नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं चैत,९-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न चीनका लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।  चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले संविधान निर्माण पछि नेपाल आर्थिक विकास र प्रगतिको बाटोमा अघि बढेको भन्दै नेपालमा लगानी गर्न चीनियाँ ब्यापारी र लगानीकर्तालाई आग्रह गर्नुभएको हो । नयाँ संविधानले विदेशी लगानी र प्रविधि भित्र्याउन प्रोत्साहन गर्ने भन्दै उहाँले पूर्वाधार विकासमा त्यस्ता लगानी परिचालन गर्ने नीति समेत समावेश रहेको उहाँले बताए ।
उहाँले नेपालमा लगानी गर्ने चिनियाँ लगानीकर्ताले दक्षिण एसियाली बजारमा सहज पहुँच पाउने भन्दै कम लगानीमा उत्पादन गर्ने वातावरण नेपालमा रहेको बताउनुभयो । उत्पादन, जलविद्युत, पर्यटन, सेवा, प्रविधि, खानी तथा कृषि क्षेत्रमा लगानीको प्रशस्त वातावरण रहेको उहाँको भनाई छ ।
चिनियाँ लगानीकर्ताले  नेपालको भौगोलिक अवस्था, सस्तो श्रम शक्ति तथा न्युन उत्पादन लागतको फाइदा लिनसक्ने उहाँको भनाइ छ । उहाँले आफ्नो सरकार विदेशी लगानी सुरक्षित गर्न आवश्यक नीति परिमार्जन गर्न समेत तयार रहेको बताउँदै लगानीका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।