गाई मारेको अभियोगमा १२ वर्ष जेल

सुर्खेख फागुन, ४-जिल्ला अदालत सुर्खेतले गौवधको आरोप लागेका मध्ये दुई जनालाई १२–१२ वर्षको कैद सजाय सुनाएको छ। जिल्ला न्यायाधीश कैलाशप्रसाद सुवेदीको एकल इजलासले आरोपी मध्येका टीकाराम कामी र तुलसीराम कामीलाई जनही १२–१२ वर्षको कैद सजाय फैसला गरेको हो। श्रेष्तेदार वीरेन्द्र मल्लका आरोपी मध्येका तीन जनाले सफाई पाएका छन्। ‘भिमबहादुर दमाईको जाहेरीले नेपाल सरकार वादी रहेको गौबधको मुद्दामा सोमबार फैसला भएको छ’,  श्रेष्तेदार मल्लले भने, ‘पाँच जना आरोपी मध्ये दुईलाई जनही १२–१२ वर्ष कैद फैसला भएको छ भने तीन जनाले सफाई पाएका छन्।’ आफूले पालेको गाई मारेर खाएको भन्दै मेहलकुनाका भिमबहादुर दमाईले गौवधको मुद्दा दायर गरेका थिए।
आरोपी मध्येका दीपक कामी (विक), मोहवीर विक र लोकबहादुर विकले सफाई पाएका छन्। आरोपी पाँचै जना सात महिनादेखि पुर्पक्षका लागि थुनामा थिए। जिल्ला अदालतले आरोपी पाँचै जनालाई गत साउन २२ मा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। आरोपी सबै मेहलकुनाका हुन्। मुलुकी ऐन चौपायाको महलको ११ नम्वर बमोजिम आरोप प्रमाणित भएमा गाई मर्नेलाई १२ वर्ष कैद सजाय हुने कानूनी व्यवस्था गरेको छ।
गत बैशाख ३० गते भिमबहादुरले पालेको गाई चोरेर काटेको आरोप उनीहरुमाथि थियो। प्रहरीका अनुसार बैशाख ३० गते बेलुका साढे छ बजेतिर आरोपीहरुले गाई मारेर खाएका थिए। घटना लगत्तै प्रहरीले दीपकलाई पक्राउ गरेको थियो। त्यसपछि उनले दिएको सूचनाका आधारमा अन्य आरोपीहरु पक्राउ परेका थिए ।