घरका १४ सदस्यको हत्या गरी एक व्यक्तिले गरे आत्महत्या

काठमाडौं फागुन, १६-भारतको महाराष्ट्रमा एक व्यक्तिले आफ्नो परिवारका १४ जनाको घाँटी रेटेर हत्या गरी आफूले पनि झुण्डिएर आत्महत्या गरेका छन् ।
मुम्बइसँग जोडिएको ठाणे भन्ने स्थानको कासारवडवाली इलाकामा आइतबार विहान हसनैन वरेकरले परिवारका सदस्यहरुको हत्या गरी आत्महत्या गरेका हुन् ।
प्रहरीका अनुसार मृतकहरुमा ७ बच्चा, ६ महिला र एक पुरुष छन् । एक महिला गम्भीर घाइते भएकी छन् । उनलाई अस्पतालमा भर्ना गरिएको छ ।हसनैन मुम्बइको एक निजी कर सल्लाहकार कम्पनिमा जागिर गर्दथे । उनले शनिबार राति आफ्ना चार बहिनीहरुलाई भोजमा बोलाए । बहिनीहरु आफ्ना बालबच्चाका साथ माइत आए । तर, हसनैनले उल्टै घाँटी रेटेर हत्या गर्न सुरु गरे ।
उक्त नरसंहारमा उनकी भान्जी जोगिन सफल भएकी छन् । उनलाई उपचारका लागि स्थानीय निजी अस्पतालमा भर्ना गरिएको छ । उनको अबस्था गम्भीर छ । ठाणे पुलिसका आयुक्त परमबीर सिंह भन्छन्, ‘यदि उनी बाँचिन् भने उनले यस हत्याकाण्डको अनुसन्धानमा नयाँ प्रकाश छर्नेछिन् ।’
प्रहरीका अनुसार शनिबार अबेर रातिसम्म हसनैनको घरमा पारिवारिक भोज जारी थियो । तर, राति करिब १ बजेतिर चिच्याएको आवाज सुनियो । त्यसलगत्तै छिमेकीहरु उक्त घरमा जम्मा भए तर ढोका बन्द थियो । धेरै बेरसम्म पनि कसैले ढोका नखोलेपछि मात्रै छिमेकीहरुले प्रहरीलाई खबर गरेका थिए ।
त्यसलगत्तै घटनास्थलमा ठाणे प्रहरीका वरिष्ठ अधिकारीहरु पुगेका थिए । ढोका फोडेर प्रहरी घरभित्र छिर्दा शवहरु छरपस्ट थिए र हातमा चक्कु लिएका हसनैन घरको शिलिङमा घाँटीमा पासो लगाएर झुण्डिएको अबस्थामा फेला परे ।
प्रहरीका अनुसार हसनैनले खानामा नशालु पदार्थ मिसाएर घरका सदस्यहरुलाई बेहोस बनाएर चक्कुले घाँटी रेटेर हत्या गरेको प्रारम्भिक अनुमान गरेको छ ।
ठाणे पुलिसका आयुक्त परमबीर सिंहले भने, ‘प्रारम्भिक अनुसन्धानबाट घटनाको पछाडि पारिवारिक विवाद हुनसक्छ । वास्तविकता अनुसन्धान पूरा भएपछि पत्ता लाग्नेछ ।