बिराटनगरमा एक चिहान


फाल्गुन २४, २०७२- ह्दय चन्द्रसिंह प्रधान लिखित चर्चित उपन्यास ‘एक चिहान’ नाटकका रूपमा विराटनगरको रंगमञ्चमा प्रस्तुत भइरहेको छ । रमेश बिजीले नाटकको रूप दिएको अनि वीरेन्द्र हमालद्वारा निर्देशन गरिएको पूर्णांकी नाटक यहाँको आरोहण गुरुकुलको नाटक घरमा प्रदर्शन भइरहेको छ ।

साम्प्रदायिक विद्वेष र एकअर्का प्रतिको घृणाभावको सेरोफेरोमा सामाजिक सद्भावको सन्देश दिने कथावस्तु भएको २०१२ सालतिर प्रकाशित उपन्यासको सन्देश अझै सान्दर्भिक हुने भएकाले नाटकका रूपमा प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।

उच्चमाध्यमिक तहको कक्षा ११ र १२ को पाठ्यक्रममा समेत समावेश भएको यो कृतिलाई नाटकका रूपमा अवलोकन गरेर विद्यार्थी, कलाप्रेमी सबैले सन्देश लिन सक्ने प्रस्तोता सांस्कृतिक संस्थानले जनाएको छ । फागुन १८ देखि सुरु नाटक प्रदर्शन २६ गतेसम्म जारी रहने आरोहण अध्यक्ष भैरव क्षत्रीले बताए । बिहान, दिउँसो र साँझ गरी दैनिक तीन प्रदर्शन भइरहेको छ । नाटक हेर्न विद्यार्थी, शिक्षक, अभिभावकलगायत नाटकका पारखीहरूको घुइँचो लाग्ने गरेको छ ।

कलाकारहरू रमेश केसी (मटारे), अन्जु रञ्जितकार, गोरन चौधरी, लक्ष्मी पाण्डे, विपिन घिमिरे, रोहित सुवेदी, सुशीला थापा, आकाश थापा, राजेन्द्र गर्तौला, लोकेन्द्र लेखक, सबनम सिलवाल, भरत लाखे, भरत कार्की, राजेश ठाकुर, सुभाष विष्ट, अञ्जली गिरीले खेलेका छन् ।