बेलायती राजकुमार ह्यारी बने गाउँको मुखिया

काठमाडौं चैत, ९-नेपाल भ्रमणमा रहनु भएका बेलायती राजकुमार ह्यारी अहिले लमजुङमा हुनुहुन्छ । पदयात्रामा रुची राख्ने राजकुमार ह्यारी गोर्खा सैनिकसँग समय बिताउन सोमबार लमजुङको गैडा पुग्नु भएको हो । उहाँ गैडा–७ लेउरानीकी भूतपूर्व गोर्खा सैनिककी विधवा मंगली तामाङ घरमा बसे । उहाँले गैडा–४ भीरकुनाबाट गैडा–७ को लेउरानीसम्म पदयात्रा गर्नु भएको थियो । त्यसक्रममा लेउरानीमा उहाँलाई गाउँ प्रमुख (मुखिया) बनाएर सम्मान गरिएको छ । राजकुमार ह्यारीलाई सम्मानार्थ लेउरानी गाउँको मुखिया बनाइएको हो । उहाँलाई गाउँलेले टाउकोमा सेटो फेटा लगाएर मुखिया बनाएका हुन् । उहाँले त्यसअघि भूकम्पले क्षति पुर्‍याएका गोर्खा सैनिकका घरको अवलोकन गर्नु भएको थियो ।