नुवाकोटबाट १३ सय ६१ अपराधी फरार

नुवाकोट चैत, ११-विभिन्न अपराधिक घटनामा संलग्न भई नुवाकोट अदालतबाट सजाय पाएका १३ सय ६१ अपराधी फरार रहेको नुवाकोट प्रहरीले बताएको छ ।
१३ सय ६१ अपराधीबाट ११ सय ४१ वर्ष ८ महिना कैद समय र ६८ लाख ८४ हजार ९७ रुपैयाँ जरिवाना असुल उपर गर्न बाँकी रहेको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरिक्षक देवबहादुर बोहराले बताए ।
जगन्य अपराधका फरार अपराधीमा मानव बेचविखन मुद्दाका ९६ जना, कर्तव्य ज्यान मुद्दाका २८ जना, डाँका मुद्दाका ११, जबरजस्ती करणीका ७ जना, लागु औषधका ११ जना, ज्यान मार्ने उद्योगका ९ जना र अपहरण घटनाका २ जना फरार रहेका छन् ।
यस्तै अन्य अपराध गरेर फरार हुनेमा कुटपिट घटनाका ५ सय २१, जालसाजीमा ३ सय १७, विगो भरिभराउ २ सय ३४, सम्बन्ध विच्छेदका ११, गालि बेइज्जतीका १ सय ७ जना गरि १ हजार १ सय ९७ जना रहेका छन् । फरार हुनेमा २ दिनदेखि २० वर्षसम्म सजाय फैसला भएकाहरु र एक रुपैयाँदेखि १५ लाख ५७ हजार रुपैयाँसम्मको जरिवाना फैसला भएका अपराधी रहेको प्रहरी नाउव उपरिक्षक ऋषि कँडेलले बताए ।
फरार अपराधीलाई पक्राउको लागि आफ्नो संयन्त्र परिचालन गरिरहेको प्रहरीले जनाएको छ । चालु आर्थिक वर्षमा नुवाकोट प्रहरीले मानव बेचविखनका ३, लागू औषधका २, ज्यान मार्ने उद्योगका १, किर्ते नागरिकताको १ र कुटपिट मुद्दाको १ गरि ८ जना फरार अपराधीलाई पक्राउ गरेको छ ।