घुसकाण्डमा तानिँदै प्रहरी

काठमाडौं फागुन,१२–सुरक्षा साटो कमाउधन्दामा लागेको आरोपमा त्रिभुवन विमानस्थल सुरक्षा गार्डका एसपी विकास खनाल अनुसन्धान दायरामा तानिए । आर्थिक चलखेलमा सक्रिय भएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले माघ २१ मा हेडक्वार्टर तानेर उनीमाथि अनुसन्धान अघि बढाइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी नायब निरीक्षक नरबहादुर विक सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेपछि त्यहाँका एसपी गोविन्द परियारसमेत हेडक्र्वाटर तानिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकलाई १ लाख ५० हजारसहित पक्राउ गरी अनुसन्धान गर्दा परियारसमेत जोडिएपछि प्रहरी प्रधान कार्यालयले तत्काल उनलाई हेडक्वार्टर तानेर आफूले समेत अनुसन्धान अघि बढाएको हो । प्रहरी प्रवक्ता माधव जोशीका अनुसार संगठनको नीतिविपरीत गएको देखिएपछि खनाल र परियारलाई हेडक्वार्टर तानेर अनुसन्धान सुरु गरिएको हो । यी दुवै विषय अहिले अनुसन्धानकै चरणमा छन्,’ उनले भने । प्रहरी कर्मचारीले पाउने भ्रमणभत्ता घोटालामा जिल्ला प्रहरी कार्यालय, काभ्रेका लेखापाल तानिएपछि अहिले हेडक्वार्टर उक्त अनुसन्धान सुरु गरिएको हो ।