मर्ने कसैलाई रहर हुँदैन (फेसबुक सुसाइड नोट) -डा. बिजय ज्ञवाली

डा. बिजय ज्ञवाली 

घटना- १
“गर्ने सबैलाई विचार हुँदैन, तर गर्न खोजेकालाई साथ हुँदैन। राम्ररी गर तिमीलाई सबैले खेद्छ, स्वार्थमा कुद विरोध हुँदैन, मर्ने कसैलाई रहर हुँदैन”

गत मार्च २४ मा मोफसलमा बसेर पत्रकारिता गर्ने एक पत्रकारले आफ़्नो जीवनको अन्त्य गरे। माथिको वाक्य उनले फेसबुकमा मार्च २१ मा लेखेका हुन्। १९ पटक सेयर गरिएको स्टाटसलाई १९ जनाले लाइक र ३ जनाले कमेन्ट गरेका छन्। कमेन्ट गर्ने अधिकांशले तपाईले ठीक भन्नुभो भन्ने भाव प्रकट गरेका छन्। ४९५ जना साथी भएका उनले चरम निराशा प्रकट गरेर आफ़्नो भावना फेसबुकमा राख्दा पनि उनको आत्महत्या रोक्न सकिएन।


घटना -२
“जाँदैछु टाढा धेरै टाढा याद बोकेर, अब आउँदिन कहिले फर्केर”

यो वाक्य  विद्यार्थीको रुपमा जापान आएका एक जनाले आत्महत्या गर्नु पूर्व लेखेको फेसबुक स्टाटस हो। फेसबुकमा थुप्रै साथी बनाएका उनको त्यो स्टाटसमा कसैको कमेन्ट छैन। आफ्नो जीवन अन्त्य गर्नु पूर्व नै त्यसको संकेत गरेका सुरजको जीवन रक्षा गर्न सकिएन।



भौगोलिक रुप भिन्नाभिन्नै देशमा भएका दुई नेपालीको आत्महत्याका घटनामा यी अन्तिम शब्दहरुमा दुई समानता पाइन्छ। यी शब्दहरु सबै आत्महत्या गर्नेले आत्महत्या गर्नु पूर्व फेसबुकमा लेखेका स्टाटस हुन् र दुवै स्टाटसमा चरम निराशा झल्किन्छ।

विगतमा लेखिएका लामा-लामा आत्महत्या नोटको स्थान आजकल फेसबुकको छोटा स्टाटसले लिन थालेको छ। प्रविधिको प्रयोगसँगै बन्द कोठामा लेखिने आत्महत्या नोट अब सार्वजनिक सोसल साइटमा लेखिन थालेको छ।

यसरी सोसल साइटमा आमहत्याको पूर्व सूचना दिंदा पनि आत्महत्या रोकिन नसक्दा यस्ता साइटहरु पनि आलोचित हुन थालेका छन्। त्यसैले कसरी आवश्यक सहयोग जुटाएर जीवनको रक्षा गर्न सकिन्छ भन्ने विषयको अनुसन्धानमा यतिबेला ती सोसल साइट पनि केन्द्रित हुन थालेका छन्।

फेसबुक आफैले यो विषयमा पहल पनि गरिरहेको छ, जसमध्ये अमेरिकाको वासिङटन विश्वविद्यालयसित मिलेर फेसबुकमा एउटा अनुसन्धान नै सुरु भएको छ। यसमा कसैले आत्महत्याको संकेत गर्ने किसिमको फेसबुक स्टाटस राखेमा तुरुन्त उसको अन्य साथीहरुलाई केही पहल गर्न सूचना जाने र उसको फेसबुक मै आत्महत्या रोकथाम सम्बन्धी जानकारीहरु देखिने प्रक्रियाको निर्माणमा त्यो अनुसन्धान केन्द्रित रहेको छ।

यस्तै प्रकारको अनुसन्धान फेसबुकले अस्ट्रेलियामा पनि सुरु गरेको छ। गत महिनादेखि थालिएको यो अभियान कत्तिको सफल होला, त्यसको नतिजा आउन भने बाँकी छ। सोसल मिडियामा सूचित गरेर गरिने आत्महत्याको रोकथामको लागि उपयुक्त प्रविधि र एप्स निर्माण गर्नु अहिलेको निम्ति प्राविधिकको लागि पनि एउटा अवसर हुन सक्छ। नेपाली इन्जिनियर र प्राविधिक विज्ञको निम्ति पनि यो सुनौलो अवसर हुन सक्छ।

के गर्न सकिएला ?

यसका विविध पक्ष भएता पनि मेरो व्यक्तिगत विचारमा आत्महत्या रोकथामको अभियानमा लागेका म जस्ता अरु सामाजिक कार्यकर्ताको लागि यो एउटा अवसर पनि हो। बन्द कोठामा लेखिने आत्महत्या नोटको आधारमा आत्महत्या रोक्न कठिन हुन्छ तर समय मै उचित कदम चाल्ने हो र सामाजिक साइटमा लेखिने स्टाटसको आधारमा सम्भावित घटना पूर्व त्यसको पहिचान समयमा गर्न सक्ने हो भने आत्महत्या रोक्न सकिन्छ। तर यो प्रक्रिया सरल भने कदापी छैन।

आफ़्ना सोसल मिडियाका साथीले राखेको स्टाटसलाई हेरेर तुरुन्त आवश्यक कदम चाल्न सजिलो छैन। यसको निम्ति सर्वप्रथम स्टाटसकै आधारमा सम्भावित आत्महत्याकर्ताको पहिचान गर्नु प्रमुख चुनौती हुनेछ।

मैले केही अनुसन्धान रिपोर्टको आधारमा नेपालमा भएका केही घटनामा लेखिएका स्टाटस र मेरो विषय ज्ञानको आधारमा आत्महत्या गर्नु पूर्व लेखिने स्टाटसका केही सम्भावित पहिचानहरुलाइ निम्न अनुसार सूचीवद्ध गरेको छु-

१.सबैसँग अथवा निश्चित व्यक्ति विशेष सित बिदा मागेर लेखिएको,

२.आफ़्नो कर्तव्य पूरा गर्न नसकेकोमा पश्चाताप अथवा माफी,

३.आफू गएपछि आफ़्नो कर्तव्य अरुलाई सुम्पिएको भाव,

४.आफूले प्रयास गरेको तर नसकेको, थाकेको भाव,

५.केही निराशाजनक गीतका टुक्रा,

६.कसैको लागि अहिलेसम्मको सहयोगको लागि विशेष धन्यवादसहित बिदा मागेको भाव,

७.चरम निराशा देखिने भाव जस्तै जिन्दगी भारी भो, मलाई जिन्दगी पुग्यो, मैले धोका पाएँ, यो पीडा सहन गारो भो जस्ता शव्दको प्रयोग,


आत्महत्या गर्ने व्यक्तिको पहिचान भएमा अथवा शंका लागेमा उसको सोसियल मिडियाका साथीले केही पहल गरिदिएमा उसको जीवनको रक्षा गर्न सकिन्छ।

सर्वप्रथम यस्ता स्टाटस देखेर शंका लागेमा उनीहरुसित तुरुन्त सम्पर्क स्थापना गर्ने प्रयास गर्नुपर्छ। अहिले कहाँ हुनुहुन्छ? के गर्दै हुनुहुन्छ? भनेर कुरा गर्न अभिप्रेरित गर्नुपर्छ। एकान्त कोठामा भएको साथीलाई खुला हावामा निस्कन अभिप्रेरित गर्नुपर्छ।

सम्भव छ भने उसको नजिकको साथी र परिवारलाई उसको अहिलेको स्टाटसको बारेमा तुरुन्त जानकारी दिएर पछिल्लो स्थिति बुझ्न लगाउने गर्नुपर्छ। आत्महत्या रोकथामको आकस्मिक अवस्थामा गोपनियता भन्ने हुँदैन। तपाईँको साथीमाथि तपाईलाइ शंका लाग्छ भने यतिबेला आत्महत्या गर्न मन लागेको छ, हो ? भनेर प्रत्यक्ष सोध्न सक्नुहुन्छ। जीवनभन्दा ठुलो अरु केहि होइन |

यदि हो भनेमा थप प्रश्न सोधेर तत्काल आपतकालीन सहयोगको स्रोत जुटाउने प्रयास गर्नुपर्छ। अन्य अवस्थामा तपाईँका सोसल मिडियाका साथीहरु पटक पटक निराशाजनक स्टाटसहरु राख्छन् भने उनीहरुलाई मनोविज्ञको सल्लाह लिन अभिप्रेरित गर्नुहोस्।

कसैको जीवनको रक्षा गर्नु अथवा बाँच्न सजिलो बनाउनु यो संसारमा भएका कार्य मध्येका उत्तम कार्य हो। सोसल मिडियामार्फत् यो कार्य गर्न सकियो र पूर्वसुचित आत्महत्या रोक्न सकियो भने हामी सही अर्थमा सोसल मिडिया साथी भन्न सक्छौं। साथी हुनुको वास्तविक महत्व रहन्छ |

(लेखक क्लिनिक मनोविज्ञ हुन ऊनले जापानमा नेपालीको बढ्दो आत्महत्या नियन्त्रणका लागी मानसिक रोग तथा आत्महत्या रोकथाम अभियान सन्चालन गरिरहेका छन् |)

प्रस्तुती: ह्याप्पी बन्धु 'विश्व'