मञ्जु पौडेलको ‘भ्यालेण्टाइन गिफ्ट’ – ‘जाले रुमाल’






काठमाडौँ फेब्रुअरी १३ |

पछिल्लो समयकी चर्चित प्रस्तोता तथा गायिका मञ्जु पौडेल नयाँ गीत ल्याउने तयारीमा जुटेकी छन् । गायिकाको रुपमा नियमित जसो नयाँ गीत बजारमा ल्याइरहेकी पौडेल स्टेज कार्यक्रम संचालनमा विशेष दख्खल राख्छिन् । गायिका पनि अनि सञ्चालिका पनि, त्यसैले कार्यक्रम आयोजकको पहिलो रोजाइमा पर्छिन उनी ।

भर्खरै मात्र दाङको लमही महोत्सव सञ्चालन गरेर काठमाडौं फर्किएकी गायिका पौडेल आफ्ना प्रशंसक तथा स्रोता दर्शकलाई ‘भ्यालेण्टाइन गिफ्ट’ दिने तयारीमा छन् । उनको गिफ्ट हो उनको नयाँ गीत ‘जाले रुमाल ‘। दाङ जानु ठिक एकदिन अगाडि उनले आफ्नो नयाँगीत रेकर्ड गरेकी थिइन् । सोहि गीतको भिडियो निर्माणमा जुटेकी पोडेलले सकेसम्म भ्यालेण्टाइन डे अगाडि गीत रिलिज गर्ने तयारीमा रहेको नेपालीकलालाई बताइन् ।

पौडेलको नयाँ गीतमा चर्चित सर्जक एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको छ । मारुनी स्टुडियोमा गीत रेकर्ड गरिरहँदा उनले गीतप्रती निकै आशावादी रहेको बताएकी थिइन् । "म स्टेजमै व्यस्त रहन्छु" उनले भनिन्, "सोहि अनुसार नै स्टेजमा जम्ने खालको फास्ट बिटमा रमाइलो शब्द सहितको गीत एकनारायण जी ले बनाउनु भएको छ, म गीत सफल हुनेमा विश्वस्त छु ।"

उनलाई पुरुष आवाजमा साथ दिएका छन् लोकप्रिय लोक गायक कुलेन्द्र बिश्वकर्माले । "कुलेन्द्रसँग यो मेरो पहिलो गीत हो" उनले भनिन्, "रेकर्ड पछि सुन्दा कुलेन्द्रसँग मेरो ट्युनिङ गजब मिलेको पाएँ ।"
स्रोत: नेपालीकलाडटकम