कांग्रेस महाधिवेशनका कान्छा प्रतिनिधि

काठमाडौं फागुन, १९- नेपाली कांग्रेसको १३ औं महाधिवेशन प्रतिनिधिमा चयन भएका सबैभन्दा कान्छा प्रतिनिधि राजु सुनारको महाधिवेशन वा महासमिति प्रतिनिधि हुन पाउनुलाई कांग्रेस कार्यकर्ता प्रतिष्ठाको विषयमा मान्छन् । क्रियाशिल सदस्यता पाएर लामो समय स्थानीय राजनीति गर्दा त्यो अवसर पाउन निकै मेहनत गर्नुपर्छ । तर, काठमाडौं क्षेत्र नम्बर ३ का राजु सुनारका लागि महाधिवेशन प्रतिनिधि बन्न लामो समय कुर्नु परेन ।२०४९ साल पुस २५ गते जन्मिएका सुनारले यो वर्ष नै क्रियाशिल सदस्यता पाएसँगै दलित कोटाबाट महाधिवेशन प्रतिनिधि बन्ने अवसर पाउनुभएको हो । माघ २२ गते भएको क्षेत्रिय अधिवेशनमा एक सय २५ मध्ये ८६ मत ल्याएर आफू प्रतिनिधि बन्न सफल भएको उहाँको भनाई छ ।
सुनारको क्रियाशित सदस्यता नम्बर २६०३००३७५४ रहेको कांग्रेस पार्टी कार्यालयले जनाएको छ । ‘पार्टीभित्र र बाहिर दलित अधिकारको लडाईंका लागि म प्रतिनिधि बनेको हुँ’ पार्टी कार्यालय सानेपामा भेटिएका उहाँले उज्यालो अनलाइनसँग भन्नुभयो ‘महाधिवेशन प्रतिनिधि  बनेपछि अधिकारको लडाईंलाई डटेर लाग्न हौसला मिलेको छ ।’
बिहीबारदेखि काठमाडौंमा सुरु हुने महाधिवेशनका लागि देश तथा विदेशबाट तीन हजार एक सय ८१ जना प्रतिनिधि चयन भएका छन् ।
कांग्रेसको १३ औं महाधिवेशन प्रतिनिधिमा अभूतपूर्व रुपमा युवा तथा नयाँ अनुहार आएका छन् । पाका पुस्ताको दबदबालाई तोडेर झण्डै आधा प्रतिनिधि युवा आएका छन् । प्रतिनिधि तचयनमा युवाको वर्चस्व भए पनि नेतृत्व छनोटमा त्यसको कत्तिको प्रभावन पर्ने हो त्यो भने हेर्न बाँकी नै छ ।


,