म्याग्दीको दाना र मुस्ताङ घाँसामा विमान दुर्घटना भएको आशंका, खोजी चल्दै

म्याग्दी, फागुन १२ – बुधबार बिहान पोखराबाट जोमसोमका लागि उडेपछि हराएको जहाजको खोजी भइरहेको छ । म्याग्दी र मुस्ताङ जिल्लाको सीमा क्षेत्रलाई आधार बनाएर हराएको जहाजको खोजी भइरहेको हो ।
म्याग्दी र मुस्ताङको दानास्थित सीमा क्षेत्रमा जहाज हराएको हुनसक्ने आशंकामा गरी नेपाली सेनाको हेलिकप्टर र एयर डाइनेष्टीको हेलिकप्टरले खोजी गरिहेका छन् । यसैगरी म्याग्दी, मुस्ताङ र पर्वतका सुरक्षा निकाय समेत खोजी कार्यमा जुटेका छन् ।
म्याग्दीको दानाको आकासमा बिहान जहाज उडेको आवाज सुनिएको आधारमा त्यसभन्दा माथिको भू–भाग र मुस्ताङको घाँसा क्षेत्रलाई आधार बनाएर खोजी गरिरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए ।
दानाको काभ्रेस्थित सोलेघोप्टे र दानाको रुप्से छहरामाथि गुगीखर्क भन्ने ठाउँमा आवाज सुनिएको भन्ने जानकारी आएको हुँदा ठाउँको यकिन हुन नसकेको प्रमुख जिल्ला अधिकारीको भनाई छ । अहिले ती दुवै ठाउँमा खोजीका लागि प्रहरी र सेनाको टोली परिचालन गरिएको उहाँले बताउए ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, प्रहरी नायव उपरीक्षक विश्वराज खड्कालगायतको सुरक्षा निकायको टोली घटनास्थलतर्फ गएको छ । बाक्लो हुस्सु लागेका कारण खोजी कार्यमा समस्या भएको छ ।