आफू मरेर यात्रु बचाउने साहसिक पाइलटलाई सर्वत्र सलाम

काठमाडौं, फागुन १५ – नेपालगञ्जबाट जुम्लाको लागि उडेको एयर काष्टमाण्डपको विमान शुक्रबार कालिकोटमा दुर्घटना हुँदा सबै यात्रुको ज्यान जोगियो । तर यात्रुको ज्यान जोगाउने क्रममा दुईजना पाइलटको ज्यान गयो ।विमानमा प्राविधिक गडबडी भएको थाहा हुने बित्तिकै पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष रानाले यात्रुलाई सान्त्वना दिँदै आफूहरु मरेर भएपनि सबैको ज्यान जोगाउने प्रतिबद्धता जनाएका थिए । यात्रुलाई आश्वस्त पार्दै सकुशल विमान अवतरण गर्ने क्रममा दुवै पाइलटको ज्यान गयो । जहाजमा रहेका ९ जना यात्रुको ज्यान जोगियो ।
दुई पाइलटले साहसिक अवतरण नगराएको भए जे पनि हुन सक्थ्यो । पाइलटकै कारण यात्रुको ज्यान बच्यो । तर यात्रुलाई बचाउने पाइलट रहेनन् । आफूलाई बचाउने ती पाइलटलाई सम्झेर यात्रुको मन रोइरहेको छ । यस्तो थाहा पाएका अरुको पनि आँखा रसाएको छ । सामाजिक सञ्जालमा धेरैले पाइलटको साहसलाई कदर गर्दै उच्च सम्मान र श्रद्धाञ्जली प्रकट गरेका छन् । यसमा नयाँ शक्तिका नेता डा. बाबुराम भट्टईदेखि सर्वसाधारण नागरिक छन् ।