नेपाल अमेरिका एकता समाजका अध्यक्ष सुर्य प्रसाईसंगको अन्तरबार्ता


नेपाल अमेरिका एकता समाजका नव निर्वाचित अध्यक्ष सुर्य प्रसाई लस एन्जल्स वरिपरीका नेपालीहरुका लागी नयाँ नाम होइन | यस क्षेत्रमा रहेर नेपालीहरुका हरेक समस्यामा आफुलाइ अग्रपंक्तिमा राखेर सामाजिक सेवामा सक्रिय प्रसाईसंग उहाँ निर्वाचित भएपछि द नेपाल टुडेका लागि सतिश चापागाईले गरेको अन्तरबार्ता प्रस्तुत छ :

१. अमेरिकाका संघ संस्थाहरुको निर्वाचनमा सर्बसम्मत र निर्बिरोध भन्ने कमै हुन्छ, तपाई भने निर्बिरोध निर्बाचित हुनुभयो | यो कसरी सम्भब भयो ?

सर्वसम्मत, समझदारी तथा सहकार्य आफैमा अत्यन्तै सकारात्मक कुरा हुन्  | अध्यक्ष पदको नेतृत्वमा म लगायत संस्थाकी महासचिब इन्दिरा त्रिपाठी र कोषाध्यक्ष झमक निरौला जी गरि हामी तिन जना थियौ | प्रजातान्त्रिक पद्धतिको सुन्दर पाटो निर्वाचन त २१ फेब्रुअरीमा छदै थियो | लस एन्जल्समा सामाजिक नेतृत्व लिनु हुने हाम्रा अग्रज मान्यजन र साथीहरु, संस्थाका आम साधारण तथा आजीवन सदस्य, संस्थापकहरुको चाहनाका खातिर मेरा दुवै आत्मिय मित्रहरुले मेरो नेतृत्व स्वीकार गरिदिनु भएकोले यो सम्भब भएको हो | निर्णायक निष्कर्षमा पुर्याउने काम संस्थाका संस्थापक प्रकाश घिमिरेले गर्नु भएको हो | एकका विरुद्ध अर्कोले उम्मेदवारी नदिएको अबस्थामा अध्यक्ष पद बाहेकका सबै पदमा निर्विरोध निर्वाचित सम्भव भयो | खास गरि जुन सुकै सामाजिक संस्थाहरुमा संस्था समुदाय प्रति उत्तरदायी र जवाफदेही हुनु पर्दछ र समुदायको भावनाको सम्मान गरिनु पर्दछ | अनि मात्र समुदाय र संस्था बिचको सम्बन्ध सुमधुर हुन पुग्दछ |

२. नेपाल अमेरिका एकता समाजका बारेमा छोटकरीमा बताई दिनुस न !

विधिवत रुपमा २५ अगस्ट २००९ मा स्थापना भएको यो संस्था नेपाली भाषी समुदाय माझ हाम्रा चाड-पर्व, संस्कृति-परम्परामा सबै नेपाली कसरि एकै थलोमा भेटघाट हुन सकिन्छ र आफ्ना सुख दुख तथा पर्व विशेषमा शुभकामना साटासाट गर्ने मिलन बिन्दुका रुपमा यो संस्थाको जन्म भएको हो | यद्धपि संस्थाको जन्म भए लगत्तै यसका जिमीवारी र दायित्वका दायरा समेत दिनानु दिन फराकिलो बन्दै गएको छ  | सांस्कृतिक  पर्व तथा मानवीय सेवा र अन्य सामुदायिक गतिविधिका साथ आठ बर्षको दौरानमा शान्तिराम ढकाल, उमा कार्की थापा हुँदै शारदा श्रेष्ठको नेतृत्व २१ फेब्रुअरीबाट विधिवत रुपमा समाप्त हुँदैछ  | १४५ आजीवन सदस्य तथा ३३५ साधारण सदस्य माझ उभिएको यो संस्थाको नया नेतृत्व सम्हाल्न आइपुग्दाको अवस्था सम्मलाई हेर्ने हो भने समुदाय सदस्यबाट मेरो नेतृत्वको कार्य समितिलाई महत्वपुर्ण जिम्मेवारी र आशाका साथ हेरिएको छ  | कुसल नेतृत्वले संस्थाको गरिमा र प्रतिष्ठालाई गौरवान्वित बनाउदछ । खासगरि लस एन्जल्सको सेरोफेरोमा हामी जो नेतृत्वदायी भूमिकामा छौ, पहिलो पुस्ताका रुपमा स्थापित छौ । भोलिको हाम्रो समाज कुन दिशातर्फ बढाउने त्यो हाम्रै जिम्मेवारी हो र यस अर्थमा हाम्रा लागि थप दायित्व पनि छ । एकता समाजको नेतृत्व चयन मार्फत  लस एन्जलसबाट  अमेरिका भरिका सामाजिक संस्थाहरुमा एकताको संदेश दिन जरुरि थियो र यो सम्भव नि भयो |

३. यो संस्थाको नेतृत्व लिनुको उद्देश्य के हो ?

खासगरी बढ्दो नेपाली समुदाय माझ सामाजिक संस्थाको महत्व, गरिमा तथा समुदाय र संस्था बिचको आत्मिय सम्बन्ध दरिलो बनाउदै समुदाय सदस्यहरुका साझा समस्या लाई निराकरण गर्न सामुहिक हातेमालोबाट मात्र सम्भव छ  | सामाजिक प्रतिष्ठाका लागि गरिने चुनावी तालमेल र  समूहको उत्पादनले समुदायलाई विभक्त बनाउने काम मात्र गर्दछ    | नेतृत्वका लागि बनाइने सदस्य र जितका लागि निर्माण गरिने गुट र उपगुटले समुदाय र संस्थालाई हानी मात्र गर्दछ  | समुदायलाई द्वन्द होइन शान्ति चाहिएको छ  | समुदायको भावना  अनुकुलको नेतृत्व र कार्यक्रम नै सफल नेतृत्व हो  | यो पृष्ठभूमिमा लस एन्जल्समा नेपाल अमेरिका एकता समाजको नेतृत्व निर्माणमा  हामीले यस अघि गरेका अभ्यासबाट पाठ सिक्दै जुझारु र  क्रियाशील   नेतृत्वको आबस्यकता थियो भन्ने मेरो बुझाई हो  | कुशल र मर्यादित नेतृत्व नहुँदा संस्थाको गरिमा र मर्यादा  घट्दछ र समुदायबाट संस्था प्रतिको आकर्षणमा कमि आउछ  | कहिँ न कहिँ , कुनै न कुनै रुपमा पछिल्लो अबस्थामा एकता समाजमा हामीले यो भोगेको अवस्था हो   | आउने नेत्रित्वलाई  संस्था प्रतिको समुदायको घट्दो साख उचो बनाउने चुनौती त छदैथियो नै , संस्थागत संरचनालाई दरिलो बनाउदै समुदाय केन्द्रित ठोस कार्यको प्रारम्भ गर्नु नि आजको आबश्यकता भै सकेको सन्दर्भमा मैले केहि राम्रा र समुदाय केन्द्रित हुने गरिका कार्य प्रारम्भ गर्ने उद्देस्य र दृढताका  साथ म मा नेतृत्वमा आउने रहर पलाएको हो   |


४. तपाईले आगामी दिनमा यो संस्था मार्फत के गर्न चाहनुहुन्छ ?

गर्नु पर्ने काम धेरै छन्  |  पहिलो तिन महिना म र मेरो कार्य समिति,  संस्थाको आन्तरिक संरचना दरिलो बनाउने कार्य  र विधान संसोधनमा जुट्ने छौ र आगामी दुइ बर्षको लागि कार्य योजना बनाउनेछौ | संस्था संचालनको पारदर्शीतामा जोड दिदै सामुहिक नेतृत्व तथा  समान र सम्मान जनक हातेमालोका लागि समुदाय सदस्यहरुको मन जित्न सक्ने गरिका समुदाय केन्द्रित तत्कालिन कार्यलाई प्राथमिकता दिनेछौ | संस्थाको नेतृत्व लिएको हैसियतमा यस अघि मैले सार्वजनिक गरेको आफ्नो प्राथमिकता र प्रतिवद्धतालाई कार्यसमिति मा पेश गरिने छ  | कार्यसमितिका अरु साथीहरुले बनाउनु भएका कार्य योजना समेत समावेशगरि प्राथमिकताका आधारमा व्यापक छलफलका लागि संस्थाका सदस्यहरुमा पठाउने छ  र सदस्यहरुको राय सल्लाह सुझावपछि संस्थाको कार्य योजना मानी काम शुरु गर्छौ  |

५ . नेपाल अमेरिका एकता समाज मार्फत तपाइको कार्यकालमा हुने एउटा मुख्य काम के हो ?

हामीले हाम्रो नेपाल अमेरिका एकता समाजलाई समुदाय सदस्य माझ स्थापित गराउन समुदाय केन्द्रित कार्य मा जोड दिनु आजको आवश्यकता हो  | मेरो प्राथमिता र प्रतिवद्धतामा केहि दिर्घ कालिन योजना अघि सारेको छु , जुन तेती सहज छैन र हेर्दा महत्वाकांछी झैँ लाग्न पनि सक्छ तर असम्भव नि छैन | सम्पूर्ण साउथ्रन क्यालिफोर्नियावासीको  प्रतिष्ठा र मर्यादा उठाउने गरिको कार्य मध्येको  एक विभिन्न सांस्कृतिक, धार्मिक र अन्य मनोरन्जनात्मक कार्यक्रम एकै थलोमा गर्ने गरिको नितान्त नेपाली शैली र कला झल्कने गरिको " नेपाल अमेरिका एकता समाज सामुदायिक भवन " निर्माण गर्न मेरो नेतृत्वले नेतृत्व गरेकै दिन देखि कार्य प्रारम्भ गर्नेछ । नेपाल अमेरिका एकता समाजले गर्ने हरेक कार्यक्रममा सामुदायिक भवन निर्माणको दिर्घकालिन योजनालाई मूल मन्त्र मानेर कार्य गरिनेछ | यद्दपि यो मेरो कार्यकालमा सम्भव छैन तर यसको आबश्यकता र औचित्यमा म खुल्ला वहस गर्न तयार छु र यसको प्रारम्भिक रुपरेखा र कार्य योजना समुदाय सदस्य माझ लगिनेछ | स्थानीय नेपाली तथा अमेरिकी समुदाय सदस्य , नेपाली तथा अमेरिकी सहयोग दाता , सिटि अफिस , काउन्टी अफिस , राज्य सरकार र सम्बन्धित अन्य गैर सरकारी र सरकारी तथा नेपाल सरकार समेतको संलग्नतालाई आव्हान गर्दै यो कार्य प्रारम्भ गरिनेछ |

,