म्याग्दीको नारच्याङमा सुख्खा पहिरो

म्याग्दी, फागुन ११ – म्याग्दीको नारच्याङ गाविस–१ मा पर्ने अन्नपूर्ण हिमालको बेसक्याम्पमा सुख्खा पहिरो गएको छ । सोमबार राति १२ बजेदेखि त्यस धुलोको मुस्लो उडिरहेको र अन्नपूर्ण साउथ हुँदै बग्ने घलेम्दीखोलाको पानी धमिलो भएको कारण बेसक्याम्पमा पहिरो गएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
पहिरो गएर आएको धुलोको कारण नारच्याङ, दाना र भूरुङ–तातोपानी गाविस क्षेत्र सबै धुलाम्मे बनेको छ । धुलोका कारण स्थानीय बासिन्दालाई घरबाट बाहिर निस्कन समेत निकै अप्ठ्यारो भएको छ । धुलोको ठूलो मुस्लो आएपछि घलेम्दीखोलाको ड्यामसाइडमा काम गर्ने कामदार राति नै भागेर नारच्याङको लेकगाउँ पुगेको स्थानीय बासिन्दाको भनाई छ ।