रंगेली घटना छानबिन गर्न विज्ञ टोली खटाइयो

काठमाडौं फागुन, ३- मधेस आन्दोलनका क्रममा मोरङको रंगेली र डायनियामा सर्वसाधरणको हत्या भएको घटनामा विस्तृत अध्ययन गर्न राष्ट्रिय मानव अधिकार आयोगले विज्ञ टोली खटाएको छ।
२०७२ साल माघ ७ गते रंगेली र डायनियामा संयुक्त सुरक्षा कारबाहीका क्रममा तीन जना सर्वसाधारणहरु मारिएको थियो। घटनाको सम्बन्धमा अनुसन्धान गर्न राष्ट्रिय आयोगले एक उच्च स्तरीय अनुसन्धान टोली सोमबार घटनास्थलमा पुगेको आयोगकी प्रवक्ता मोहनी अन्सारीले बताइन्। अनुसन्धान टोलीमा आयोगका सदस्य तथा प्रवक्ता अन्सारी, सदस्य गोविन्द शर्मा पौड्याल, क्षेत्रीय निर्देशक र अधिकृतहरु रहेका छन्। घटना पुगेको अनुसन्धान टोली रंगेली पुगेर अनुसन्धानको कार्य प्रारम्भ गरेको छ।
अनुसन्धान टोलीले घटनास्थलको निरीक्षण गर्नुका साथै जिल्लाका प्रशासन प्रमुख, सुरक्षा निकायका प्रमुखहरु र साक्षीहरुसँग छुट्टाछुट्टै रुपमा घटना सम्बन्धमा बयान लिने लगायतका कार्यहरु गरिरहेको प्रवक्ता अन्सारीले बताइन्।
प्रहरीले चलाएको गोली लागेर रंगेली ४, चोपडा टोलकी ६० वर्षीया द्रोपदीदेवी चौधरी, बरडंगा २ का महादेव ऋषिदेव र डायनिया ९ का शिवु माझीको मृत्यु भएको थियो।
आयोगको प्रारम्भिक अनुगमनमा मानवशअधिकार हनन् हुनेगरी सर्वसाधरणको हत्या भएको पाइएपछि विस्तृत अध्ययन गर्न केन्द्रबाट टोली खटिएको हो। आन्दोलन गरिरहेको मधेसी मोर्चा र एमाले कार्यकर्ताबीचमा झडप हुदाँ सुरक्षाकर्मीहरुले गोली चलाएका थिए।
एमालेको भातृ संगठन युवासंघले गर्न लागेको कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने हल्ला चलेपछि उक्त स्थानमा दुई पक्षबीच झडप भएको थियो।
घटनास्थलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाएको भने पनि आन्दोलनकारीको मृत्यु भएको थिएन। आन्दोलनमा नरहेका सर्वसाधरणको मृत्यु भएपछि आयोगले त्यसबारे विस्तृत अध्ययन गर्न लागेको हो।