दुराडाँडाका एक युवकको मलेसियामा मृत्यु

लमजुङ, फागुन ६ – रोजगारीको शिलशिलामा मलेसियामा रहेका लमजुङका एक युवकको ज्यान गएको छ । लमजुङको दुराडाँडा–८ लाम्पाटाका २२ वर्षका कृष्णबहादुर विकको ज्यान गएको हो ।
आइतबार बेलुका खाना खाएर सुतेका कृष्ण सोमबार बिहान अबेरसम्म नउठेपछि साथीहरुले उठाउने क्रममा उनी मृत भेटिएको पारिवारले जानकारी दिएको छ । कृष्णकी कान्छी दिदी शोभा विकले आइतबार बेलुका ८ बजेसम्म आफूसँग राम्रोसँग कुराकानी भएको बताउनुभयो ।
बेलुका ८ बजेसम्म कुराकानी भएकोमा सोमबार बेलुका घटनाबारे जानकारी आएको उहा“ले बताउनुभयो । शोभाका अनुसार भाइ कृष्ण अघिल्लो वर्षको कात्तिकमा मलेसिया गएका थिए ।
बिदा मिलाएर आउँदो बर्ष घर आउने योजनामा कृष्ण रहेको परिवारले जनाएको छ । कृष्ण पहिलोपटक रोजगारीको शिलशिलामा मलेसिया पुगेका हुन् । काठमाडौंस्थित एमडी ओभरसिजमार्फत गएका उनी मलेसियाको एक कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका थिए ।