प्रचन्ड कमरेड: जनयुद्दको क्षतिपूर्ति पाउँ


-सरगम भट्टराई

अचेल सबै नेतृत्वलाई सत्ते श्राप गरेर लेखिरहूँ लाग्छ । राम्रा कुरा लेखौं भने खोई के लेखौँ । एक थान खोटो संबिधान पाईएको छ , निल्नु न ओकल्नुको । त्यहि भएपनि नेपाल र नेपालीको गौरवमय उपलब्धिलाई छाती पिटेर खुशी मनाएकै हो ।

जनताले जनयुद्द चाहे चाहेनन् तर तत्कालीन माओवादीले चाह्यो, अर्थात प्रचन्डले चाहे । जनताले नेता कार्यकर्तालाई लुकाए, खुवाए । लोकतन्त्र पछि नयाँ नेपालमा धेरै सपनाहरु पूरा हुने आशामा कैयन शहीद भए भने कैयन अंग भंग ।

जे होस परिवर्तन भएरै छाड्यो, थोरै परिवर्तन जनताले पाए धेरै परिवर्तन नेता र उनीहरुका आसेपासेहरुले नै पाए । कर्णाली रोएको रोयै भो, सप्तरी दुखेको दुखै भो ।

दिनभरि श्रम गरेर खाने मेरा बा आमा शासक बर्गमा गनिए । मजदूरी गरि खाने मेरा काका शासक बर्गमा गनिए , हिजो स्कूल जाँदा ख़ाली खुट्टा र टालेको कट्टु लगाउने म बबुरो पनि समय अन्तरालमा ब्राह्मण सत्ताको आलोचित पात्र बनाईएँ ।

अन्त्यमा दुख सुख गरेर पढेपछि एक एक थान नागरिकता र पासपोर्ट पाएर म र म जस्ता लाखौं युवा परदेश भासियौँ, किनकी हाम्रो पहूँच राजनीतिमा भएन , हाम्रो पहूँच प्रशासनमा भएन ।
कोही हाम्रो नाम दुत्कारेर सिढी चढे, कोही हाम्रो नाममा धुरी चढे ।

अझ सदियौं देखि पछि परे पारिएका जाति र समुदायको त के कुरा रह्यो र ? बहुसंख्यक जनतालाई अझै पनि  संबिधानले छोएकै छैन ।

हिजो म र मेरा उमेर समूहहरुलाई बन्दुक बोकाईयो, एम्बुसहरु पड्काउन लगाईयो, तत्कालीन अवस्थामा बुर्जुवा शिक्षा भन्दै जनताका छोरा छोरीहरुलाई बिद्यालयबाटै छापामार युद्द लड्न लगाईयो।

लोकतन्त्र पछि जनजाति , दलित र सिमान्तिकृतहरुको नाममा त्यहाँ भित्रका टाठा बाठाहरुले रजाईँ गरे, केहि सिमित बाहुन क्षेत्रीहरुले दशकौ देखि रज़ाई गरेकै आधारमा कर्णालीका बाहुन हरु शासक बने , जसलाई संबिधान त  के  धान के हो भन्ने थाहा छैन ।

जनतालाई संघियता चाहिएको थियो या थिएन तर लादियो, अब पछि हट्न सक्ने अवस्था छैन भन्नुहुन्छ , हजारौं जनता मरे मारिए , अब फर्कने छैनन, तर जनताले चाहेको यति बिघ्न बेथिति होईन, यति बिघ्न अराजकता होईन।

कर्णालीको गरीबी र चेतना उस्तै, सप्तरीको अबिकास उस्तै, र ताप्लेजुंगको उपहास उस्तै हुन्छ भने, दिन दिनै भ्रष्टहरु उदाउने र निष्ठावानहरु अस्ताउने हो भने , नवयुवराजहरुले राजनीतिलाई ब्यापार बनाईरहने हो भने ,

भो प्रचन्ड कमरेड ! हाम्रा मरेका मान्छे फिर्ता गर्नुस, भाँचिएका हात खुट्टा र कुँडिएका मन फिर्ता गर्नुस, हाम्रा बेपत्ता चेलीबेटी र भाइहरु फिर्ता गर्नुस, ढलाएका शालिक र टावरहरु फिर्ता गर्नुस ,  हामीले दिएका सहानुभूति र सद्भाव फिर्ता गर्नुस । किनकी हामीले सबैभन्दा बढि बिश्वास गरेको पात्र तपाई नै हो ।

हामीलाई जुम्ला दुख्दा कपिलवस्तु रुने नेपाल दिनुस , सर्लाही हाँस्दा काठमांडौ मुस्कुराएको नेपाल दिनुस , पुरानै नेपाल दिनुस, हामी बुद्दका सन्तान हौ बिद्दताले देश बनाउँछौं, सिर्जनाले देश बनाउँछौँ ।

त्यसैले जनयुद्दले निम्त्याएको सबै क्षति एक एक गरि फिर्ता गर्नुस, किनकी तपाईंहरुबाट नयाँ नेपाल पाउने छाँट देखिएन । हामीलाई पुरानै नेपाल दिनुस , हाम्रा सबै गुमेका चिज फर्काईदिनुस , बिन्ती छ ! जनयुद्दको क्षतिपूर्ति जस्ताको तस्तै पाउँ ।