको प्रेम जीवनको वास्तविक कहानी थियो ।

लेखक : गाैरव पाेखरेल
ऊ क्याम्पसमा पढ्दैताका एउटी युवतीसँग प्रेममा परेको रहेछ । उनले पनि उसलाई असाध्यै मन पराउँदी रहेछिन् । “त्यति वेला टेलिफोनको त जमाना थिएन । म पत्र कोरिरहन्थें ।”, ऊ भन्छ, “पत्र लेख्दा लेख्दै ४–५ पन्ना सिध्याउथें एकै रातमा । पत्रमा ऊ फिल्मका नामहरु जोडिदिन्थों । कहिले प्रेमसँग सम्बन्धित कविता त कहिले गजल ।”

तर ५ वर्षसम्म जारी रहेको उसको प्रेम सम्बन्धले छैठौं वर्षमा प्रवेश गर्दा धमिलो रुप लिन पुग्छ । युवतीको घर परिवारसँग पनि उसको राम्रो चिनजान थियो । तर उनीहरुको सम्बन्धको विषयमा भने घरमा थाहा थिएन । साथीहरुलाई भने सबैलाई उसको सम्बन्धको बारेमा थाहा थियो ।

युवतीको घरमा एक दिन एउटा युवक विवाहको प्रस्ताव लिएर आइपुग्छ । धनी परिवारको युवा भन्ने बित्तिकै परिवारले विवाहको निर्णय लिएछन् । तर युवती भने उसँगै जीवन विताउन चाहन्थीं । अन्ततः युवतीले उसलाई भेटेर हामी चाडोँ विवाह गरौं भनिन् । तर उसको पारिवारिक स्थितिले त्यति बेला विवाहको माहोल सिर्जना गर्न सक्दैनथ्यो । यहाँ यो प्रेम जोडी ठूलो धर्म सङ्कटमा प¥यो । यो परेवा जोडी किंकर्तव्यविमूढ भयो ।

त्यस दिन युवती घर गइन् । भोलिपल्ट विहानै उसलाई युवतीका साथीहरुले एउटा खबर सुनाए । त्यो खबर सुन्दा ऊ आकाशबाट खसे झैँ भयो । उसका आँखा रसाए । “तिम्रो ५ वषसम्मको जोडी त आजबाट टुक्रिएछ नि !”, युवतीकी नजिककी साथीले उसलाई भनिन्, “तिम्रो प्रियसी त हिजो एउटा केटासँग भागिछे नि !”

उसका साथी भाइहरुले उसले नै उनलाई भगाएर लगेको छ भन्ने सोचेका रहेछन् । तर उसलाई बिहान घरमै देख्दा सबै तीन छक्क परे । ऊ पनि विहानीको शुभ मुहुर्तमै यस्तो समाचार सुन्दा निकै दुखित भएको थियो । धेरै दिनसम्म नसुतेको व्यक्ति झैँ उसका नयन राता गोल्भेडाको रुपमा परिवर्तन भए ।

“यो हुनै सक्दैन । उनले मसँग खाएको कसम । उनका बाचा यसरी एक रातमै परिवर्तन हुनै सक्दैन ।”, ऊ त्यति बेला नै चिच्याएको थियो, “उनी कुनै परिबन्धमा परिन् होला ।”

तर पछि उनको घर जादाँ पो उसले सबै कुरा थाहा पायो । एक रातमा उनी त अर्कैकी भइछिन् । ‘माया एउटासँग….. विहे अर्कैसँग….’ उसको कथा सुन्दा सुन्दै म यो गीत गुन्गुनाउन पुगे ।

“त्यस पछि उनले तिमीलाई भेट गरिनन् त ?”, यो प्रश्न अनायसै मैले उसलाई सोध्न पुगें । अन्य धेरै प्रश्नहरु पनि मेरो मानसपटलमा घुमिरहे । त्यसको केहि दिन पछिको एउटा घटना उसले मलाई सुनायो । ऊ पनि निकै भावनामा निमग्न हुन पुगेछ । बेलुकीको ८ बजिसकेको थियो । तर पनि उसको कथाले पूर्णाहुती पाएको थिएन ।

“त्यसपछि उनले तिमीसँग भेट गरिनन् त ?”, हठात् मेरो मष्तिस्कले यो प्रश्न पुनः सम्प्रेषण ग¥यो । यस्तो अनेकौं प्रश्नहरु मानसपटलमा घुमिरहे । उसले भन्यो,  “उनले मसँग त्यसपछि भेटेरै पो के गर्न सक्थिन् र !” उसले अरु कुराहरु पनि थप्दै गयो । सबै कुरा यहाँ उल्लेख गर्नु राम्रो लागेन ।

त्यसदिन एउटा कुरा चाहिँ रोचक भएछ । ऊ भोलिपल्ट बेलुकी बाटो हिड्दै गर्दा उनी त्यही बाटोबाट हिड्दै रहेछिन् । “अहो के खोज्छन् कानो आँखो ! भने झैँ भयो होला है ?”, म उत्तर लिन हतारिए ।

उसले त्यति बेला उनलाई नहेरी हिडेछ । अलिक पर पुगेपछि ऊ उनको समीपमा पुग्यो । तर उसले कुनै वास्ता गरेन । उनीहरु कट्नै लागेका थिए । युवतीले उसलाई च्याप समातिन् र अंगालोमा बाधिन् । “न छो मलाई ! हिजो कोसँग गएकी थिइस् ?”, ऊ यसो भन्न पुगेछ । “म मावल गएकी थिएँ ।”, उनले रुन्चे स्वरमा भनिछिन् । तर यसो भन्दा ऊ पत्याउने वाला थिएन किनकी उसले सम्पूर्ण वास्तवकिता उनकी नजिककी साथीबाट थाहा पाइसकेको थियो ।

ऊ आफैँ त्यस दिनदेखि युवतीसँग टाढिन खोजेको रहेछ । आखिर उनको त्यही केटासँग विवाह भयो । अहिले उनको एउटा बच्चा पनि छ रे । तर धनको लोभमा अर्कैसँग विवाह बन्धनमा बाँधिएकी उनलाई त्यस केटाले धोका दिएछ । ऊ धोकेवाज ठहरिएछ । अहिले उनी वैदेशिक रोजगारको क्रममा अर्कै देशमा छिन् ।

यता उसको पनि विवाह भैसकेको छ । “कहिलेकाहिँ वेला मौकामा उनीसँग भेट हुन्छ । म मेरो श्रीमतिलाई पनि सँगै लिएर जान्छु ।”, ऊ भन्छ, “मेरो श्रीमतिलाई पनि मैले सबै कहानी सुनाइसकेको छु ।”

उसलाई त्यस घटनाले साहित्यकार बनाएको थियो । घट्ना पछि उसको मष्तिस्कमा धाराप्रवाह रुपमले कविता, गजल अनि मुक्तकहरुका हरफहरुको वर्षा भइरहन्छ  । अहिले ऊ आफैं पनि पत्रकार हो । भ्यालेन्टाइन डे जब आउँछ ऊ आफ्नै कथा, व्यथा लेख्ने सुर गर्छ । तर उसले आजसम्म आफ्नो कथालाई शब्दमा उतार्न सकेको छैन ।

उसले आफ्नो कथा लेखनी कार्यको श्रीगणेश गर्ने वित्तिकै आँसुका फोहोराले कापीका पाना भिज्छन् । उसले आफ्नो कथा भ्यालेन्टाइन डेमा प्रकाशन गर्ने सुर गरेको धेरै भइसक्यो । मैले उसको यो सपनालाई आज साकार गर्ने प्रयत्न गरेँ । हिजो उसको जन्मदिन पनि थियो । उसलाई आज यही लेख मार्फत जन्मदिनको शुभकामना ।

५ वर्षको लामो प्रेमले उसलाई अरु केहि नदिए पनि अपरम्पार श्रृजनाशक्ति दिएको छ । ऊ पत्रकारिता क्षेत्रमा चम्किएको छ । “वाह प्रेम ! क्या वात छ प्रेम !”, यस्तो शब्द उनको कथा सुनिसकेपछि मेरो मुखबाट निस्कियो ।
“पैसा तिरेर पनि नपाइने शिक्षा प्रेममा मैले पाएँ ।”, ऊ अहिले भन्छ, “अरु केहि नभए पनि अहिले मैले प्रेममा ग्राजुयट गरिसकेँ ।”

युवा युवतीले एकआपसमा प्रेम प्रस्ताव राख्ने उपयुक्त सन्दर्भ हो भ्यालेन्टाइन डे । यो दिवस तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट शुरु भएको हो । त्यहाँ सम्राटले एक युवतीसँगको सम्बन्धको कारण प्रेम र विवाहमा प्रतिबन्ध लगाएका थिए । तर यो प्रतिबन्धलाई भ्यालेन्टाइन नामक एक सन्तले उल्ङ्घन गरेका थिए । जसले गर्दा उसलाई मृत्युदण्ड समेत दिइएको थियो । यही दिनको सन्दर्भमा भ्यालेन्टाइन डे मनाइने गरिएको हो ।

प्रेम दिवस आज विश्व भरीका गिफ्ट व्यपारीका लागि कमाइ खाने भाँडो भएको छ । युवाका लागि प्रेम प्रस्ताव राख्ने उपयुक्त दिन । आखिर प्रेम के हो त ? आजका युवायुवतीले गरिरहेको प्रेममा म क्षणिक आनन्द देख्छु । युवा पुस्ताले रमाइलोका लागि प्रेम गरिरहेको आभास हुन्छ । वास्वतमा प्रेमको अर्थ हेर्ने हो भने आमा छोरा बीचको मायालाई हेर्नु पर्छ । बुबा र छोरोको प्रगाढ सम्बन्धलाई हेर्नु पर्छ । त्यहाँ वास्तविक प्रेमको अनन्त कोटीको परिभाषा पाउन सकिन्छ ।

प्रेमको परिभाषा सर्च इञ्जिन गुगलमा खोज्दा १८ करोड ३० लाखभन्दा बढी नतिजा आउँछ । वास्तवमा प्रेमको परिभाषा जुन दार्शनिकले जुन कोणबाट दिए पनि त्यो अपुरो नै रहन्छ । प्रेम आफैंमा अनन्त प्रकृतिको छ । प्रेम अनुभूति हो । एक अर्का बीचको विश्वास हो । अनि जीवन जीउने आधार पनि । जय प्रेमिप्रेमिका ! जय प्रणय दिवस !

कनकाई नगरपालिका–३, झापा

pokharelgaurav80@gmail.com

स्रोत: एभरेष्ट दैनिक
फोटो: फेसबुक