इपिएस भाषा परीक्षा दिने कुन जिल्लाका कति अनुत्तीर्ण ?

काठमाडौं फागुन, ९ – रोजगारीका लागि दक्षिण कोरिया जानका लागि दिनु पर्ने भाषा परीक्षा इपिएसमा यस वर्ष सामेल हुन परेका ५१ हजार दरखास्त मध्ये सबैभन्दा धेरै स्याङजाका छन् । इपिएस कोरिया शाखाले गरेको तथ्याङ्क संकलनमा स्याङजाका धेरैले दरखास्त दिइएको पाईएको हो । इपिएस शाखाले छैटौँ भाषा परीक्षाका लागि गएको वैशाख ३ गतेदेखि ६ गतेसम्म दरखास्त संकलन गरेको थियो । त्यसमा देशभरबाट ५१ हजार आवेदन परेका थिए । आवेदन दिएका मध्ये भाषा परीक्षामा ४३ हजार मात्र सहभागी भएका हुन पाएका थिए र त्यसमध्ये पनि ८ हजार ४ सय ९० जना उत्तीर्ण भए । २०७२ साल असोज २ र ३ गते भएको छैटौँ कोरियान भाषा परीक्षामा सहभागी मध्ये ३४ हजार ९ सय ४१ जना अनुत्तीर्ण भए ।
कुन जिल्लाबाट कस्तो ?

यसवर्षको भाषा परीक्षामा सामेल हुनेमा स्याङजाका धेरै छन्  । त्यसैमध्ये इपिएस कोरिया शाखाले परीक्षामा सामेल भएका तर अनुत्तीर्ण भएकाको तथ्याङ्क निकालेको छ । त्यसमध्ये स्याङजाका २२ सय ५८ जना भाषा परीक्षामा अनुत्तीर्ण भएका छन् । यस्तै कास्की जिल्ला दोस्रो नम्बरमा परेको छ । त्यहाँका १५ सय १२ जना भाषा परीक्षामा उत्तीर्ण हुन सकेनन् ।त्यसैगरी  काभ्रेका १३ सय ८९, झापाका १२ सय ४६ र पाँचथरका ११ सय ३० जना भाषा परीक्षामा अनुत्तीर्ण भए । अनुत्तीर्ण सबैभन्दा धेरै गण्डकी अञ्चलका ५ हजार ४ सय ७३ जना छन् । बाग्मती अञ्चलका ४ हजार ६ सय १४, लुम्बीनीका ४ हजार ४ सय ४२, कोशीका ४ हजार १ सय ८०, मेचीका ३ हजार ४ सय ५४ जना छन् ।
विकास क्षेत्रका हिसाबले भन्नुपर्दा पश्चिमाञ्चलका १२ हजार ४ सय ७३, पूर्वाञ्चलका १० हजार ३ सय ७०, मध्यमाञ्चलका ८ हजार ६ सय ६, मध्यपश्चिमका १९ सय ६६, सुदूरपश्चिमका १५ सय २२  जना छन् ।
यस्तै भाषा परीक्षामा डोल्पाबाट सबैभन्दा थारैले मात्र सहभागिता जनाएका छन् । भाषा परीक्षामा सहभागिता जनाएका मध्ये डोल्पाका ६ जना अनुतीर्ण भए । यस्तै हुम्लाका १०, मुगु ११, मनाङका १३, मुस्ताङका २१ जना अनुत्तीर्ण भएका छन् ।
अनुत्तीर्ण भएकाको विवरण निकाल्नुका कारण
अनुत्तीर्ण व्यक्तिलाई पुनर्निर्माणका काममा खटाउन सक्ने भएकाले उनीहरुको लगत निकालिएको हो । सन् २०१६ मा  रोजगारीका लागि कोरिया जान नपाएका र म्याद सकिएकाहरुलाई इपिएस कोरिया शाखाले पुनर्निर्माणको काममा खटाउने पहल थालेको छ ।
इपिएस भाषा मार्फत रोजगारीका लागि कोरिया जान नपाएकालाइ स्वदेशमा नै रोजगारीको अवसर दिन उनीहरुको लगत निकालिएको हो । सन् २००८ मा स्थापना भएको इपिएस शाखाले ३० हजार भन्दा धेरैलाई  रोजगारीका लागि कोरिया पठाइसकेको छ ।
इपिएस भाषा परीक्षालाई प्रभावकारी बनाउन ७५ वटै जिल्लाका गाउँगाउँमा नै सहज पहुँच पुर्‍याउने तयारी गरिरहेको शाखा प्रमुख डिल्लीराम बास्तोलाले बताउनुभयो ।
अहिले देशका विभिन्न चार ठाउँमा केन्द्र राखी फारम भर्ने गरिएकोमा अब देशभरीका विभिन्न २० हजार केन्द्रबाट फारम भर्न मिल्ने गरी तयारी भइरहेको छ । इन्टरनेटको पहुँचमा धेरै पुगेकाले अनलाइनलाई प्राथमिकतामा राखेर फारम भर्ने व्यवस्था मिलाउन लागिएको हो ।
यस्तै कोरियामा गैरकानूनी रुपमा बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्न पनि तयारी भइरहेको छ । इपिएस शाखाले कृषि र उत्पादन क्षेत्र बाहेक निर्माण तथा पूर्वाधार क्षेत्रमा काम नेपाली कामदारलाई रोजगारी दिन कोरियासँग आग्रह गरेको छ । शाखाले कोरियामा काम गर्दै आएकाहरुलाई स्वदेशमा लगानीको वातथावरण बनाउन पनि तयारी गरिरहेको छ ।
भूकम्प र नाकाबन्दीका जस्ता समस्यामा पनि उत्तिकै राम्रो काम गरेको भन्दै इपिएस कोरिया शाखालाई सम्मान पनि मिलेको छ । कोरिया दूतावासले कठिन परिस्थितिमा पनि प्रभावकारी कार्यसम्पादन गरेको भन्दै सम्मान गरेको हो । यस अघि इपिएस कोरिया शाखालाई सन् २०१३ मा कोरिया सरकारले सम्मान गरेको थियो ।