एसएसपी सर्वेन्द्र खनालसंगको अन्तरबार्ता

 

एसएसपी सर्वेन्द्र खनाल, अपराध अनुसन्धान महाशाखा प्रमुख




समाजमा अपराध र त्यसको नियन्त्रण पनि पुरुषको आँखाबाट हुन्छ भनेर मैले भनेँ भने त्यो गतल हुन्छ कि सही ?

त्यो सही होइन । अपराध नियन्त्रण र अनुसन्धान गर्दा सबै पक्षको अध्ययन हुन्छ । अपराध गरेको प्रमाणित भए सजाय त एउटै हो । बरु, अपराधको सजायपछि समाजमा पुनस्र्थापित हुन पुरुषलाई भन्दा महिलालाई अलि अप्ठ्यारो हुन्छ । पुरुषलाई घरपरिवारले पनि सजिलै अपनाउँछ भने महिलालाई त्यो खालको वातावरण हुँदैन |

हिंसापीडित महिलाको गुनासो–उजुरी सजिलैसँग दर्ता हुँदैन, किन ?

मलाई त त्यस्तो लाग्दैन । अहिले महिलालाई सबै क्षेत्रमा प्राथमिकता दिइएको छ । हिंसाको घटना दर्ता हुँदैनन् भन्ने होइन । किन दर्ता भएन भन्ने कुराचाहिँ घटना बुझेर मात्र भन्न सकिन्छ ।

मानव बेचबिखनमा किटानी जाहेरी दिँदा पनि अपराधीलाई प्रहरीले गिरफ्तार नै गर्दैन भन्ने महिलाको गुनासो गलत हो त ?

पीडितको बयान र त्यसअनुसारको प्रमाण तयार गरेर बेचबिखनको मुद्दा चल्ने हो । आरोपित व्यक्ति देशबाहिर भागेको छ भने एउटा कुरा हो, होइन भने घटनाको छानबिन कुन निकायबाट भएको छ र कुन युनिटले मुद्दा चलाएको छ, त्यो खुल्नुप-यो । सबैलाई एउटै बास्केटमा राखेर हेर्नुहुँदैन । कुन घटनाले कुन ठाउँमा प्राथमिकता पाएन, ल्याउनुस् मेरो कार्यक्षेत्रभित्र हो भने नगर्नेलाई सजाय दिन्छु । सबै ठाउँको जिम्मा त म लिन सक्दिनँ । महिला बेचबिखनजस्तो संवेदनशील विषयमा अपराधी छोड्ने काम त कुनै पनि हालतमा हुनै सक्दैन ।

सामान्यतया महिलाले त्यत्तिकै कसैमाथि आरोप लगाउँदैनन् । कुनै केस पुलिसको क्षमताभन्दा बाहिर रहेछ भन्ने भन्न सकिँदैन । फेरि किटानी जाहेरी आफैँमा पूर्ण हुँदैन । कारबाहीका लागि प्रमाण जुटाउन अनुसन्धान गर्नुपर्यो । त्यत्तिकै पुलिसले गरेन भन्ने कुरा मलाई उचित लाग्दैन ।

यो तपाईंको कार्यक्षेत्रभित्र पर्छ कि पर्दैन ? 

पर्छ  |

पछिल्ला केही घटना हेर्दा समाज झनै क्रूर बन्दै गएको छ भन्ने लाग्दैन ?

समाज क्रूर बन्दै गएको छ भन्न त सकिँदैन । तर, प्रेममा धोका र ब्ल्याकमेलिङका कारण विक्षिप्त भएको बेला मानिस उत्तेजनामा आएर यस्ता घटना हुने गरेका छन् । मानिसलाई बाँध्ने भनेको कानुनले नै हो । भएका कानुन कडाइका साथ पालना गरेर अपराधी उन्मुक्त हुन सक्दैन भन्ने डर हुन जरुरी छ ।  परिवारले पनि छोराछोरी कहाँ, कसरी र कुन ठाउँमा छन् भन्नेमा ध्यान दिनुपर्छ । ध्यान दिनुको मतलब प्रतिबन्ध लगाउने भनेको होइन । प्रतिबन्ध लगाउँदा अर्को दुर्घटना हुनसक्छ । खासगरी युवाहरूसँग अभिभावक होइन, साथी बन्न सक्ने हो भने उनीहरूले आमाबुबासँग समस्या राख्छन्, त्यसबेला सजकता अपनाउन सकिन्छ ।

हत्या–हिंसाका घटना रोकिएका छैनन् । यस्तो अवस्थामा महिला कसरी सुरक्षित हुने ?

महिलालाई हाम्रो अनुरोध, कोही मान्छे आफ्नोपछि जबर्जस्ती लागेको छ वा कुनै खालको डर–धम्की दिएर दबाबमा राखेको छ भने नजिकको प्रहरीमा जानकारी गराउनुस् । आफूमाथि घरेलु हिंसा भइरहेको छ कि ? कसैले यौनजन्य हिंसा पटकपटक गरेको छ भने उसले बलात्कार पनि गर्न सक्छ । त्यो कुरा प्रहरीलाई नढाँटी भन्नुहोस् हामी तपाईंमाथि ठूलो घटना हुनबाट रोक्छौँ र बचाउँछौँ ।

कस्ता मुद्दालाई यहाँले प्राथमिकतामा राखेर अनुसन्धान गर्नुहुन्छ ?

महिलाको हकमा वैदेशिक रोजगारीको नाममा विदेशमा अलपत्र परेका, बेचबिखनमा परेका र अपहरणमा परेका मुद्दालाई प्राथमिकतामा राखेर अनुसन्धान गर्दै छौँ । यो समस्यामा परेपछिको कुरा भयो । तर, यो नहोस् भन्नका लागि एयरपोर्ट र बसपार्कमा एक खालको संयन्त्र निर्माण गरेर काम गरेका छौँ । दोस्रो, कुनै महिला अप्ठ्यारोमा वा बेचबिखनको जोखिममा छन् भने अपराध अनुसन्धान महाशाखाको ११७७ (विदेशको लागि ९७७-११७७ ) नम्बरको हटलाइन सेवामा जो कोहीले पनि प्रहरीलाई जानकारी दिएर उद्धारमा सहयोग गर्न सक्नुहुन्छ ।

महिलालाई एउटा काम भनेर अर्को काममा विदेश पठाउने म्यानपावर कम्पनी सञ्चालक र संलग्न व्यक्तिलाई छाड्दैनौँ । दिनमा दुई–तीनजना ल्याउने र मुद्दा चलाउने गर्दा मानव तस्करहरूको अखडामा भय पैदा भएको छ । पुलिसले मलाई एक घन्टा पनि राख्ने औकात छैन् भन्ने हाइप्रोफाइलको एउटा दलाललाई केही दिन भो समातेर थन्क्याएको छु । उसले धेरै महिला र किशोरीलाई ललाइफकाई विदेश पु-याएको छ । महिला बेचबिखन गर्ने र मेरो माथिसम्म पहुँच छ भन्नेलाई चिल्ला कारबाट थुतेर ल्याएको छु । माथिल्लो तहका मान्छेलाई समात्न सकियो भने स्थानीयस्तरमा सजिलै अपराध रोक्न सकिन्छ । जेसुकै भए पनि हामी  हाइप्रोफाइलको नाममा मानव तस्करलाई छोड्नेछैन ।

महिलाको सहयोगका लागि हेल्पलाइन सञ्चालन गर्नुभएको छ । अहिलेसम्म कस्ता उजुरी वा गुनासो आएका छन् ? कस्तो अवस्थाका महिलालाई उद्धार गर्नुभएको छ ?

अहिले वैदेशिक रोजगारीको नाममा बेचिएका महिलासँगै पुरुषको पनि उद्धार गरेका छौँ । खासगरी महिलालाई एउटा काम भनेर म्यानपावरहरूले विदेश पठाउने अनि अर्कै ठाउँमा लगाउने गरेका छन् । यसरी विदेश पुगेका महिला नारकीय जीवन बिताउन बाध्य छन् । उनीहरूको उद्धार गरेका छौँ । यसमा हाम्रो शाखाले एनआरएनसँग मिलेर काम गरेको छ । इन्टरपोलमा पनि खबर गरेका छौँ । विदेशमा केही महिलाले पाएको दुःख र पीडा त भन्नै सकिँदैन । अस्ति भर्खर मकाउबाट एकजना किशोरीको उद्धार भयो । त्यसमा एनआरएनका मान्छेको पनि संलग्नता रहेछ । त्यसलाई त्यहाँबाट पनि घोक्र्याउँछु भनेर म्यासेज पठाएँ, अहिले त्यो तस्कर अर्को देश भागेको छ ।
अहिलेसम्म आएका केसहरूलाई हल गर्न सफल छौँ । अप्ठ्यारोमा परेका देशबाहिर र भित्रका सबैले हाम्रो हटलाइन सेवा ११७७  (विदेशको लागि ९७७-११७७ )मा फोन गरेर प्रहरीको सहयोग लिन सक्नुहुन्छ ।

उपत्यकाभित्र टोल र गल्लीका गुन्डालाई तह लगाउनुभयो । घरघरमा श्रीमती कुट्ने गुन्डाहरूलाई कहिले तह लगाउनुहुन्छ ?

बिनाकारण श्रीमानबाट पीडित महिलाले पहिले त हामीलाई खबर गर्नुप-यो । घरको कुरा थाहा पाउन अलिक अप्ठ्यारो हुन्छ । घरेलु हिंसामा परेको कुरा पीडित महिलाले भन्न नसकेमा छिमेकीले पनि खबर गरिदिनुप-यो । बाँकी काम हामी गर्दछौँ। घटना र हिंसाको प्रकृतिअनुसार कानुनी कारबाही हुन्छ । पीडित महिलालाई राज्यले हेर्नुपर्छ ।

पुलिसले घरेलु हिंसाका उजुरी नै दर्ता गर्र्न मानेन भने तपाईंकहाँ कसरी आउने ?

कानुनले मिलेर बस्न सक्ने अवस्था छ भने सम्झाइबुझाई पुनः घर पठाउन भनेको छ । त्यो राम्रो गर्नका लागि हो । तर, कहिलेकाहीँ नराम्रो पनि हुन्छ । पुलिसले उजुरी दर्ता नगर्ने भन्ने हुँदैन ।  एउटा अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालका अधिकारकर्मी महिलाले नेपालको पुलिसले काम गर्दैनन् भन्नुभयो । त्यसपछि मैले भने कुन ठाउँको पुलिस हो भन्नुस् त्यसलाई कारबाही गर्नुपर्छ । कृपया त्यसको नाम दिनुस् भनेर मैले फ्लोरबाट प्रश्न गरेँ । उहाँ नेपालको प्रतिनिधि भएर बोल्नुभएको थियो । कहाँ र कुन पुलिसले गरेन प्रमाणसहित आउनुपर्छ । होइन भने एउटा अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको पुलिसले काम गरेन भन्न मिल्दैन ।

जहाँ गयो, त्यहाँ काम भएन भन्ने मात्र आउँछ । त्यसपछि मैले अपराध महाशाखाबाट गर्न मिल्ने सबै काम गर्छु भनेर ११७७ (विदेशको लागि ९७७-११७७ ) हटलाइन सेवा सुरु गराएको हुँ ।

जिउँदै आगो लगाउने श्रीमानसँग पुलिसले घर पठाएका घटना पनि छन् । यस्तो जघन्य अपराधमा पनि मेलमिलाप हुन्छ ?

यस्तो त हुँदैन । म जिम्मा लिने ठाउँमा परिनँ भन्न पनि सक्दिनँ । तर, मेरो क्षेत्र अधिकारभित्र यस्तो हुनेछैन ।

नेपालले २३ वर्षपछि फुटबल जित्नुमा तपाईंको पनि योगदान छ । फुटबल टिममा पुरुषको ठूलो सम्मान भयो । तर, दुई स्वर्णसहित ३७पदक जिल्ने महिलालाई वास्तै गरिएन नि ?

महिलाले राष्ट्रका लागि गरेको योगदानको सम्मान गर्नुपर्दथ्यो । (बोल्दै गर्दा उहाँले गला अवरुद्ध पार्दै केही समय रोकिएपछि भन्नुभयो, साँच्चै भनौँ यो कुराले भावुक बनायो ) पुरुष खेलाडीलाई जसरी सम्मान गरियो, त्यसैगरी महिला खेलाडीलाई पनि गरिएको भए देशको कति ठूलो शान हुने थियो । (यत्तिकैमा फेरि बोल्न रोकिएर उहाँ पानी पिउँदै ) महिला खेलाडीमाथि गरिएको विभेदविरुद्ध आवाज उठेको छ, तर प्रभाव पार्ने गरी उठ्न सकेन । यो विडम्बना नै मान्नुपर्छ । वास्तवमा महिलाको उत्थानबिना समाजको विकास हुँदैन भन्ने सोच सबैमा ल्याउनु जरुरी छ ।

सामाजिक सञ्जालमार्फत महिलालाई फोहोरी म्यासेज पठाउनेलाई हतकडी लगाएर मात्र हल होला समस्या ?

पहिलो कुरा त जनचेतना नै हो । सामाजिक सञ्जालमा जाँदा नचिनेको मान्छेलाई साथी बनाउनुभएन । सक्कलीभन्दा नक्कली आईडी बनाएर खराब मनोवृत्तिका मानिसले काम गरिरहेका हुन सक्छन् भनेर बुझ्नुपर्यो  ।
कसैले साथी बन्नका लागि अनुरोध पठायो भने उसको स्टाटस त चेक गर्नुपर्यो नि । बिनाकामै साथी किन बनाउने ? तीन–चार महिनामा पासवर्ड चेन्ज गर्ने र अनावश्यक कुरा लेख्नुभएन । सामाजिक सञ्जाल केका लागि र कति प्रयोग गर्ने भन्नेमा आफैँ सचेत हुनुपर्छ ।

समाजमा आपराधिक कार्य गर्नमा महिलाको प्रयोग बढेको हो ?

पहिलाभन्दा बढेको छ । महिला बेचबिखनमा महिलालाई नै प्रयोग गरिएको छ । म्यानपावरमाथि गरिएको प्रहरी अप्रेसनमा मैले एउटा अध्ययन पनि गरिरहेको छु । मानव तस्करमा कसरी र कस्ता खालका मानिस छन् । दलाली गर्न महिला लागेका छन् । यो पनि भोलिका लागि एउटा चुनौती नै हो । तर, तुलनात्मक रूपमा एकदमै कम महिलाले यस्ता काम गरेका छन् । यो हप्ता हामीले बेचिन लागेका महिलाको उद्धार गरेका छौँ । जसको उद्धार गर्यौं ती किशोरीलाई महिलाले नै गाउँबाट काठमाडौं ल्याएका थिए । कतिपय ठगीको केसमा महिलालाई अगाडि सार्ने काम भएको छ । जस्तै पैसाको कारोबार कन्सल्टेन्सीमा महिलालाई अगाडि राखेर खाता खोल्ने र महिलाको खातामा पैसा पठाउन लगाउने अनि पैसा लिएर पुरुष भागेका मुद्दा पनि छन् । महिलालाई बढी विश्वास गर्ने भएकाले यस्तो काम गरिएको देखिन्छ । यसमा जनचेतना जगायो भने पुग्छ ।

विदेशमा नेपाली महिला हिंसामा परेको कुरा सुन्दा एउटा प्रहरी अधिकृतका रूपमा तपाईंलाई कस्तो लाग्छ ?

अत्यन्तै पीडा हुन्छ । राज्यको माथिल्लो निकायमा बसेर अपराध गर्ने मान्छे छन् । बदमासहरूको पहुँच राज्यको माथिल्लो निकायसम्मा हुने गर्छ । विदेशमा गयो स्टेट कन्सुलरदेखि राजदूतसँग उनीहरू नै पुगेका हुन्छन् । तर, पीडित कहाँ जाने ? म त मानव तस्कर स्वीप गर्न नै लागेको छु । काम गर्न थालेपछि धेरै लाग्दैन । सबै मिलेर गरौँ । चोर र दलालको जालो तोडियो भने पीडितलाई न्याय दिन सकिन्छ ।

यिनीहरूलाई हतकडी लगाएर मात्र समस्या समाधान होला त ? 
मुख्य कुरा यिनीहरूको जालो तोड्ने हो । यिनीहरूको माथिल्लो ग्रुप नै खोरमा हाल्ने र समाजबाट विस्थापित गर्ने वातावरण तयार पार्नुपर्छ । ठूला दलाल र ठगहरू  समाजमा सभ्य  भएको सान देखाउने  वातावरण समाप्त गरिदिनुपर्छ ।

फागुपूर्णिमा आउँदै छ । फोहोर पानी हानेर, महिला घरबाहिर निस्कनै गाह्रो । यस्ता गतिविधि रोक्न उपत्यकामा प्रहरीको के छ योजना ?

यसपालिको फागुमा महिलालाई केही हुँदैन । व्यापक प्रहरी परिचालन हुन्छ । जबर्जस्ती गर्नेलाई नियन्त्रण गरिन्छ । ढुक्क भएर हिँड्नुस्, प्रहरी महिलाका साथमा छ ।

प्रस्तुति अरुणा रायमाझी / 
 स्रोत : महिलाखबर