अब पूरै सिलिन्डर ग्यास

काठमाडौं फागुन,३ – उपभोक्ताले ग्यास अभाव झेलेको पाँच महिनाभन्दा बढी भइसक्यो । यसबीचमा उपभोक्ताले दाउरा, ब्रिकेट, इन्डक्सन कुकर आदिको सहायताले छाक टारे । अभावकैबीच सरकारले आधा सिलिन्डर ग्यासको कन्सेप्ट ल्याएर केही हदसम्म भए पनि अभाव कम गर्ने प्रयास गर्‍यो ।यद्यपि, ग्यास अभाव कायमै छ ।



सूर्यविनायक भक्तपुरकी उपभोक्ता मञ्जु थपलियाले ४ महिना भइसक्यो ग्यास नपाएको । केही नलागेर उनले झापाबाट ल्याएर चुलो बालिन् । ‘३ हजार पाँच सय रुपैयाँ तिरेर ब्लाकमा पनि ग्यास किनियो । दाउरा बाल्न पनि घरबेटीले दिँदैन’ थपलियाले गुनासो गरिन्, ‘नाकाबन्दी खुलेपछि पनि ग्यास पाइएला जस्तो छैन, के हेरेर बसेको छ सरकार ? उपभोक्ताले धेरै सहिसके , अब सहँदैनन् ।’ अब पनि पूरै सिलिन्डर ग्यास पाउनेमा उनी विश्वस्त छैनन् ।

गत साता नाकाबन्दी खुले पनि पर्याप्त रुपमा ग्यास आइरहेको छैन । अझै पनि उपभोक्ता ग्यास पाइने हो कि होइन भन्ने चिन्तामै छन् । नेपाल आयल निगमले भने आपूर्ति बढ्दै गएकाले अब उपभोक्ताले पूरै सिलिन्डर अर्थात् १४.२ किलो ग्यास पाउने दाबी गरेको छ । निगमका कार्यकारी निर्देशक गोपाल खड्का वीरगन्ज–रक्सौल नाका खुला भएर विस्तारै आपूर्ति बढेकाले अब सिलिन्डरमा पूरै ग्यास भरेर दिने बताउँछन् ।