प्रधानमन्त्रीज्यू ! धरहरा भन्दा पहिला टहरा बनाउने की ?


म प्रधानमन्त्री ओलीको राष्ट्रवादी चट्टानी अडानको सम्मान गर्छु । भारतसंगको अडानमा नझुक्नु र स्वतन्त्र राष्ट्रको गरिमा बचाईराख्ने सवालमा अहिलेसम्मका प्रधानमन्त्रीहरुभन्दा धेरै अघि छन ओली। कसैले यसलाई खोक्रो राष्ट्रवाद त कसैले उखाने सरकारको भुत्ते राष्ट्रवाद भनेपनि राष्ट्रियताको सवालमा यो सरकारलाई सस्ता शब्दहरुको प्रयोग अझै नगरिहालौं भन्ने मेरो ब्यक्तिगत मान्यता हो। तर मैले हनुमान बनेर उनको तारिफ़ मात्रै गरिरहन सक्दिन।

   हो, सरकार गठन भएको परिस्थिति सामान्य थिएन: महाविनाशकारी भुकम्प र बेला बेलाका पराकम्पन, पुनर्निर्माणको महाअभियान, मधेस केन्द्रित दलहरुको आन्दोलन, संबिधानको सफल कार्यान्वयन र देशी बिदेशी षड्यन्त्र चिर्न ओलीलाई फलामको च्यूरा चपाउनु सरह थियो। अर्को बिडम्वना देशको ठूलो दल नेपाली कांग्रेस सत्ताबाट बाहिर थियो।

तर सरकारमा बस्नेले चाहेमा धेरै काम गर्न सकिन्थ्यो | भाग्यले बाँचेकाहरुमा खुशीको रौनक़ छर्न सकिन्थ्यो | छिमेकीले घाँटी निमोठेको बेला पनि पुनर्निर्माणको गतिलाई धेरै हदसम्म बढाउन सकिन्थ्यो। दुनियाँमा नमूना बन्न सकिन्थ्यो । राज्यसत्ता चलाउनेले भुकम्प पिडित पुनर्स्थापन संबन्धि काम तुरन्त तदारुकताका साथ गर्ने र प्रतिपक्षहरुले रचनात्मक सहयोग गर्ने बेला हो यो। डा. रविन्द्र समीर, धुर्मुससुन्तली र बिवेकशीलका ठिटाहरु र एनआरएनहरु जस्ताले मात्र पूरै देश संचो गराउन सक्दैनन।

हो , ओलीजीलाई  कमल थापादेखि चित्र बहादुरसम्मलाई एउटै ट्र्याकमा हिडाउनु कठिन थियो: हिडाउनु भयो | भुकम्पले थिलो थिलो भएको देशमा मधेसी दलहरुले काँध थापेर मच्याएको नाकावन्दीसंग प्रतिकार गर्नु थियो: गरे। तर यसबिचमा ओली काकाले बोलेरै बिराएका भने छन् | हुनत उनी भन्दा पहिलेका प्रधानमन्त्रीहरुले नबोलेरै बिगारेका पनि हुन। भारतको हैकमबादी प्रबृर्ति र मधेसी नेताहरुको सत्ता सोपान बिरुद्द उनले बोलेरै राम्रो गरेका हुन। भारत भ्रमणको क्रममा उनी कति बोल्ने र कति अडान लिन सक्ने हुन यो हेर्न धेरै दिन कुर्नु नपर्ला।

तर देश चलाउनेहरुले बोलेर मात्र हैन गरेर देखाउनु पर्छ | लोकतन्त्रमा सरकारको दायित्व जनताप्रति हुनुपर्छ र केन्द्र बिन्दु जनता हुनुपर्छ । सरकारले नाकावन्दीमा कालो बजारी गरेका बिरुद्द न कारबाही गर्न सक्यो न त भुकम्प पिडितहरुको पुनर्स्थापनमा राज्यका अंगहरुले उल्लेख्य काम गर्न सके। भुकम्प र नाकाबन्दीकाबीच कालोबजारी गरेर बनेका नवधनाढ्यहरुलाई सरकारले भेट्न सकेन वा पहिलेका सरकारले जस्तै भेट्न चाहेन। जनता बचाउन भन्दा सत्ता बचाउन आवश्यक ठानियो।

राज्यकै स्रोतमा धरहरा बनाउने प्रधानमंत्री ओलीको पछिल्लो कुरा अहिले चर्चामा छ। अझ प्रधानमन्त्रीले धरहरा बनाउन आफ्नो एक महिनाको तलब प्रदान गर्ने घोषणा गर्नु भो, जुन स्वागतयोग्य छ । तर प्रधानमंत्रीज्यू यसको साथै एक महिना अलि चनाखो भएरै भ्रष्टाचार रोक्नुस धरहरा सहित जनताका टहरा पनि बन्नेछन। नेपाल संसारको अति भ्रष्टाचार हुने देश हुने तर्फ बर्षेनी लम्किरहेको छ।

सारा विश्वले गर्व गर्ने नेपाली मनको सानों सगरमाथा हाम्रै पौरखले बन्नु पर्छ, तर अहिले नै धरहरा नबनाउदैमा पहाड खस्दैन | बरु दस महिनादेखि आकास ओढेर बस्ने भुकम्पमा भाग्यले बाँचेकाहरुको लागि टहरा बनाउन जरुरी छ | भत्केका स्कूल र स्वास्थ्य चौकी बनाउनु छ ।

राज्यसत्ता चलाउनेले भुकम्प पिडित पुनर्स्थापन संबन्धि काम तुरन्त तदारुकताका साथ गर्ने र प्रतिपक्षहरुले रचनात्मक सहयोग गर्ने बेला हो यो।

धरहरा अवष्य नै नेपाल र नेपालीको सान हो, यो बन्नुपर्छ र सबै नेपालीको प्रयासले बन्छ | तत्काल यसलाई भुकम्पले गरेको बिनाशको उदाहरण आगामी संततिलाई देखाएर पनि उनीहरुलाई जीवन्त पाठ बन्न सक्छ, भावी सन्ततिहरु सजग हुनसक्छन। धरहरा उस्तै दुरुस्तै तर त्यही ठाउँ या अर्कै ठाउँमा बनाउँला तर त्यसभन्दा पहिले जनता बस्ने टहरा(ग़रीबहरुको त घर भनेपनि टहरै त हो नि)बन्नुपर्छ |

जनताहरु टहरादेखि धरहरा बनाउन उठ्ने छन, स्वदेश बिदेसमा बस्ने नेपालीले धरहरा बनाउने नै छौ। तर पहिले टहरा बनाउने काम गरौं न है !
        - भृकुटी -६ कपिलवस्तु

,