प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री स्वराजबिच पोखरामा भेटवार्ता

काठमाडौं चैत, ४-प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबिच भेटवार्ता भएको छ । बुधबार राति पोखरामा उहाँहरुबिच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री स्वराजबिच मात्रै (वान टु वान) झण्डै एक घण्टा छलफल भएको हो ।
पोखरामा बिहीबार हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको विदेशमन्त्री स्तरीय बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री स्वराज बुधबार पोखरा पुग्नु भएको हो । उहाँहरुबिच के विषयमा छलफल भयो भन्ने खुलेका छैन ।
भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीले भने दुई नेताबिच नेपालको नयाँ संविधानमा मिल्न बाँकी विषय, पुनर्निर्माणमा भारतीय सहयोग र आपसी हितका बारेमा छलफल भएको बताएका छन् । यस्तै सीमा सुरक्षाका बारेमा पनि छलफल भएको बुझिएको छ ।
भारतीय विदेशमन्त्री स्वराजले बुधबार राति नै उपप्रधान मन्त्री तथा परराष्ट्र मन्त्री कमल थापासँग पनि द्विपक्षीय भेटवार्ता गर्नु भएको छ । भेटमा विदेशमन्त्री स्वराजले परराष्ट्र मन्त्री थापाको नेतृत्वमा प्रदेश सीमांकन सम्बन्धी विवाद हल गर्न गठन भएको राजनीतिक समितिको कार्य प्रगति बारे चासो व्यक्त गर्नु भएको थियो ।