के हुदैछ, कांग्रेसमा ?



फाल्गुन, फेब्रुअरी १९ | कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति रामचन्द्र पौडेलले अनौपचारिक रूपमा बिहीबार सभापतिको उम्मेदवारी घोषणा गरेका छन्। देउवाले बुढानीलकण्ठस्थित आफ्नै निवासमा र पौडेलले अनामनगरस्थित सम्पर्क कार्यालयबाट उम्मेदवारी घोषणा गरेका हुन्। दुवै नेताले औपचारिक घोषणा भने पछि हुने बताए।

देउवाले उम्मेदवारीसहित आफ्नो अभियान घोषणा गरेको जानकारी पाएपछि पौडेलले पनि पत्रकार भेटघाट आयोजना गरी त्यस्तै जानकारी गराएका थिए। देउवाको कार्यक्रम भन्दा ५ घण्टापछि आयोजित पत्रकार भेटघाटमा पौडेलले औपचारिक घोषणा पछि हुने भन्दै आफ्नो उम्मेदवारीको औचित्यबारे सञ्चारकर्मीलाई जानकारी गराएका थिए।

उम्मेदवारीका कारणबारे दुवैले दिएका तर्क र धारणा करिब समान छन्। दुवै नेताले सञ्चारकर्मीलाई अनौपचारिक भेटघाट भन्दै बोलाएका थिए। तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधन भएको १३औं दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने पार्टी निर्णयअनुसार दुवै पक्षले भेटघाटलाई अनौपचारिक रूपमा लिन आग्रह गर्दै आफ्ना धारणा राखेका थिए।

देउवाले पार्टी नेतृत्वमा सहमति कायम गर्न कार्यवाहक सभापति रामचन्द्र पौडेललाई प्रधानमन्त्रीमा सहयोग गर्ने प्रस्ताव गरेको बताए। ‘म पार्टी सभापति र रामचन्द्रजी प्रधानमन्त्रीमा बस्दा पार्टी एकताको सन्देश पनि जान्छ र पार्टी एकढिक्का पनि हुन्छ,’ सञ्चारकर्मीमाझ देउवाले भने, ‘सहमतिकै लागि रामचन्द्रजीलाई प्रधानमन्त्रीमा सहयोग गर्न म चाहन्छु।’

ठीक उस्तै शैलीमा पौडेलले पनि आफ्नो क्रियाशीलता पार्टीमै आवश्यक रहेको बताए। उनले भने, ‘बरु देउवाजीले नै प्रधानमन्त्री या राष्ट्रपतिमा बसेर मलाई सहयोग गर्नुहोस्, त्यसरी पनि सहमति हुन सक्छ।’ पौडेलले प्रधानमन्त्रीको लोभ लालचमा आफू नफस्ने बताए। पार्टीको १३औं महाधिवेशन नजिकिँदै गर्दा दुवै नेताले आ–आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्ने प्रयास थालेका छन्।

देउवाले पार्टीलाई एक बनाउने र अहिलेका राष्ट्रिय मुद्दालाई सम्बोधन गर्ने प्राथमिकताका साथ आफू सभापति हुन चाहेको धारणा राखेका थिए। ‘हिजो को कहाँ थियो भन्ने आधारमा होइन, योग्य, क्षमतावान् सबै साथीलाई म समेटेर अघि बढ्छु। कसैलाई काखा र पाखा गर्दिनँ,’ पार्टी एक बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै देउवाले भने, ‘हिजोजस्तो पार्टीलाई अनिर्णयको बन्दी हुन म दिन्नँ, समयमा निर्णय गर्न नसक्दा सरकारबाट मनोनीत हुने सांसद गुमाउन पुग्यौं, भूकम्पले पुर्‍याएको क्षतिको पुनर्निर्माण गर्ने प्राधिकरणका सीईओ गुमाउन पुग्यौं।’

पौडेलले पनि योग्य र क्षमतावान्लाई ठाउँ दिएर पार्टीभित्र मौलाएको भागबन्डाको अन्त्य गर्ने आफ्नो मुख्य योजना रहेको बताए। विगतमा आफ्नो मध्यमार्गी भूमिकाका कारण दुवै पक्षका नेता तथा कार्यकर्ताका लागि आफू सहज हुने तर्क उनको थियो। ‘अहिलेको मुख्य आवश्यकता नै एकताको छ। पार्टीमा भएको भागबन्डा अन्त्य गरी एक बनाउन मेरो हस्तक्षेपकारी भूमिका हुनेछ,’ पौडेलले भने।

संविधान निर्माणको नेतृत्व कांग्रेसले गरेको र त्यसलाई कार्यान्वयन गर्ने दिशामा पनि कांग्रेसकै नेतृत्व आवश्यक रहेको ठम्याइ देउवा र पौडेल दुवैको थियो। सरकारबाहिर रहेर पनि संविधान कार्यान्वयनको नेतृत्व दिन सक्ने सबल र सक्षम पार्टी बनाउने अठोट दुवै नेताले राखे। आवश्यक परेमा सरकारको नेतृत्वसमेत लिन सकिने आशय उनीहरूको थियो। देउवाले मधेस, थारू, महिला, जनजाति, दलितलगायतको समस्या समाधानका लागि  आफ्नो तत्परता र अग्रसरता रहने बताए। भने, ‘राष्ट्रिय मुद्दाहरूलाई समाधान गर्दै देशलाई एक बनाउने काम म गर्न सक्छु।’ सबै राजनीतिक दललाई मिलाएर अघि बढाउन आफ्नो कार्यशैली र लचकताले काम गर्ने बताउँदै देउवाले सीमांकनका विषयलाई पनि मिलाएर लैजाने अठोट राखे।

पौडेलले संविधानले ल्याएको परिवर्तनलाई कार्यान्वयन गर्न आफ्नो क्रियाशीलता अघि बढाउने बताए। औपचारिक घोषणा गर्दा आफ्नो उम्मेदवारीसँग आफूले लिने नीति, विचार र दृष्टिकोण सार्वजनिक गर्ने उनले बताए। महाधिवेशनको मुखमा आफूइतर पक्षबाट केही पूर्वाग्रही आरोपहरू आएको बताउँदै देउवाले त्यसको पनि खण्डन गरे। दरबारमा लगेर प्रजातन्त्र बुझायो भन्ने आरोपको खण्डन गर्दै देउवाले त्यतिबेला चुनाव सार्ने पक्षमा स्वयं तत्कालीन सभापति सुशील कोइराला र गोविन्दराज जोशीको पनि हस्ताक्षर भएको बताए।

चुनावको मिति सारेकै कारण तत्कालीन राजा ज्ञानेन्द्रले ‘कू’ गरी शासन सत्ता लिएको आरोप देउवामाथि लाग्दै आएको छ। ‘आरोपको पनि एउटा हद हुन्छ। हुँदै नभएको आरोप अहिले मलाई किन लगाइँदै छ? देउवाले भने, ‘निर्वाचित सरकार अपदस्थ भएको बीपी र मेरै पालामा हो। त्यसो भए बीपीलाई पनि प्रजातन्त्र राजालाई बुझायो भन्ने?’

संस्थापन पक्षभित्र सभापतिको उम्मेदवारमा सर्वसम्मत भइनसकेका कारण पौडेल देउवाको तुलनामा खुलेर बोल्न सकेनन्। संस्थापन पक्षबाट महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला सभापतिका आकांक्षी छन्। उनीहरूलाई व्यवस्थापन गर्न पौडेललाई हम्मेहम्मे भइरहेको छ।

देउवाको पत्रकार भेटघाटमा केन्द्रीय सदस्य विमलेन्द्र निधि र तत्कालीन सहमहामन्त्री (प्रधानमन्त्री निर्वाचनमा कांग्रेसको उम्मेदवारीप्रति असहमति जनाउँदै सहमहामन्त्रीबाट राजीनामा दिएका) पूर्णबहादुर खडका र सांसद रमेश लेखक सहभागी थिए। पौडेलको पत्रकार भेटघाटमा भने प्रभावशाली नेता कोही थिएनन्। सांसदहरू यज्ञबहादुर थापा, जीवन परियार, चन्द्रदेवी जोशीलगायत उपस्थित थिए। दुवै पक्षले अंकगणितमा पनि आ–आफ्नो समूह बलियो रहेको तर्क गरे। पौडेलले जिल्ला सभापतिमा चालीसभन्दा बढी जिल्लामा संस्थापन पक्ष आएको बताए। तर, देउवा पक्षले जिल्ला केन्द्रीय नेतृत्व चयनमा जिल्ला अधिवेशन नभएर क्षेत्रीय अधिवेशन नै मुख्य इन्डिकेटर रहेको बताए।

संस्थापनमा मिलाउन पौडेल सक्रिय

संस्थापन पक्षबाट सभापतिका उम्मेदवारका आकांक्षीलाई व्यवस्थापन गर्न पौडेलले कसरत थालेका छन्। सभापतिका आकांक्षी देखिँदै आएका महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य सुजाता कोइरालासँग पौडेलले बिहीबार छुट्टाछुट्टै वार्ता गरे। सिटौलासँग पार्टी कार्यालय सानेपा र सुजातासँग आफ्नै निवास बोहोराटारमा कुराकानी भएको स्रोतले बतायो। अर्का आकांक्षी महामन्त्री प्रकाशमान सिंहसँग भने बुधबारै कुराकानी गरेका थिए।

पौडेलले सिंहलाई उपसभापतिमा, कोइराला परिवारका तीन सदस्य मध्येबाट एक जनालाई निर्वाचित महामन्त्री र सिटौलालाई संसदीय दलको नेताको उम्मेदवार बनाउने गरी मिलाउने प्रयास थालेको स्रोतको दाबी छ। ‘महतलाई मनोनीत महामन्त्रीमा राख्ने र कोषाध्यक्षमा मधेसबाट प्रतिनिधित्व हुने गरी उम्मेदवारी दिने विषयमा छलफल चलिरहेको छ,’ स्रोतले भन्यो।

-कान्तिपुर दैनिकबाट