बार्सिलोना ६–१ ले विजयी, स्वारेजको ह्याट्रिक, मेस्सी र नेइमारको एक एक गोल

एजेन्सी फागुन, ३ – स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले तीन अंकको अग्रता कायम गरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा डी भिगोलाई ६–१ ले हराएको हो । बार्सिलोनाको जितमा लुइस स्वारेजले ह्याट्रिक गरे । यस्तै लियोनल मेस्सी, नेइमार र इभान रेकिटिकले एक एक गोल गरे । सेल्टा भिगोका लागि जोन गाइडिट्टीले एक गोल फर्काए ।

२८ औं मिनेटमा मेस्सीले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । ३९ औं मिनेटमा लिसेस्टरका गाइडिट्टीले गोल गरेपछि पहिलो हाफमा खेल १–१ को बराबरीमा रह्यो । स्वरेजले ५९, ७५ र ८१ औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गर्दै बार्सिलोनालाई ४–१ को अग्रता दिलाए । ८४ औं मिनेटमा रेकिटिक तथा इन्जिुरी समयमा नेइरमारले गोल गरेपछि बार्सिलोना ६–१ ले विजयी भयो । जितपछि बार्सिलोनाको २३ खेलबाट ५७ अंक भएको छ । आइतबार राति नै भएको खेलमा गेटाफेलाई १–० ले हराएर दोस्रो स्थानमा उक्लिएको एथ्लेटिको मड्रिडको २४ खेलबाट ५४ अंक भएको छ । तेस्रो स्थानमा रहेको रियल मड्रिडको २४ खेलबाट ५३ अंक छ । २४ खेलबाट ३५ अंक जोडेको सेल्टा भिगो आठौं स्थानमा छ । आइतबार राति नै भएका अरु खेलमा रियल सोसिडाडले ग्रनाडालाई ३–० तथा सेभिल्लाले लास पालमसलाई २–० ले हरायो ।