गगनले गल्ती गरेकै हुन् ?




प्रकाश श्रेष्ठ 

देश बनाउने भनेकै सुदृढ राजनितीक संयन्त्रबाट हो । जवसम्म राजनीतिले सही बाटो पहिल्याउन सक्दैन तवसम्म कुनै व्यक्ती विशेष र संस्था विशेषको पहलमा देशको समग्र विकाशले छलांग मार्न सक्दैन ।

अत: राजनितिक पार्टीले जिम्मेवार बनेर जनताको हितलाई सर्वोपरि ठानी काम जव सम्म गर्ने साहस गर्दैनन् र केवल व्यक्ती बिशेषलाई फाईदा हुनेगरि काम गर्न अभिप्रेरित हुन्छन् तवसम्म जतिसुकै उत्कृष्ट संविधान र कानुन बनेपनि त्यो केवल कागजको खोस्टो सिवाय केही हुँदैन । यतीवेला नेपालको प्रजातान्त्रिक ईतिहासमा सबैभन्दा महत्वपुर्ण योगदान पुर्याउने राजनैतिक पार्टी नेपाली काँग्रेसको महाधिवेशन चलिरहेको छ र खासगरी यतिवेला काँग्रेसले लिने भावी राजनैतिक, सामाजिक, आर्थिक नीतिभन्दा पनि नेतृत्व छनौटमै सबैको ध्यान केन्द्रित रहेको स्पस्ट दृश्य देख्न सकिन्छ।

लेखक 
वास्तवमा कुनै पार्टी वा संगठनलाई कुशल ढंगबाट अगाडी बढाउन संगठनको स्पस्ट नीति, लक्ष्य, रणनीति, भावी कार्यक्रम, कार्यदिशा, मार्गचित्रको साथै सक्षम नेतृत्व र कुशल संगठानात्मक संरचना हुनु जरुरी छ। यी तिनवटै कुराहरुको आपसी तालमेल राम्रोसँग मिल्न सकेन अर्थात् कुनै एउटा पक्ष कमजोर भयो भने अपेक्षित लक्ष्य हासिल हुन सक्दैन तथापी असल नेतृत्व हुन सकेमा बाँकी दुईवटा कुराहरुलाई समयसापक्षे परिवर्तन गरि अगाडी बढ्न सकिन्छ ।

यतीवेला सबैले चाहना राखेको भनेकै पहिला असल नेतृत्व आउनु पर्छ जसले काँग्रेसका विगतका कमिकमजोरीहरुलाई सच्चाएर आगामी दिनहरुमा देशलाई हाँक्न सक्ने कुशल ड्राईभरको भुमिका खेल्न सकोस् र कार्यकर्ता र जनतामा रहेको निरासालाई हटाएर जनताको तमाम अपेक्षाहरुलाई संबोधन गरि आर्थिकरुपमा समुन्नत नेपाल बनाउन असल भुमिका खेल्न सकोस् । अहिले नेतृत्वमा त्रिकोणात्मक भिडन्त देखा परेको छ जसमा संस्थापन पक्ष भनिनेहरु दुई भागमा बाँडिएर चुनावी मैदानमा अग्नी परिक्षा दिईरहेका छन् भने अर्कोतर्फ देउवा पक्ष भने एउटै समुह बनेर आफुलाई नेतृत्वको असल दावेदार भनि प्रस्तुत गरिरहेको छ ।

अहिलेको यो १३ औं  महाधिवेशनमा अधिकांश उमेरले युवा मानिने जमातहरु धेरै रहेकोले युवापंक्तीमा नेतृत्व हस्तान्तरण हुने धेरैले आशा गरेका छन् र त्यो समुह कृष्ण प्रसाद सिटौला र गगन थापाको समुह मानिएको छ । तथापी गगन थापाले जसरी सबै युवाहरुसँग घनीभूत छलफल गरेर त्यसबाट युवाहरुको एउटा सशक्त टिम बन्नु पर्थ्यो त्यस्तो भने हुन नसकेको तस्वीर युवाहरु विभिन्न समुहमा झुण्डको रुपमा आफुलाई खासगरी केन्द्रिय सदस्यको रुपमा उमेदवारी प्रस्तुत गरेको परिदृश्यले छर्लङ पार्छ । युवाहरुमा नेतृत्व जानु आवस्यक छ तर यती भनिरहँदा गगन मात्रै युवाहरुमा सर्वेसर्वा भने पक्कै होईनन् । बाहिरी चर्चामा कमै आएपनि बौद्धिक हिसाब र नेतृत्व क्षमता उनको भन्दाबढी रहनेहरु पनि नेपाली काँग्रेसमा छन्, तिनीहरुलाई पनि समेटेर उनी अगाडी बढ्नु पर्नेमा उनी कतै न कतै चुके जस्तो देखिन्छ ।

वि.स. २०४६ , २०६३ को जन आन्दोलनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने युवाहरु विश्व प्रकाश शर्मा, प्रदिप पौडेल, धनराज गुरुङ, देवराज चालिसे, चन्द्र भण्डारी, गोविन्द भट्टराई, किरण पौडेल लगायत थुप्रै युवाहरुमा कुशल नेतृत्व क्षमता, स्पष्ट भिजन, दृष्टिकोण, सोचको कमि छैन तथापी उनीहरुको योगदानलाई र आवस्यकतालाई नजर अन्दाज गर्नाले उनी यस महाधिवेशनमा युवाहरुलाई संगठित गरि नेतृत्व युवाहरुको हातमा पुर्याउने प्रयासमा अवस्य चुकेका छन् ।

जतिसुकै बाहिर सतहमा संस्थापन पक्ष र देउवा पक्ष वा गुरुपको अन्त्य गर्दै फ्लोर क्रस गरेर युवाहरुलाई वा राम्रा भनिने नेताहरुलाई छान्ने भने पनि गाउँ तहदेखि गुटहरुको प्रतिनिधित्व गरेर आएका महाधिवेशन प्रतिनिधीहरुले यस्तो मान्यतालाई अनुसरण नगरी आफुले प्रतिनिधित्व गर्ने गुटका उमेदवारलाई नै भोट दिने देखिन्छ | जुन विगत देखि कै परम्परा हो । यदी यसपाली पहिलाको भन्दा फरक प्रवृती भएमा त्यो पक्कै पनि राम्रो हुनेछ । यसरी हेर्दा रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलालाई संस्थापन पक्षको मतहरु बाँडिने छ | जसको कारण शेरबहादुर देउवा स्वत: सभापतिमा निर्वाचित हुने देखिन्छ, यदी अहिले कै माहोलमा कुनै परिवर्तन आएन भने ।

अर्कोतर्फ, महामन्त्री पदमा समेत तीन जना उमेदवारको कडा टक्कर जस्तो देखिए पनि स्वत: शसांक कोईराला र गगन थापालाई संस्थापन पक्षको भोट बाँडिने छ र केही पपुलर मत गगनले प्राप्त गरे पनि त्यो मतले उनकै शसुरा अर्जुन नरसिंह के.सी.लाई जित्न भने प्रयाप्त हुने छैन । यसरी हेर्दा गगन थापाले भन्दै आए जस्तो युवाहरुको नेतृत्वको सहभागिता केन्द्रिय समितीमा प्रवलरुपमा हुने सम्भावना भने देखिदैन ।

मुलत: उमेरले पनि युवा र सोच एवं बौद्धिक लेभलले पनि परिपक्क साथै गाउँले किसान, गरिव -निमुखा र दुरदराजमा बस्नेहरुका दैनिक समस्या बारे व्यवहारिक रुपमै जाने बुझेका माथी उल्लेख गरिएका युवाहरुलाई समेत समेटेर साझा प्रतिबद्धताका साथ यो महाधिवेशनमा प्रस्तुत हुन सकेको भए वास्तवमा गगनको सोच र भावी सपनाहरुलाई साहाकार पार्नलाई निकै महत्वपुर्ण अवसर बन्न सक्थ्यो ।


कम्तीमा पनि पार्टीको निती निर्माण देखि विगतमा पुर्याउँदै आएका तमाम योगदानलाई मध्यनजर राख्दै संस्थापन कै गुरुपलाई प्रतिनिधित्व आफुले गरेको हो भन्ने आम कार्यकर्ताको ठम्याईलाई प्रतिविम्वत गर्न अग्रसर भएको हो भने उमेरले पाका भएपनि अझै आफुलाई युवाकै हाराहारीमा प्रस्तुत गर्ने १७ पटकसम्म नजित्ने चुनावमा पार्टीले दिएको आदेश मान्ने रामचन्द्र पौडेलको साथमा रहेर महामन्त्री पदमा चुनाव लडेको भए कम्तीमा आफुलाई संस्थापनको पहरेदार मान्नेहरुका लागी र आम कार्यकर्ता एवं सर्वसाधरणले उनको निर्णयलाई त्यती असान्दर्भिक ठान्ने थिएनन् तर कृष्ण प्रसाद सिटौलासँग जसरी अप्रत्याशित रुपमा टिम बनाएर महाधिवेशनमा प्रस्तुत भए यसबाट कतै न कतै गगन पनि आफ्नो अन्तरआत्मादेखी भन्दा कसैबाट संचालित भएर त यो टिममा सहभागी भएका होईनन् भन्ने प्रश्न समेत उब्जेको छ ।

अन्त्यमा, आखिर राजनितीमा पदको आकांक्षी सबै नेताहरु नै हुन्छन् तथापी अहिले जे जस्तो ग्रुपहरु देखा परेपनि यस महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले आफ्नो विवेकको प्रयोग गर्दै गुटगत लेपनबाट आफुलाई टाढा राख्दै असल नेता छनौट गर्ने काम लाग्नु जरुरी छ । जो भष्ट्रचारको दलदलमा फसेको छ,  राज्यले जनताबाट असुलेको करको दुरुपयोग गरि काठमाण्डौमा आलिसान महल ठड्याउने काम र आसेपासेको हितमा मात्रा काम गरेको छ | सत्तामा पुगेर केवल भत्ता पचाउने र जनताको नाममा सिन्को समेत भाँचेको छैन, सत्तामा पुगेपछि एकपटक पनि गाउँमा पुगेर जनताको दु:खमा साथ दिएको छैन | त्यस्ता नेतालाई क्षणिक फाईदा र प्रलोभनमा परि भोट दिएर चुनाव जित्न कदापी सहयोग नगर्नु होला किनकी एकपटक लागेको बानीलाई सुधार्न समय लाग्छ र त्यो समय कुरेर बस्ने अव नेपाली जनतालाई फुर्सद छैन । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने अवस्था नआओस् भन्नाका लागी हामी सबै विदेशमा बस्ने नेपालीहरुको अनुरोध छ । सही नेतृत्व छनौट गर्नुहोस् र छनौट गर्दा गुटलाई हेरेर होईन, नेताको व्यक्तीगत क्षमता र जनता एवं पार्टी प्रतिको लगावलाई हेरेर छनौट गर्नमा आफ्नो अमुल्य मत खर्च गर्नुहोस् भन्दै महाधिवेशनको पुर्ण सफलताको कामना समेत गर्दछौ ।
   
बाल्टिमोर, मेरिल्याण्ड, अमेरिका

,