अमेरिका र यसको संक्षिप्त जानकारी - प्रकाश श्रेष्ठ

अमेरिका संसार कै शक्तिशाली देश हो जसको कुल भौगोलिक क्षेत्रफल ९८,५७,३०६ वर्ग कि.मी. रहेको छ ।

अमेरिका ५० वटा राज्यहरु मिलेर बनेको संघिय प्रणालीमा आधारित देश हो ।यसको उत्तरमा क्यानडा र दक्षिणमा मेक्सिको देश पर्दछ ।क्यानडाको बोर्डरमा १३ वटा राज्यहरु र मेक्सिकोको बोर्डरमा ४ वटा राज्यहरु पर्दछन् । यहाँको जनसंख्या करिब ३२ करोड़ २३ लाख,७०हजार पुगेको अनुमान छ । 

अमेरिका विविध संस्कार,परम्परा ,धर्म ,वर्ण ,आस्था,परिवेश,भुगोल,सोच,मान्यता बोकेका आप्रवासीहरुको बाहुल्यता रहेको देश हो ।यो देश संसारका विभिन्न देशहरुबाट आएका व्यक्तीहरुको संगम स्थल हो । खासगरी अमेरिकामा शुरुमा England र अरु युरोपियन देशहरुका नागरिकहरु 1600s र 1700s को विचमा एटलान्टीक ओसन पार गरेर अमेरिकाको कोलोनीहरुमा प्रवेश गरेको पाईन्छ भने अफ्रिकन मुलुकबाट पहिलो पटक ईस्वी सम्वत् १६१९ मा नर्थ अमेरिकन कोलोनी जेम्सटाउन भर्जेनियामा अफ्रिकन नागरिकहरुलाई  दासको रुपमा नाफादायक बालीहरु जस्तै सुर्ती उत्पादन गर्नको लागी ल्याईएको थियो र यसै क्रममा बिशेषगरि १७ औ र १८ औ शताव्दीमा अफ्रिकन -अमेरिकन दासहरुलाई देशको आर्थिक पुर्वाधार ,विकास निर्माणका कामहरुमा परिचालन गरियो ।

तत्कालीन समयमा खासगरी विभिन्न मुलुकबाट अमेरिका प्रवेश गर्नुको मुख्य कारणहरुमा -आर्थिक अवसर,धार्मिक स्वतन्त्रता,धार्मिक अभ्यास,राजनैतिक स्वतन्त्रता,डर-त्रासहरुबाट जोगिन ,सम्पन्नताको खोजी,शान्तीपुर्ण जीवनयापन आदी पर्दथ्यो ।वर्तमान समयमा हेर्ने हो भने पनि यस्तै कारणहरु र उद्देश्यका लागी नेपाल लगायत एशियाका विभिन्न मुलुकहरुबाट साथै युरोप,अफ्रिका लगायत विभिन्न मुलुकबाट मानिसहरु अमेरिका आईरहेका छन् ।
         
जसरी बेलायतले संसारका अधिकांश मुलुकहरुलाई उपनिवेश बनाएर एकछत्र शासन संचालन गरेको थियो त्यसको पंजाबाट समेत अमेरिका उम्कन पाएन अर्थात् अमेरिकाले बेलायती नियन्त्रणमा लामो समय बस्नु पर्यो र अन्ततः जुलाई ४,१७७६ मा अमेरिका बेलायतबाट स्वतन्त्र भएको घोषणा गरियो । बेलायतको अधिनमा त्यतीबेला १३ वटा कोलोनीहरु थिए र सन् १७७६ मा बेलायतबाट स्वतन्त्र भएपछि कोलोनीहरु स्वतन्त्र राज्यहरुमा रुपान्त्रित भएर प्रत्येक राज्यले आफ्नै राज्य सरकार बनाए  र आफ्नै स्टेट कन्सिटीचुसन पनि लेखे ।

जब सन् १७८७ मा यु.एस.संविधान (U.S.Constitution)निर्माण भयो र त्यही संविधान अन्तर्गत सम्पूर्ण स्टेटहरु मिलेर एउटा राष्ट्रको रुपमा आवद्ध भई राष्ट्रिय/केन्द्रिय सरकारको निर्माण गरे । त्यस समयमा Original state हरुमा - New Hampshire, Massachusetts, Rhode Island, Connecticut, New York, New Jersey,   Pennsylvania, Delaware, Virginia, Georgia, Maryland , North Carolina , South Carolina .पर्दछन् । 

विभिन्न समयमा राज्यहरु थपिदै गएर हाल युनाइटेड स्टेट अन्तर्गत ५० वटा राज्यहरु रहेका छन् र प्रत्येक राज्यहरुमा आफ्नै राज्य संविधान ,ऐन,कानुन,नियमहरु छन् तापनि यी राज्यका संविधानहरु U.S.संविधानसँग नबाँझिने गरि निर्माण गरिएको छ । U.S. संविधानलाई "Supreme law of the land "भन्ने गरिन्छ । अमेरिका संघिय राज्य प्रणालीमा संचालित देश भएकोले राज्य सरकार र संघिय/केन्द्रिय सरकारको शक्तीको बाँडफाँड सन्तुलितरुपमा गरिएको छ ।
        
Federal government ले खासगरी मौद्रिक नितीलाई नियन्त्रण गर्ने काम,मुद्राको छपाई गर्ने,आर्मीको निर्माण गर्ने,युद्ध घोषणा गर्ने,विभिन्न मुलुकहरु सँग सन्धी -संझौता गर्ने जस्ता अधिकार रहेको हुन्छ भने U.S. संविधानले केही महत्वपूर्ण काम गर्ने अधिकार/पावर स्टेट गभरमेन्टलाई दिएको हुन्छ जस्तै शैक्षिक क्षेत्रको व्यवस्थापन, नागरिकको जनधनको सुरक्षा गर्नको लागी पुलिस, फायर डिपार्टमेन्टको व्यवस्था , ट्राफिक नियमन गर्ने, ड्राईभिग लाईसेन्स वितरण गर्ने,विभिन्न जमिन प्रयोग  र बस्तीहरुको व्यवस्था मिलाउने ,स्टेट करको निर्धारण गर्ने आदी । 
    
अमेरिकाको ईतिहासलाई सरसरती हेर्ने हो भने अमेरिका विभिन्न कालखण्डमा राज्यहरु बीच र अन्तराष्ट्रिय स्तरमा राजनैतिक ,आर्थिक ,सामाजिक स्वार्थहरुमा नमिल्दा , विभिन्न अधिकारहरु प्राप्तीको लागी ,शक्तिशाली बन्ने तिब्र चाहनाहरुले गर्दा झै-झगड़ाहरु ,युद्धहरु भएको पाईन्छ । खासगरी अमेरिका बेलायतबाट स्वतन्त्र भएपछि १९ औ शताव्दीमा  बेलायत सँग सन् १८१२ देखी १८१५ सम्म युद्ध भएको थियो जसमा अमेरिकाले विजय हासिल गर्यो जसलाई War of 1812 को नामले चिनिन्छ त्यसै शताव्दीमा अन्य युद्धहरु जस्तै Mexican-American War ,Civil War ,Spanish-American War आदी भएका थिए ।

जसमध्ये Civil War लाई अमेरिकाका विभिन्न राज्यहरु वीच आपसमा राज्यहरुको अधिकार ,आर्थिक कारण र सेलेभरीसँग सम्बन्धीत मुद्धाहरुले गर्दा अन्तर राज्य लड़ाईको रुपमा यसलाई लिईने गरिन्छ ।त्यतीबेला बिशेषगरि southern state हरु मा slavery मा आधारित कृषिगत अर्थतन्त्र थियो र Northern state हरु मा बिशेषगरि बढी औद्योगिकता मा आधारित अर्थतन्त्र थियो जसमा slavery मा खासै अर्थतन्त्र निर्भर थिएन ।साउथर्न स्टेटहरुले आफ्नो स्वतन्त्र निर्णयमा फेडरल/नेशनल  गोभरमेन्टले कुनै हस्तक्षेप नगरोस् र Slavery प्रथा अन्त्य गरेर तिनीहरुको  आर्थिक एवं राजनैतिक स्वतन्त्रतामा चोट नपुर्याए हुन्थ्यो भन्ने चाहन्थे भने अर्को तर्फ Northern state हरु चाहन्थे की Slavery अन्त्य गर्ने र एउटै यूनियनमा आवद्ध भएको संयुक्त राष्ट्र कै रुपमा सबै स्टेटहरुलाई राख्नलाई खोजिरहेका  थिए । 

यस्तो किसिमको आपसमा मतविभेदका कारण नै अमेरिकन "सिभिल वार "भएको थियो जुन युद्धमा ६ लाख भन्दा बढीले ज्यान गुमाएका थिए ।त्यस्तै गरि संयुक्त राज्य अमेरिकामा मुख्य पाँचवटा भयानक लड़ाईहरु २० औ शताव्दीमा भयो ।जस अन्तर्गत World War 1,World War 2,Korean War ,Vietnam War,(Persian)Gulf War पर्दछन् ।
       
अमेरिकी पहिलो राष्ट्रपति जर्ज वासिंगटन लाई "फादर अफ अमेरिका "पनि भन्ने गरिन्छ जसले अमेरिकनहरुलाई एकताको शुत्रमा बाँधी संयुक्त राज्यको  अवधारणालाई आधारित नयाँ राष्ट्र निर्माण गर्नमा उनको योगदान उल्लेखनिय छ । उनी राष्ट्रपति हुनु भन्दा अगाडी आर्मी प्रमुख भएर बेलायतबाट अमेरिका स्वतन्त्र हुने क्रमको युद्धको कुशल नेतृत्व गरि विजय प्राप्त भई अमेरिका बेलायतको उपनिवेशबाट मुक्त भएको थियो । त्यस्तै अब्राहम लिंकनले सन् १८६१ देखी १८६५ सम्म अमेरिकन रास्ट्रपति हुने अवसर पाए र उनको पालामा Civil War भएको थियो र यो लडाईको अन्त्य सन् १७६५ मा गर्दै Southern state हरु बाट दासप्रथा विधिवत अन्त्य भएको थियो ।त्यस्तै गरी विभिन्न समयमा राष्ट्रपतिको जिम्मेवारी सम्हालेका राष्ट्रपतिहरुले आ-आफ्नो जिम्मेवारी कुशलतापुर्वक सम्हालेका पाईन्छ ।

तथापी केही राष्ट्रपतिहरुले पुर्याएको योगदानलाई सधै स्मरणयोग्य मानिन्छ ।यसै क्रममा प्रथम विश्व युद्धको समयमा अमेरिकाको २८ औ राष्ट्रपतिको रुपमा Woodrow Wilson ले महत्वपुर्ण योगदान पुर्याए ।उनले दुई कार्यकाल सन् १९१३ देखी १९२१ सम्म कार्यकाल समाले । त्यस्तै दोस्रो विश्व युद्धताका रास्ट्रपति Franklin Roosevelt ले (विश्व आर्थिकमन्दीको समयमा )राष्ट्रपतिको पद सन् १९३३ देखी १९४५ सम्म समालेका थिए र युक्त युद्धको नेतृत्वदायी भुमिका जिम्मेवारीपुर्वक निर्वाह गरेका थिए । उनकै कार्यकालमा Great Depression को समयमा आर्थिक संकटलाई समाधान गर्न उनले विभिन्न आर्थिक कार्यक्रमलाई प्रस्तुत गरे | 

साथै उनकै नेतृत्वमा Social Security Administration (SSA) को समेत स्थापना भयो ।त्यस्तैगरी केही सामाजिक रुपान्तरणमा महत्वपुर्ण योगदान दिने व्यक्तीहरुको नाम लिने क्रममा Susan B.Anthony र Martin Luther King ,Jr.को योगदानलाई पनि चर्चा गर्नु सान्दर्भिक मानिन्छ । Susan B.Anthony ले महिलाहरुको समान अधिकार र नागरिक अधिकार (Civil Rights)को बारेमा सशक्त आवाज उठाएकी थिईन र उनले महिलाहरुलाई कार्यस्थलमा समान व्यवहार गरिनु पर्ने एवं महिलाहरुलाई भोटिग अधिकार दिनु पर्ने कुरालाई जोड्दार माग गरिन र उनको मृत्युको १४ बर्ष पछाडी अन्ततः सन् १९२० मा महिलालाई भोटिंग अधिकार दिने गरि संविधानको १९ औ संसोधन गरियो ।

(स्मरणरहोस् हाल सम्म  अमेरिकामा संविधानलाई जम्मा २७ पटक संसोधन गरिएको छ सन् १९९२ सम्ममा)। त्यस्तै Martin Luther King ,Jr. लाई एउटा Civil Rights Leader को रुपमा हेर्ने गरिन्छ उनले सन् १९५० देखि सन् १९६० सम्म चलाएको आन्दोलन बाट "सिभिल राईट्स ल "पारित भएर भोटिंग अधिकार र रंगभेदलाई अन्त्य गरेको थियो साथै प्रत्येक अमेरिकन नागरिकलाई समानता र न्याय दिने प्रयात्भुतीलाई समेत निश्चित गराउने काममा उनको योगदानलाई उच्च मुल्यांकन गरिन्छ ।
    
एक्काईसौ शताव्दीमा आएर अमेरिकनहरुले भुल्नै नसक्ने त्रासदीपूर्ण घट्ना सेप्टेम्वर  ११,२००१ मा हुन गयो ।उक्त घट्ना अलकायदा भन्ने आतंककारी समुहको संलग्नतामा भएको थियो जसको नेतृत्व ओसामा विन लादेनले गरेका थिए। उनको अमेरिकाले गरेको आक्रमणकारी हमलामा मृत्यु भईसकेको छ ।उक्त घटनामा  दुईवटा एरोप्लेनले न्युयोर्कमा रहेको जुम्ल्या टावर(Twin Towers )लाई ठक्कर दिएर ध्वस्त पार्ने काम भएको थियो त्यस्तै अर्को घटना भर्जेनियाको अर्लिंगटन स्थित पेन्टागन मा गरिएको थियो र अर्को प्लेन पेन्सलभेन्यामा गरिएको थियो ।त्यस घटनामा करिब ३००० जना व्यक्तीको ज्यान गएको थियो र ज्यान गुमाउने अधिकांश सामान्य नागरिक थिए ।त्यस घटनाको समयमा जर्ज डब्लू .बुस राष्ट्रपति थिए ।
      
वर्तमान राष्ट्रपति बराक ओवामा युनाइटेड स्टेट अमेरिकाको ४४ औ राष्ट्रपति हुन् उनी सन् २००८ मा रास्ट्रपतिमा निर्वाचित भएका थिए । उनी अफ्रिकन अमेरिकन राष्ट्रपतिको रुपमा परिचित छन् र उनी पुन: देस्रो पटक सन् २०१२ मा रास्ट्रपति निर्वाचित भएका हुन ।यिनको शासनकालमा संसारको शक्तिशाली राष्ट्रको टाउँ दुखाई भएको ,रातदिनको निद्रा हराम गर्ने त्रासिदीपुर्ण घटनाको नायिके मानिएको ओसामा विन लादेनलाई पाकिस्तानमा लुकीछिपी बसेका अवस्थामा मे २,२०११ मा अमेरिकी स्पेशियल आर्मी अपरेशन कमाण्ड / युनाइटेड स्टेट नेभि सिल्ड ले सांघेतिक आक्रमण गरि मारेको थियो । 

राष्ट्रपति ओवामाले उनको कार्यकालमा थुप्रै उल्लेखनिय कार्य गरेका छन् ती मध्ये सन् २०१४ देखि अनिवार्यरुपमा हेल्थ ईन्सुरेन्स गर्नु पर्ने कानुनलाई लागु गरि कार्यान्वयन गरिएको छ । डिसेम्बर १८,२०११ देखि ईराकसँगको युद्ध अन्त्य गरेर अमेरिकन सेना फिर्ता बोलाईएको थियो ।त्यस्तै अफगानिस्तानमा तैनाथ सेनाहरुमा पनि कटौती गरी त्यहाँबाट केही हजार सेनाहरु फिर्ता ल्याउने काम गरिएको छ ।साथै हाल उनले बहुबिवादित बन्दुकजन्य हतियारलाई अमेरिका भित्र आत्मरक्षाको लागी लाईसेन्स लिएर प्रयोग गर्दै आएकोमा केही बर्ष देखि लुटपाट र निर्दोष व्यक्तीहरुमा आक्रमण गर्ने प्रवृती बढ्दै गएकोले त्यस्ता किसिमका घटनालाई न्युनीकरण गर्नका लागी व्यवस्थित कानुन बनाई  यसलाई व्यवस्थित गर्नु पर्ने सम्बन्धमा सदनमा सहमती जुटाउने प्रायसमा पनि सक्रिय भुमिका निर्वाह गरिरहेको देखिन्छ ।
       
अमेरिकामा जनताबाट अप्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राष्ट्रपति हुन्छ ।राष्ट्रपति चिफ अफ द मिलेटरी हुन्छ भने सदनबाट प्रस्तुत बिधेयक/Bill लाई हस्ताक्षर गरि स्वीकृत गरेपछि त्यो Bill कानुन बनि लागु हुन्छ ।त्यस्तै विभिन्न देशहरुसँग गरिने संधी-संझौतामा हस्ताक्षर गर्ने र विभिन्न देशमा कुटनितिज्ञको रुपमा खटाईने राजदुतहरुको नियुक्ति गर्ने व्यक्ती साथै रास्ट्र एवं सरकारको प्रमुख नै राष्ट्रपति हुने हुँदा अमेरिकामा रास्ट्रपतिलाई निकै शक्तिशाली व्यक्तीको रुपमा हेरिन्छ ।अर्को तर्फ विश्वसमुदायको नजरमा समेत राष्ट्रपतिको गतिविधीलाई महत्वका साथ हेरिराखिएको हुन्छ ।

अधिकांश अन्तराष्ट्रिय संघ-संस्थाहरुमा अमेरिकाको लगानी र संलग्नताको हिस्सा बढी हुने हुँदा राष्ट्रपतिले अन्तराष्ट्रिय क्षेत्रमा खेल्ने भुमिकाले महत्वपुर्ण प्रभाव पार्दछ ।संयुक्त राष्ट्रसंघ (UN),UNDP,UNICEF,IMF,WTO,अन्तराष्ट्रिय मानवाधिकार आयोग /Amnesty International जस्ता अन्तराष्ट्रियस्तरमा संचालित संस्थाहरुको प्रमुख पद र मुख्यालय साथै नियन्त्रण समेत अमेरिकाको रहेको पाईन्छ जसले गर्दा अमेरिकन राष्ट्रपतिले अविलम्बन गर्ने अन्तराष्ट्रीय कदमले ठुलो हलचल विश्वभरि कायम गर्न सक्छ ।
      
अमेरिका एउटा प्रजातांत्रिक र उच्च मानवाधिकार भएको राष्ट्र हो ।यस देशमा बसोबास गर्ने आमनागरिकहरुलाई अभिव्यक्ती स्वतन्त्रता,धार्मिक स्वतन्त्रता,आर्मी भएर काम गर्ने अधिकार,कुनै कानुन परिवर्तन गर्न बान्छनिय ठानिएमा वा विभेदकारी ठानेमा सरकार समक्ष नियम परिवर्तनको लागी अपिल/petition गर्न पाउने अधिकार ,सभा-सम्मेलन गरि भेला हुन पाउने अधिकार ,सबै नागरिकलाई समान अधिकार जस्ता थुप्रै अधिकार संविधानले प्रदान गरेको छ र त्यस्तै प्रत्येक नागरिकले बहन गर्नु पर्ने जिम्मेवारी पनि तोकेको छ ।कानुनी दायरामा रहेर काम गर्नु ,राज्य प्रति सधै बफदार रहेर तोकिएको आम्दानी कर लगायत अन्य कर राज्यलाई बुझाएर कानुनको पालना गर्नु पर्ने हुन्छ ।आवस्यकता परे आर्मीको रुपमा सेवा पुर्याउन र राज्यले तोकेको विशेष सामाजिक कामहरु गर्नु पर्ने हुन्छ । त्यस्तै बोलाईएको बेलामा Jury मा सहभागी भई भुमिका निर्वाह गर्ने,फेडरल ईलेक्सनमा भोट दिने आदी जिम्मेवारी समेत निर्बाह गरिनु पर्दछ ।
           
अमेरिकामा खासगरी प्रमुख दुईवटा पार्टीहरु राजनितीमा सकृया छन् ती हुन् डेमोक्रेटिक र रिपव्लिकन । फेडरल कानुन बनाउने मुख्य जिम्मेवारी Congress, Senate and House of Representatives र U.S. Or national Legislature हुने गर्दछ । U.S.Congress मा दुईवटा सदनहरु हुन्छन् -सिनेट र हाउस अफ रिप्रेजेन्ट । सिनेटरको कुल संख्या १०० रहेको हुन्छ र प्रत्येक स्टेटबाट दुईवटा सिनेटरको व्यवस्था गरिएको हुन्छ साथै सिनेटरको पदावधी ६ बर्षको लागी तोकिएको हुन्छ त्यस्तै हाउस अफ रिप्रिजेन्टेटिभको भोटिग संख्या  कुल ४३५ रहेको छ र यस्तो संख्या राज्यहरुको जनसंख्याको आधारमा विभाजन गरिन्छ तापनि प्रत्येक राज्यमा कम्तीमा १ जना Representative ले भने House/सदनमा प्रतिनिधित्व गर्दछन् र उनीहरुको पदावधी २ बर्षको रहन्छ ।

सरकार संचालन प्रकृयामा सरकारको अभिन्न अंगको रुपमा - Congress,legislative,executive, president, judicial, The court लाई लिने गरिन्छ प्रत्येक सरकारको अंगलाई शक्ती सन्तुलनमा राख्ने प्रयास गरिएको हुन्छ ।कुनै पनि व्यक्ती कानुन भन्दा माथी हुँदैन र हरेकले कानुनको पालना गर्नु जरुरी छ ,सरकार ,नेतार जनता सबै कानुनमा बाँधिएर काम गर्ने भएकोले नै अमेरिका पुर्ण कानुनी राज्य हो भन्न सकिन्छ ।कानुनको खिलाफ काम गर्ने कसैलाई पनि कानुनले छुट दिदैन ,सजायको भागीदार हुनु पर्ने हुन्छ ।

अमेरिकी सरकारका विभिन्न क्याविनेट लेवलहरु छन् जस्तै -Secretary of agriculture,secretary of commerce,secretary of Education,Secretary of Defense,Secretary of Energy,Secretary of Homeland Security,Secretary of  Housing and Human Services,Secretary of Housing and Urban Development,Secretary of Labor,Secretary of the Interior,Secretary of state,Secretary of Transportation,Secretary of the Treasury,Secretary of Veterans Affairs,Attorney General,Vice president.अमेरिकाको सर्वोच्च अदालतलाई "The Supreme Court "भन्ने गरिन्छ जसमा एक प्रमुख न्यायधिश( Chief Justice)र  आठ वटा सहायक न्यायधिश (Associate Justice) सहित जम्मा ९ वटा न्यायधिशहरु कार्यरत हुन्छन् र हाल Chief Justice को रुपमा John Roberts कार्यरत छन् ।

अमेरिका एउटा पुँजीबादी राष्ट्र हो ।अमेरिकन अर्थतन्त्रमा  खासगरी व्यक्तिगत स्वामित्वमा संचालित व्यवसायीहरु छन् ।व्यवसायी र उपभोक्ताको अन्तरकृयाबाट बजारमा बस्तुको मुल्य निर्धारण गर्ने गरिन्छ यस्तो किसिमको अर्थतन्त्रलाई बजार अर्थतन्त्र (Market Economy)पनि भन्ने गरिन्छ । वास्तवमा Market Economy मा कुन वस्तु ,कति परिणाममा उत्पादन गर्ने र कति मुल्य निर्धारण गर्ने भन्ने कुरा व्यवसायीले निर्धारण गर्दछ र अर्को तर्फ क्रेता वा उपभोक्ताले के ,कति र कहाँ वस्तु तथा सेवा खरिद गर्ने भन्ने बारे निर्णय लिने गर्दछन् । त्यस्तै Market Economy मा उपभोक्ता तथा व्यवसायको निर्णय प्रकृयामा वस्तुको माग,आपुर्ति ,प्रतिस्पर्धा ,उपभोक्ताको रुची ,चाहना,फेसन,प्रतिस्थापनको वस्तु आदी कुराहरुले प्रभाव पारिरहेको हुन्छ ।
     
अमेरिकाको झण्डाले पनि निश्चित विशेषता र पहिचानलाई प्रतिनिधित्व गरेको पाउन सकिन्छ जस अन्तर्गत ५० वटै राज्यलाई प्रतिनिधित्व गर्ने गरि ५० वटा स्टार झण्डामा अंकित गरिएको हुन्छन् भने १३ वटा अोरिजनल स्टेट(बेलायतबाट स्वतन्त्र हुनु पुर्वका अस्तित्वमा रहेका स्टेट) लाई प्रतिनिधित्व गर्ने गरि १३ वटा स्ट्रिपको व्यवस्था गरिएको हुन्छ ।जसरी नेपालको झण्डामा चन्द्र र सुर्य अंकित गरेर यसको आकृति र बनावटलाई व्याख्या गरिएको छ सोही किसिमको समग्र राज्यलाई एकिकरणको प्रतिमुर्तीको रुपमा अमेरिकाको झण्डालाई निर्माण गरिएको छ ।यस देशमा राष्ट्रिय होली डे अर्थात् बिशेष पर्वको रुपमा समेत केही प्रमुख स्मरणिय दिनहरुलाई राखिएको छ जसअनुसार -New Year's Day, President' Day, Memorial Day, Martin Luther King,Jr.Day, Independence Day, Labor Day, Columbus Day, Thanksgiving, Veterans Day, Christmas.etc.रहेका छन् ।
    
यसरी हेर्दा अमेरिका विश्वमा एउटा सामाजिक,राजनीतिक र आर्थिकरुपमा विकशित देश हो । यो देश वास्तवमा विविध हावापानी,भौगोलिक विविधता र सांस्कृतिक विविधताले धनी देश हो । यो देश वास्तवमै भन्ने हो भने धेरै थरी फुलहरुले सजिएर बनेको सुन्दर बगैचा हो भन्न पनि सकिन्छ । संसारका विभिन्न देशका नागरिकहरु अवसरको खोजीमा र सुन्दर सपना साहाकार पार्न यो देशमा विभिन्न तरिकाबाट आउने गर्दछन् । शुरुका दिनहरुमा विभिन्न समस्या र चुनौतीलाई सामना गर्दै विस्तारै यहाँको वातावरण र विभिन्न परिस्थितीसँग जुधेर सार्थक बाटो पहिलाएर क्रमश:सफलताको शिखर समेत चढ्दै गएको हामी देख्न सक्छौ ।यसैले त यसलाई अवसरको भुमी वा सपनाको शहर पनि भन्ने गरिन्छ ।

अमेरिका आईसकेपछि वा आउनु अगाडी यहाँको वस्तुस्थीती र परिवेश ,कानुनी व्यवस्थाको बारे मोटामोटी अबगत हुन सकेमा थोरबहुत चाढै सामाजिकरण (Socialization)हुन सजिलो हुन्छ । यसको लागी पुराना /पहिला देखि बसिरहेका आफन्त ,साथी-भाईहरु,छिमेकीहरु एवं आफ्नो मातृभुमीका नागरिकहरुसँग साथै विभिन्न पत्रपत्रिका,ईन्टरनेट आदीबाट जानकारी लिनु अति उत्तम हुन्छ । सुचना र जानकारीहरुको अभावमा धेरै आप्रवासीहरु -नेपालीहरु लगायत अन्य मुलुकका नागरिकहरुलाई शुरुका दिनहरुमा विभिन्न असहजिला परिस्थीतीहरु पर्ने ,जागीर देखि बसोबासको व्यवस्था ,छोरा-छोरीहरुको स्कुल भर्ना देखि स्वास्थ्य विमा गर्ने , बैक खाता खोल्ने देखी क्रेडिट कार्ड प्राप्ती र प्रयोग गर्ने ,गाडीको लाईसेन्स निकाल्ने देखी सार्वजनिक यातायातको प्रयोग गर्ने जस्ता धेरै कुराहरुमा अन्यौलता देखा पर्न सक्छ ।यसको समाधानको लागी माथी उल्लेख गरे झै पहिलेबाट बसिरहेका व्यक्तीहरुको जानकारी लिने र विभिन्न माध्यमबाट सुचना लिने काम गर्नु पर्दछ ।

माथी हामीले चर्चा गरेको अमेरिकाको मोटामोटी बस्तुगत जानकारीहरुले भर्खरै आएका व्यक्ती र अमेरिका बारे संक्षिप्त जानकारी लिन चाहनेहरुलाई आवस्यक सहयोग मिल्ने हामी अपेक्षा राख्दछौ ।
                     प्रकाश श्रेष्ठ ,बाल्टिमोर ,मेरिल्याण्ड ,अमेरिका !