आमाका आँखामा आँसु देखेपछि मन थाम्न सकिनँ



कृष्ण ढुंगाना

 काठमाडौँ, फेब्रुअरी १८ |

बुधबार अपराहन्न ३:५४ बजे बुद्ध एयरको फ्लाईट नम्बर यु ४ ९५४ को एउटा  जहाज भद्रपुरबाट काठमाडौंका लागि उड्यो। दक्षिण एशियाली खेलकूद (साग) मा भारतलाई हराएर स्वदेश फर्किएको फुटबलको राष्ट्रिय टोली त्यही उडानबाट काठमाडौं आइरहेको थियो। टोलीको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सयौं शुभेच्छुक राष्ट्रिय झन्डा बोकेर तैनाथ थिए। त्यही भिडमा रातो स्वेटर लगाएकी एक महिला ट्याक्सी पार्किङ क्षेत्रमा फुटबल टोलीलाई कुरिरहेकी थिइन्।

एक जना सज्जन जस्ता देखिने पुरुषले तिनै महिलातर्फ देखाउँदै सुरक्षाकर्मीलाई अनुराध गरे, 'कृपया उहाँलाई स्वागत गर्न भित्रै जान दिनुहोस्।' कलाकार, विशिष्ट व्यक्तित्व एवं फुटबल समर्थकको भिड भइसकेको अवस्थामा प्रहरीले शिवकुमारी लामालाई अघि बढ्न दिएन।

'उहाँ फुटबल राष्ट्रिय टोली सदस्य विक्रम लामाकी आमा हुनुहुन्छ', फेरि ती व्यक्तिले प्रहरी समक्ष उनको परिचय गराइदिए। त्यसपछि बल्ल सानो फ्रेमको चस्मा लगाएकी शिवकुमारी आन्तरिक टर्मिनलको मुख्य ढोका तर्फ जान पाइन्।

लोकप्रिय खेल फुटबलमा नेपालको विजय, त्यसमाथि नाकाबन्दी गर्ने भारतविरुद्धको जितका कारण नेपालमा राष्ट्रिय टोलीको सम्मान निकै चुलिएको थियो। विमानस्थलमा जम्मा भएको भिडले त्यही सम्मान र नेपाली फुटबलप्रतिको भरोसा प्रतिविम्बित गर्दै थियो। करिब साढे ४ बजे बुद्ध एयरको फ्लाइट नम्बर यु४ ९५४ जहाज काठमाडौं विमानस्थलमा अवतरण गर्यो।

अन्य खेलाडी जस्तै राष्ट्रिय टोलीका मिड फिल्डर विक्रम लामाको गलामा पनि विशिष्ट महानुभाव र फुटबलका शुभेच्छुकहरुले खादा पहिराइदिए। आन्तरिक टर्मिनलको 'फिनिसिङ' नभइसकेको बाटो हुँदै टोली आइरहेको थियो। त्यही बीचमा राष्ट्रिय टोलीका मिड फिल्डर विक्रम लामा अप्रत्यासित रूपमा टक्क अडिए। त्यहाँ एउटा नसोचेको घटना भयो।

'मैले कल्पना पनि गरेको थिइनँ स्वागत गर्न आमा विमानस्थलमै आइपुग्नु होला भनेर', नागरिकन्युजसँग कुरा गर्दै विक्रमले भने, 'म भिडमा हराइरहेको थिएँ उहाँले च्याप्पै समात्नु भयो।' राष्ट्रको शिर उचो पारेर फर्किएको छोरो भेट्नासाथ आमा शिवकुमारी खुशीले भावविभोर बनिन्। आँखामा आँसु छचल्किए। 'आमा एकदम खुशी भएर आउनुभएको रहेछ, भावुक भएर आउनु भएको रहेछ', उनले सुनाए, 'नेपालको खेल अघि मैले फेसबुक स्ट्याटस लेखेको थिएँ। मेरो उच्च प्रदर्शन आमा प्ररेरित हुनेछ— नेपाल आमा र मेरी आफ्नै आमा।'

एक्कासि तिनै आमाको आँखामा आँसु देखेपछि विक्रमलाई ठूलो झट्का लागे जस्तो भयो। मन ढक्क फुल्यो, शरीर तरङ्गित बन्यो। 'आमालाई त्यो अवस्थामा देखेपछि मैले आफूलाई रोक्नै सकिनँ। जन्मदिने आमाको त्यो खुशीमा म सानो केटाकेटी जस्तै हुन पुगेछु।' आमाछोरा बीचको त्यो आत्मीय मिलन देख्ने सुरक्षाकर्मी तथा अन्य अवाक देखिए।

काभ्रेबाट च्यासल, पाटन सरेको लामा परिवारका कान्छा छोरा विक्रमले भारतसँगको विजयपछि आमालाई फोन गरेर खुशी साटेका रहेछन्। नेपालको प्रत्येक खेलपछि भारतबाट उनले आमालाई फोन गरेका रहेछन्। 'फिलिङ्स भन्ने कुरा त मान्छेमा आउँदो रहेछ', अहिले उनलाई लाग्छ, 'फोन गरेर खुशी साट्नु एउटा कुरा भयो तर विमानस्थलमा आमालाई त्यसरी भेट्दा म अरु कोही थिइनँ। आमाको सानो बच्चा मात्र बाँकी रहन पुगेँछु।'

हुन त विक्रम आफ्नो पहिलो फुटबल प्रेरक पनि आमालाई नै मान्छन्। 'म त्यतिबेला च्यासलकै श्रमशान्ति उच्चमाविमा दुई कक्षामा पढ्थेँ। औपचारिक रुपमा त्यहाँ पढाई हुन्थ्यो म चाहिँ फुटबल खेल्ने साथी बनाउन स्कूल जान्थेँ', उनले २०५३ सालतिरको कुरा सम्झिए। च्यासल मैदानमा झुम्राको बल बनाएर फुटबल खेल्ने फुच्चे केटाहरुबीच तीक्ष्ण स्वभावका विक्रम आक्रमणक खेलाडी मानिन्थे। फुटबल खेल्दा कहिले जित हुन्थ्यो, कहिले हार। कहिले उनी टाउको फुटाएर घर फर्किन्थे। कहिलै हात फ्याक्चर हुन्थ्यो, कहिले खुट्टा मर्किन्थ्यो। तर त्यसबीचमा पनि एउटा कुरा भने सधैँ समान चलिरहन्थ्यो– आमाको स्नेह। 'आमाले कहिलै पनि मलाई यो नगर भन्नुभएन। मेरो दुखाईमा उहाँको सधैँ साथ रह्यो, सधैँ मेरो घाउमा मल्हम लगाइदिनुहुन्थ्यो', उनले सम्झिए, 'उहाँले सधैँ फुटबल खेल्न हौसला दिइरहनुभयो, कहिले घाउमा मल्हम लगाइदिएर त कहिले नयाँ फुटबल किनिदिएर।'

आमा प्ररेरित विक्रमको फुटबललाई च्यासल क्लबले व्यवसायिक दिशा दियो। त्यतिबेला ठूलो दाइ र आमाले बाहिर काम गरेको पैसाले लामा परिवारको आर्थिक भार धानिँदै आएको थियो। 'त्यो बेला म व्यवसायिक फुटबलतर्फ भर्खर पाइला टेक्दै थिएँ', उनले संघर्षका दिन सम्झिए, 'मेरो संघर्षका प्रत्येक खुड्किलामा आमाको साथ छ। त्यसलाई मैले मेरो ठूलो सम्पत्तिको रुपमा जगेर्ना गर्दै आएको छु।' विक्रमको फुटबल करिअर २०६४ सालदेखि ए डिभिजन क्लबमा उक्लियो। कुनै बेला जाउलाखेल युथ क्लबका खेलाडी उनी पाँच वर्षयता थ्री स्टार टोलीका महत्वपूर्ण सदस्य रहँदै आएका छन्।

सागमा भारतलाई हराएर स्वर्ण पदक जित्दा उनको भूमिका उपकप्तानको रुपमा थियो। यो विजयलाई विक्रमले नेपाली फुटबलको ऐतिहासिक क्षणको रुपमा लिएका छन्। 'खेल्नुको अर्थ हार र जित अवश्य हो। नेपाली फुटबलमाथि संकट मडारिएको र सारा नेपाली निरास भएको अवस्थामा स्वर्ण पदकका लागि जित हासिल गर्दा छुट्टै महत्व हुने रहेछ, साँच्चै गर्व लाग्दो रहेछ', उनी भन्छन्, 'देशका लागि वास्तविक रुपमा खेल्नु र ठूलो ठानिएको प्रतिद्वन्द्वीलाई हराएर स्वर्ण जित्दाको क्षणबारे कसरी सुनाउने, कसरी व्यक्त गर्ने मसँग शब्द नै छैन।'



तस्विरहरू: दिनेश गोले
स्रोत: नागरिक