ज्ञानेन्द्रले नयाँ संविधानमाथि प्रश्न उठाए





काठमाडौँः


पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको नयाँ राज्य व्यवस्थाको नयाँ विधिले नेपाली जनतालाई सुख दिन नसकेको भन्दै नयाँ संविधानप्रति पहिलो पटक प्रश्न गरेका छन् । परम्परा अनुसार नै प्रजातन्त्र दिवसको अवसरमा ज्ञानेन्द्रले जारी गरेको विज्ञिप्तिमा घुमाउरो शैलीमा नयाँ संविधानप्रति असन्तुष्टि जनाइएको छ । ज्ञानेन्द्रले नयाँ प्रक्रियाले नेपाल र नेपालीको हित एवम् अग्रगामी विकासका साधक सिद्ध हुन नसकेकोप्रति असन्तुष्टि जनाएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले बैंककबाट जारी गरेको वक्तव्यमा देशको पछिल्लो अवस्थाप्रति असन्तुष्टि जनाउदै भनेका छन्, ‘दुर्भाग्यवस, नेपालको राष्ट्रियता, अखण्डता र राज्य व्यवस्थाको नयाँ विधि एवम् प्रक्रिया नेपाल र नेपालीको हित एवं अग्रगतिका निम्ति साधक सिद्ध हुन नसक्नु सबैका लागि दुखद कुरा हो ।’

ज्ञानेन्द्रले जारी गरेको विज्ञप्तिमा नयाँ विधि एवम् प्रक्रिया भनेर नयाँ संविधानप्रति असन्तुष्टि जनाएको प्रष्ट देखिन्छ । उनले देशमा रहेको राजनीतिक अस्थिरताले देशको भविष्य सुन्दर र शान्त बनाउने नेपाली जनताको चाहना पुरा नहुदा आफू मर्माहत बनेको समहसु भएको समेत उल्लेख गरेका छन् ।

ज्ञानेन्द्र विज्ञप्ति मार्फत भन्छन्, ‘अहिले देशमा गतिहिनता, संवेदनहीनता, अनेकतामा विग्रहको अवस्था देखिएको छ । भविष्यको सुन्दर सपना, शान्ति तथा स्थिरताको चाहना राख्ने नेपाली जनता ज्यादै मर्माहत बनेको मैले महसुस गरेको छु ।’

ज्ञानेन्द्रले आफू पन्छिएर राष्ट्र, राष्ट्रियता र राष्ट्रिय गतिशीलताका लागि बाटो प्रशस्त गरिदिएको प्रसंगलाई समेत विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले आफूले गद्धी छोड्दा समेत ‘राष्ट्र, राष्ट्रियता र राष्ट्रिय गतिशीलता हुन नसकेकोप्रति चिन्दा व्यक्त गर्दै भनेका छन्, ‘राष्ट्र, राष्ट्रियता र राष्ट्रिय गतिशीलताका लागि मैले आफू पन्छिएर पनि मार्य प्रशस्त गरिदिएको हुँ ।’

उनले विज्ञप्तिमा देशमा शान्ति नभए आफू राष्ट्रको सर्वोचता र समुन्नतिको लागि तयार रहेको समेत घुमाउरो शैलीमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘राष्ट्रको सर्वोत्तम समुन्नतिको आकांक्षाबाट म पृथक छैन ।’