भारतमा प्रधानमन्त्री ओलीको भव्य स्वागत, सात बुंदे सम्झौता



काठमाडौ, फेब्रुअरी २० |

  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक स्वागत गरेका छन्। शुक्रबार ६ दिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले भारतको राष्ट्रपति भवनमा शनिबार बिहान औपचारिक रुपमा भव्य स्वागत गरेका हुन् ।

सात बुंदे सम्झौता 

 भारतको ६ दिने राजकीय भ्रमणमा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भएको भेटवार्तामा विभिन्न सातवटा सम्झौतामा हस्ताक्षर भएको छ ।

भूकम्पपछिको पुनःनिर्माण, नेपालको तराई क्षेत्रमा सडक पूर्वाधार विकास, सङ्गीत तथा नाट्य प्रतिष्ठान स्थापना, पारवहन मार्ग, रेल यातायात, ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन र प्रबुद्ध समूह स्थापनासहित सातवटा समझदारी एवम् र विनिमयपत्रमा हस्ताक्षर गरी आदानप्रदान भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जारी भारतको राजकीय भ्रमणका क्रममा आज ती सहमति एवम् विनिमयपत्र दुवै मुलुक सम्बद्ध अधिकारीहरुले हस्ताक्षर गरी आदानप्रदान गरेका हुन् । भारत सरकारले भूकम्पपछिको पुनःनिर्माणका लागि अनुदानस्वरुप उपलब्ध गराउने रु २५ अर्बको सहायतासम्बन्धी समझदारीपत्रमा उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा र भारत सरकारका तर्फबाट त्यहाँका विदेश मन्त्री सुष्मा स्वराजले हस्ताक्षर गरेका छन् ।

उक्त अनुदान सहायताअन्तर्गत आवास, स्वास्थ्य शिक्षा र सांस्कृतिक सम्पदाको निर्माण गरिनेछ । त्यसैगरी भुइँचालोबाट अतिप्रभावित १४ जिल्लामा ५० हजार घर निर्माण गरिनेछ । त्यसैगरी भूकम्पबाट प्रभावित ३१ जिल्लाका स्वास्थ्य, शिक्षा, सांस्कृतिक सम्पदाको निर्माणमा उपयोग गरिनेछ ।

तराई क्षेत्रमा सडक पूर्वाधार निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्नेसम्बन्धी समझदारीपत्रमा नेपालका लागि भारतीय राजदूत रणजीत राय र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव अर्जुन कार्कीले दस्तखत गर्नुभएको छ । समझदारीअनुसार ५१८ किलोमिटर सडक निर्माण गरिनेछ ।

प्रदर्शनकलाका माध्यमबाट नेपाल र भारतबीचको सम्बन्ध सुदृढ तुल्याउन सङ्गीत तथा नाट्य प्रतिष्ठान स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा सङ्गीत नाटक प्रतिष्ठानका सचिव हेलेन आचार्य र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले हस्ताक्षर गर्नुभएको छ । उक्त समझदारीअनुसार नाट्य सङ्गीतका विज्ञ, प्रतिनिधि, नर्तक, विद्धत् वर्गलगायत आदानप्रदान गरिनेछ ।

काँकडभिट्टा–बङ्गलाबन्ध मार्ग भएर नेपाल र बङ्गलादेशबीचको पारवहन मार्ग सञ्चालन गर्ने तथा विशाखापटनम् बन्दरगाह सञ्चालन गर्नेसम्बन्धी विनिमयपत्रमा भारतका वाणिज्य सचिव रीता ट्याओ टिया र वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले दस्तखत गर्नुभएको छ ।

उक्त विनिमयपत्रअनुसार भारतीय भूमि भएर नेपाल र बङ्गलादेशबीचमा मालबाहक सवारी साधन ओहोरदोहोर गर्नेछन् भने विशाखापटनम् बन्दरगाहबाट मालबाहक सवारी साधनलाई ओहोरदोहोर गर्न सहज हुनेछ । त्यसैगरी, विखाशापटन्मबाट रेलमार्गको उपयोग र बङ्गलादेशको सिङ्हवाद भएर उक्तमार्गको सुविधा प्राप्त हुनेछ ।

भारतीय राष्ट्रपतिसँग पनि भेट

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गरे । भ्रमण दलमा सहभागी मन्त्रीगणसहितको सो भेटमा राष्ट्रपति मुखर्जीले आफ्नो मुलुकमा भ्रमण गरेको र आफ्नो निवासमा आतिथ्यता ग्रहण गरेकामा स्वागत गर्दै आभार प्रकट गरे ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले उनको न्यानो आतिथ्यताका लागि धन्यवाद दिँदै उहाँलाई नेपाल भ्रमणको निम्तो दिए । भेटमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, उपप्रधानममन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा नेपालका लागि भारतीय राजदूत रणजित रायलगायत थिए ।

यसैगरी, प्रधानमन्त्री ओलीले आजै उपराष्ट्रपति हमिद अन्सारीसँग ६ मौलाना आजाद सडकस्थित उहाँको निवासमा शिष्टाचार भेट गरे ।