पोप जोन पलका गोप्य प्रेमपत्र फेला

लन्डन फागुन, ४–स्वर्गीय पोप जोन पल दोस्रोको एउटी विवाहित महिलासँग निकट सम्बन्ध रहेको बताउने सयौं पत्र र तस्बिर सार्वजनिक भएका छन्।
बेलायती सञ्चारमाध्यम बीबीसीले ३० वर्षभन्दा बढी समय विवाहित महिलासँग जोन पलको निकट सम्बन्ध रहेको खुलासा गर्दै तस्बिरहरू सार्वजनिक गरेको हो । पोलिस मूलकी अमेरिकी दर्शनशास्त्री अन्ना–टेरेसा टाइमिनिकालाई जोन पलले लेखेका अन्तरंग पत्रहरू पोल्यान्डको राष्ट्रिय पुस्तकालयले वर्षौं सार्वजनिक नगरी राखेको थियो ।
पत्र र तस्बिरले सन् २००५ मा निधन भएका पोप जोन पलको विरलै सार्वजनिक भएको व्यक्तिगत जीवनबारे प्रकाशित गरेका छन्। तर फेला परेका पत्र र तस्बिरबाट उनले आजन्म ब्रह्मचारी हुने शपथ उल्लंघन गरेको पुष्टि भने नगर्ने बीबीसी उल्लेख गर्छ।
बीबीसीका अनुसार दुवैबीच सन् १९७३ मा मित्रता सुरु भएको थियो। त्यस वर्ष टेरेसाले त्यसबेला क्राकोका आर्कविसप रहेका कार्डिनल कारोल वज्टिलाले लेखेको दर्शनशास्त्रसम्बन्धी पुस्तकबारे सोधखोज गर्दै सम्पर्क गरेकी थिइन्। त्यसपछि ५० बर्से कार्डिनल कारोल अमेरिकाबाट पुस्तकबारे छलफल गर्न पोल्यान्ड पुगेका थिए।
कार्डिनल कारोलको पोल्यान्ड भ्रमणको केही समयपछि दुवैबीच पत्राचार सुरु भएको थियो। कार्डिनल कारोलका सुरुका पत्रहरू औपचारिक छन् भने मित्रता प्रगाढहुँदै जाँदा उनीहरू निकै अन्तरंग भएको बीबीसीले उल्लेख गरेको छ । दुवैले कार्डिनल कारोलको पुस्तकको नयाँ संस्करण वृहत् बनाउने निश्चय गरेपछि टेरेसासँग उनले धेरैपल्ट भेटघाट गरेका थिए। कारोलका निजी सचिवको उपस्थितिमा कुनै बेला र कुनै बेला एक्लै दुवैबीच भेटघाट भएको थियो भने पत्राचार निरन्तर भइरह्यो । सन् १९७४ मा कारोलले टेरेसाका चार वटा पत्र ‘निकै अर्थपूर्ण र नितान्त निजी’ रहेकाले दोहो¥याएर पढिरहेको भन्दै पत्र पठाएका थिए।
पोप जोन पल दोस्रो २०औं शताब्दिका अत्यधिक प्रभावशाली व्यक्तित्व मानिन्छन् । करोडौंले श्रद्धा गरिने उनलाई निकै छिटो ‘सन्त’ घोषणा गरिएको थियो– निधनको मात्र ९ वर्षपछि । बीबीसीले विवाहित पोलिस मूलकी अमेरिकी दर्शनशास्त्री टेरेसासँग जोन पलले गरेका पत्राचार हेरेको दाबी गरेको छ । सयौं पत्र र तस्बिरले जोन पलको भावनात्मक जीवनमाथि प्रकाश पार्ने बीबीसीले गरेको छ।
यसअघि सार्वजनिक नभएका तस्बिरले कारोल (जोन पल) सर्वाधिक आनन्दित देखिएका छन्। उनले टेरेसालाई पैदल भ्रमण र स्किइङमा साथ दिन निम्त्याएका थिए। टेरेसा एउटा क्याम्पिङमासमेत उनीसँग थिइन्। तस्बिरले टेरेसा जोन पलसँग भेटिकनमा भेटसमेत गरेको देखाएका छन्।
सन् १९७६ मा कार्डिनल कारोल एउटा क्याथोलिक सम्मेलनमा अमेरिका गएका बेला टेरेसाले उनलाई न्यु इङल्यान्डस्थित आफ्नो घरमा बस्न निम्तो दिएकी थिइन्। त्यहाँ कारोल टेरेसाको परिवारसँगै बसेका थिए। उनले कारोलसँग निकै अन्तरंग भावना व्यक्त गरेजस्तो यसपछि कारोलले उनलाई पठाएका पत्रमा देखिएको बिबिसीले उल्लेख गरेको छ। कारोलका ती पत्रमा एउटा इसाई पुरुषले इसाई नियम अनुसार आफ्नो मित्रताबारे दोधारमा परेको अभिव्यक्ति छ।
तीमध्ये १९७६ सेप्टेम्बरको एउटा पत्रमा कारोलले लेखेका छन्, ‘मेरी प्यारी टेरेसा, मैले तिम्रा सबै तीनवटै पत्र पाएँ । तिमीले आफू विभाजित भएको लेखेकी छ्यौ, तर म तिम्रा ती शब्दका कुनै उत्तर भेट्न सक्दिन।’ कारोलले आफ्ना पत्रमा टेरेसालाई ‘इश्वरप्रदत्त उपहार’का रुपमा व्याख्या गरेका छन्।
टेरेसाको मृत्यु भएको ६ वर्षपछि पोलिस नेसनल लाइब्रेरीले सन् २००८ मा कागजातको मुठो नै किनेको थियो । लाइब्रेरीलाई बेचिएका कागजातमा टेरेसाले कारोलसँगका सबै पत्र र तस्बिरका प्रतिलिपि रहेको विश्वास गरिन्छ । तर पोपका तस्बिर र पत्र बिबिसीलाई देखाँइदा भने टेरेसाका पत्र समावेश थिएनन् । टेरेसाले कारोललाई लेखेका पत्र आफूसँग रहेको पुष्टि भने लाइबे्ररीले नगरेको बीबीसीले उल्लेख गरेको छ।