म प्रधानमन्त्री बन्दिन -सभापति देउवा


काठमाडौँ। काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आफु तीन पटक प्रधानमन्त्री भईसकेको भन्दै पार्टीका अरु साथीलाई त्यो अवसर प्रदान गर्ने आसय ब्यक्त गरेका छन् |  सरकारको नेतृत्व लिन हतार नगर्ने तर जनताका दैनिक जीवन नै अस्तब्यस्त भईरहेको पनि टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै देउवाले समय हेरेर उचित निर्णय लिने सोचमा आफु रहेको बताए |

सरकारको नेतृत्व लिने हतारमा छैनौ भन्दै देउवाले सरकार आफ्नै बोझले ढल्छ भने । हामी विपक्षीको भूमिका खेल्न चाहन्छौँ किनभने प्रजातन्त्रमा विश्वास गर्नेले बलियो विपक्षी भएको खण्डमा प्रजातन्त्र फस्टाउँछ, फुल्छ, कसैमाथि अन्याय हुन्दैन, उनले भने ।

रिपोर्टर्स क्लवको  साक्षात्कार  कार्यक्रममा शुक्रबार उनले सभापतिको आफ्नो कार्यकालमा कुनै पनि कांग्रेसी कार्यकर्ताले थिचोमिचो भोग्नु नपर्ने पनि स्पस्ट पारे | देउवाले भने -"मेरो कार्यकालका कसैलाई काखापाखा गरिने छैन। सबैलाई समेटेर म अगाडि बढ्छु। रामचन्द्र जी मेरो पूरानो र सिनियर साथी हो। उहाँको साथ लिएर नै म अगाडी बढ्छु |"

देउवाले रामचन्द्रसँग धेरै दुःख गरेको अनुभव भएको उल्लेख गर्दै आफूले त्यसको मूल्यांकन गर्ने बताए। उनले भने ‘उहाँले धेरै दुःख पाउनु भएको छ। उहाँसँग  लामो संघर्षको अनुभव छ।’ देउवाले भने ‘त्यसको मुल्याङकन हुन्छ। पार्टी पूर्ण एकताबद्ध भएर अघि बढ्छ । कुनै गुट र भागबण्डा हुँदैन।’

सभापति देउवाले भने– म पार्टीको सभापति हुँ । सबै नेता तथा कार्यकर्तालाई निर्धक्क भएर कुरा राख्ने अधिकार छ । सबैले गुनासो र अन्याय भएको कुरा राख्न पाउँछन् । कसैलाई पनि काखा र पाखा गर्दिनँ ।