जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

उदयपुर, फागुन ५ – उदयपुरको सिरिसेमा मंगलबार राति जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।
सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी–रुपाटार कृषि सडक खण्डको सिरिसे गाविस–१ स्थित तारेभिरमा ग १ ज ४६१६ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा लिम्पाटार–३ का तेजबहादुर कार्कीको ज्यान गएको हो ।
दुर्घटनामा लिम्पाटार–१ की ५० वर्षकी कृष्णकुमारी बुढाथोकी, ३२ वर्षका राजकुमार बुढाथोकी, लिम्पाटार–४ का ३४ वर्षका  हरिबहादुर खत्री र ५ का ३८ वर्षका थिरबहादुर बस्नेत घाइते भएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक दिपककुमार बस्नेतले जानकारी दिए ।
घाइतेको टाउको, छाती र शरीरका अन्य भागमा चोट लागेको छ । उनीहरु सबैको कटारी अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पताल रिफर गरिएको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिनुभयो । कच्चीबाटोमा तीब्र गतिका कारण ब्रेक फेल भइ दुर्घटना भएको हुनसक्ने  प्रहरीको अनुमान छ ।