डायस्पोराले चिन्नै पर्ने कांग्रेस नेता (बाँकी अंश)








कृष्ण सादगी 

प्रवासी अमेरिकी नेपालीहरुको कथा व्यथा लेखिएको धराबासीजीको नयाँ कृती 'ग्रेट फल्स'मा महत्वपुर्ण स्थान पाएको एउटा भाषण। विश्वप्रकाश शर्माले संसारकै आर्थिक राजधानी शहर मानिने न्युयोर्कमा सैयौ नेपालीहरुलाई गरेको सम्बोधनको एक भाग हिजो प्रकाशित भईसकेको छ | सम्बोधनको बाँकी अंश हिजोको आलेखबाट क्रमश... 

नेपाल बाहिर रहिरहेका साथीहरुले नेपाल देश बन्न नसक्दा नेताहरुले सके, सिध्याए भनिरहन त्यो अपर्याप्तता हुन्छ र नेपालभित्र बसिरहनेहरुले पनि देश हामीले मात्र बनाउन सक्छौं, विदेश जानेहरुले देश छोडेर गए, त्यागेर गए, तिनको अब कुनै काम छैन भन्ने सोच्नु गलत हुन्छ | मैले टेक्सासको कार्यक्रम सकेपछि फेसबुकमा फोटो अपलोड गर्दै गर्दा आएका थुप्रै प्रतिकृया मध्ये एउटा थियो – ‘आफ्नै देशमा केही गर्न नसकेर उता गएका छन् के गर्छन् ?’ त्यो प्रतिकृया लेख्ने मनोविज्ञानको म आलोचना गर्न चाहन्न तर यहाँबाट बोलिरहँदा भन्छु – ‘मित्र ! नेपालको भूगोलभित्र बसिरहेर यही भित्र सबैथोक छ भन्ने विचारको शुरु र अन्त्य गरिरहँदा राष्ट्रवादी बनिने, राष्ट्रवादी मानिने र संसारको कुनै कुनामा पुगेर देश सोच्नेहरुभित्र राष्ट्रप्रति कुनै भावना हुदैन भन्ने हुदैन | अनि बाहिर बसेका तपाईहरुले पनि देशभित्र भएकाहरुले खत्तम गरे, सके, सिध्याए–सिध्याए भनिरहेर हुदैन |विदेशको विकाससँग त’लना गरेर पाइलै पिच्छे देशलाई गाली गरिरहन्छौं | यो त्यति महत्वपूर्ण कुरा होइन कि आलोचनाले देश बन्दछ ? देश बन्छ सकारात्मक सोचले, इमान्दार चित्तले, उदार विचारले र सृजनात्मक सोचले ?

मैले सधै भन्ने गरेको छु, नेपाललाई समन्नुत बनाउनु पर्दछ भने पार्टी निर्माणमा संलग्न भएका मानिसहरु नै राष्ट्र निर्माणका निमित्त अन्तिम योग्यता राख्ने मान्छे हुन् भन्ने मनोविज्ञानबाट हाम्रो राजनीति मुक्त हुनुपर्छ | पुर्वी टिमोर भन्ने देश स्वतन्त्र भयो, स्वतन्त्रता आन्दोलनको नेतृत्व गर्ने नेता सानाना गुवामाओ यही न्यु र्योकबाट एउटा कार्यक्रममा भाग लिएर उड्दै हुनुहुन्थ्यो आफ्नो देशतिर | पत्रकाररुले एयरपोर्टमा सोधे – ‘महोदय ! तपाई आफ्नो देश फर्किदै हुनुहुन्छ – अब राष्ट्रपति बन्नु हुन्छ ?’ उहाँले भन्नु भयो – "मसँग संघर्ष गर्ने योग्यता थियो | कसरी लडाकुको धमनीमा रगत भर्ने मलाई त्यो कुरा थाहा थियो | कसरी ध्वंस गर्ने मलाई त्यो थाहा थियो तर, ध्वंस गर्न’ र निर्माण गर्न’को वीचमा धेरै ठुलोदुरी हुन्छ | अबको पूर्वटिमोरलाई निर्माण गर्ने कुशल  कारिगरको खोजी गर्नुपर्छ | त्यो सीप म सँग छैन |"

हामीले २००७ सालदेखि के गरी आयौं ? हामीले त २००७ सालको क्रान्तिको नेतृत्व गरेका कारणले प्रधानमन्त्री, २०१८ सालमा बन्दुक बोकेको कारणले गर्दा गृहमन्त्री, कलेजमा ने.वि.संघ वा अखिलको राम्रो भाषण गर्न जान्ने भएकाले शिक्षा मन्त्री, आन्दोलन वा अन्य कारणले सडकमा लडभीड गर्न सक्ने भएकाले सडक तथा यातायात मन्त्री, कुनैबेला प्रवासमा गएर बस्नुभएको थियो, त्यसैले विदेश मन्त्री, कुनैबेला जङ्गलमा पनि पार्टीको झण्डा फहराउनु भएको थियो भनेर वन मन्त्री ! यस्ता योग्यताहरुले देश बन्ला त ? बरु अब हामीले पनि देश बनाउने कुसल कारिगरको खोजी गर्नुपर्छ |

मलाई लाग्छ त्यो कारिगरी यसरी खोजिनुपर्छ–

कुनै मान्छे प्रधानमन्त्री बनिन लाग्दैछ भने उसलाई यसो भनिनु हुन्न चुनाव जितेकालाई मात्र मन्त्री बनाउ | त्यसको अर्थ चुनाव हारेपनि योग्य रैछ ल्याऊ पनि होइन |  प्रधानमन्त्रीले भन्न सक्नुपर्यो, मैले यो मान्छेलाई यस कारण मेरो क्याविनेटमा ल्याउँदैछु | उसलाई यति समय भित्र यी–यी कुरा गरिसक्ने जिम्मा दिँदैछु | उसले त्यो योग्यता राख्न नसके हटाउनेछु | संसदीय सुनुवाइमा एउटा राजदुतका लागि सुनुवाई हुन्छ | मन्त्री बन्ने मान्छेको योग्यता बारे सुनुवाइ हुनुपर्दैन ? पार्टी भित्रै भागवन्डाको राजनीतिमा ?मल्लिएर योग्यता माथि कुनै प्रश्नै नगरी मन्त्री बनाउनु हुने हो र ? हामीले २०४८ सालदेखि चलाएको पद्धति यही हो |

नेपाललाई प्राज्ञिक ढङ्गले स्थापित गर्ने हो भने अहिले उठेको पहिचानको प्रश्नलाई सही ढङ्गले सम्बोधन गर्न’ पर्छ | किनभने नेपालको निर्माणमा सबै जातिको भूमिका छ | आज यो भवन किन बलियो छ, भनेर प्रश्न गरियो भने हामी भन्छौं त्यहाँ रड मिसिएको छ, त्यहाँ ईटा मिसिएको छ, सिमेन्ट मिसिएको छ त्यसैले घर बलियो छ | तर के रडले, इटाले र सिमेन्ट मात्र घर बलियो हुन्छ ? त्यसलाई बलियो बनाउने काम वालुवाको हुन्छ तर हामी त्यसलाई बिर्सिरहेका हुन्छौं | त्यहाँ अलिकति पानी पनि हुन्छ, त्यहाँ ज्यामीको पसिना पनि हुन्छ, प्राविधिकको बुद्धि पनि हुन्छ | तर यी सबै कुरालाई एकै चोटी जोडेर हामी भन्न सकिरहेका हुन्नौं | आज देशभित्र उठेको असन्त’ष्टिको आवाज पनि त्यही बालुवा, पानी, ज्यामीको पसिना र प्राविधिकको सीपको आवाज हो | त्यसको सही सम्वोधन हुनुपर्दैन ? तिनै आवाज हुन दलित, महिला, जनजाति, मधेशी आदि अनेकौं भएर उठेका | तर ती आवाजहरुलाई सम्बोधन गर्दैगर्दा यो पनि बिर्सिनु हुदैन कि बालुवा बिनाको घर बलियो हुदैन तर बालुवा मात्रैको घर पनि बलियो हुदैन | त्यसैगरी कुनै जातको आधारमा मात्र बनेको नेपालले पन्ध्र वर्षमा कुनै बलियो हुने हैसियत राख्दैन | पहिचानको संबोधन गर्दैगर्दा उँट जस्तो संघीयता होइन, बरु सुन्तला जस्तो संघीयता बनिनु पर्छ |जुन  सुन्तलाका हरेक केस्राको स्वाद, गुण र विशेषता उस्तै हुन्छ तर ती प्रत्येक केस्रा आफैंमा स्वतन्त्र पनि छन् |

पहिचानको पाटो अर्को पनि छ | हामी पहिचान भनेर आज जातलाई हेरिरहेका छौं, भाषालाई हेरिरहेका छौं, राजनीतिक विचार र वादलाई हेरिरहेका छौं तर देशलाई बनाउने अरु पनि पाटाहरु छन् जसलाई हामीले बिर्सिरहेका छौं कि त चिनेकै छैनौं |

देश बनाउने प्रतिभाहरुको पहिचानलाई हामीले बिर्सिएका छौ | विश्वलाई देश चिनाउने खेलाडीहरु, कलाकारहरु, साहित्यकारहरु, दार्शनिकहरुलाई बिर्सिएका छौं | देशभित्र उठ्ने पहिचानका संकुचित आवाजहरु भन्दा पर छन् यी पहिचानहरु जसले संसारभरि देशलाई चिनाइरहेका हुन्छन् | एउटा क्रिकेट खेलाडीले कुनै अन्तर्राष्ट्रिय स्टेडियममा क्रिकेटको व्याड मच्चाइरहँदा त्यहाँ व्याड र बल मात्र छैन, उसका मच्चिरहेका पाखुरा मात्र छैनन् |

देशको पहिचान देशका नेता वा पदाधिकारीसँग मात्र हुदैन, त्यो देशका प्रतिभासँग पनि गाँसिएको हुन्छ | सेक्सपियरसँग बेलायतलाई सम्झिरहनेहरुले सैक्सपियरको पालाको वेलायतको प्रधानमन्त्रीको थियो हत्तपत्त कसैले भनिहाल्न सक्दैन | मेसीको कुरा गरिरहँदा अर्जेन्टीनाको राष्ट्रपतिको नाम भनि हाल्न सकिन्न | राष्ट्रको पहिचान कुनै विशेष ?ढतासँग मात्र जोडिएको हुदैन | पहिचानको कुरा गर्दै गर्दा पहिचानको विविधतालाई बिर्सिनु  हुदैन | लुजेन्द्र ओझा काठमाडौंको भीडमा कतै बसिरहनु भएको भए अमेरिकाको जमीनमा आएर यहाँका वैज्ञानिकहरु सँगसँगै काम गरेर मंगल ग्रहमा पानीको अस्तित्व पत्ता लगाउने समुहमा उहाँको भूमिका नहुन सक्थ्यो | यादव पण्डित यहाँको युनिभरसिटीमा भौतिक विज्ञानको विद्यार्थी भएर नयाँ ग्रहको अनुसन्धान र खोजमा सामेल भएर काम नगरेको भए त्यो सफलता प्राप्त गर्ने समुहको सदस्य हुन् सक्ने थिएनन् | शेष घले यदि घले गाउँमै मात्र अलमलिएका भए आज अष्ट्लयाका सम्पन्न व्यापारीहरुको सुचिमा परेर नेपालमा अरबौंको लगानी गर्न सक्ने योग्यता राख्ने थिएनन् | उपेन्द्र महतोले सिराहा सप्तरीको माटो मात्र खेलाएर बसिरहेका भए आज पनि उपेन्द्र महतोका पिताको सामान्य औषधि खर्च गर्न नसकेकै कारणले निधन हुने थियो | यी व्यक्तिहरु विदेश पुगेर देशलाई कहाँ हानी भयो ?

म एउटा तीतो सत्य भन्छु– सबैलाई शिक्षा भन्ने सरकारी नारा छ तर म एउटा निम्न मध्यम परिवारको विश्वप्रकाश शर्माकी छोरी कुनै  सरकारी स्कुलमा पढ्दिनन् | मेरो देशका ठुला उद्योगपति मोहनगोपाल खेतानकी नातिनी पनि सरकारी स्कुलमा पढ्दिनन् | जनकपुरको एउटा रिक्सा चालक मजदुरकी छोरी पनि सरकरी स्कुलमा पढ्दिनन् | सरकारले निशुल्क शिक्षा भन्दै गरेको लागतले कसलाई फाइदा भएको छ ? एउटा विद्यार्थी बराबर गरिएको खर्चको तथ्यांक पल्टाएर हेरियो भने प्रति व्यक्ति मासिक चौध सय रुपैया खर्च गरेको छ | त्यति पैसा कुनै प्राइभेट स्कुलमा शुल्क तिरिदियो भने झन् स्तरीय शिक्षा प्राप्त गर्ने रहेछ नि त ! मेरो विचारमा शिक्षामा गरिने लगानीको नाममा ‘सवैलाई शिक्षा भन्ने नारा छोडिन’ पर्छ र सम्पन्नलाई सशुल्क र विपन्नलाई निशुल्क भन्ने शैक्षिक परियोजनामा देश जानु पर्छ |

२. स्वास्थ्यको सम्बन्धमा मलाई लाग्छ– साढी वर्ष पुगेकी विपन्नताको परिचय पत्र बोकेकी आमाको सम्पूर्ण स्वास्थ्य उपचारको खर्च निशुल्क हुनुपर्छ | आर्थिक क्षमता हुनेहरुको स्वास्थ्य विमा गरिनु पर्छ | अनिवार्य स्वास्थ्य विमा परियोजनाले विपन्नहरुलाई पनि सेवा पुग्छ सक्षमहरुको पनि स्वास्थ्य सुरक्षा हुन्छ |

३. सडक र पुल निर्माणका सम्बन्धमा तपाईहरुलाई त झन् धेरै थाहा छ, यहाँ अमेरिकामा राति पनि सडक निर्माणको काम भइरहेको हुन्छ | तर उता हाम्रोमा त सुर्य अस्त, नेपाल मस्त हुन्छ | बजेट बने पनि समयमा कुनै सडक र पुलको निर्माण कार्य पुरा हुदैन | कागजी प्रकृया र सुस्त गतिका कारण हरेक वर्ष बजेट फ्रिज हुन्छ | यदि चौविस घण्टा काम गर्ने हो भने दश वर्षमा हुने निर्माण कार्य तीन वर्षमा पुरा हुन्छन् | दिनको आठ घण्टा काम गरेर कहिले सकिनु सडकको काम ? सडक नै होइन र विकासको नशा ? अमेरिकाले यति धेरै सडक नबनाएको भए कुन सडकमा गुडेर यसले संसार जित्थ्यो ? विकास भनेको पहिला बाटो र पुल नै हो |  विजुली निकाल्ने ठाउँमा पुग्न पनि त पहिला त बाटो नै त चाहियो | प्रत्येक, आठ घण्टालाई कार्य विभाजन गरेर एकैछिन पनि काम नरोक्ने हो भने यति सानो देशका छोटाबाटाह? तयार हुन कति समय लाग्ला ? देशभित्रै यसरी काम हुन थाले वैदेशिक रोजगारीका लागि खाडी मुलुकतिर पुगेर पचास डिग्री सेल्सियसमा डढ्नु पर्दैन हाम्रा छोराहरुले | आफ्नै देशको पसिनाले आफ्नै देशको नदी वग्छ, त्यही पसिनाको नदीबाट विजुली निस्किन्छ | देश झलमल्ल हुन्छ |

यो वर्ष चार सय असी अर्ब रेमिट्यान्ड आयो नेपालमा | यत्रो रेमिटेन्टको पैसा एकदम नै अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ | रिन तिर्ने, सहरतिर महंगोमा भीटा वा घर किन्ने, विहे गर्ने, टिभी, कम्प्युटर, मोवाइलमा खर्चिने चाड पर्व, विहेवारी, मोटर साइकल आदि मै सकिन्छ | वर्षाै विदेशमा दु:ख गरेर कमाएको सम्पत्ति हावा मिठाइ जस्तो भएर सकिन्छ | अनि फेरि अर्काे देशतिर हानियो | लाखौं नेपाली युवाहरुको उमेर र पसिना विदेशी भूमिमा त्यत्तिकै समाप्त भइरहेको छ | जे भए पनि त्यसरी रेमिटेन्टको रुपमा नेपाल भित्रिएको चार सय असी अरब रुपैयाँमा सबैभन्दा कम आर्थिक भूमिका अमेरिकाको छ | सबैभन्दा ठुलो भूमिका खाडी मुलुकमा जानेहरुको छ | तर खाडी मुलुकमा रोजगारीको लागि जानेहरु प्रायः अप्राविधिक पाखुरा छन् जोसँग बल मात्र छ सीप छैन र त्यहाँ उनीहरु  दास जस्तो जीवन बिताउन बाध्य छन् | यत्रो ठुलो रकम रेमिट्यान्ड भित्र्याउने देशले त्यसका लागि अहिलेसम्म पासपोर्ट दिनुभन्दा बढी के नै गरेको छ र ? तर अब सोच्नु पर्छ | प्रत्येक क्षेत्रमा विदेशमा बिक्ने सीपमुलक तालीम दिएर, विदेश जानेलाई सस्तो व्याजमा ऋण दिएर र उताबाट उसले कमाएको रकमको दश प्रतिशत रकम अनिवार्य वचतको प्रवन्ध गराएर त्यो वास्केट मनीलाई कुनै जलबिधुत परियोजनामा खर्च गरे अधिकांश नेपाली जलस्रोतको शेयर बन्ने छन् | राज्यले त्यो विश्वास दिलाउन सके कुनै पनि परियोजनाबाट भाग्न सक्दैन |

हामीले यो पन्ध्र वर्ष भित्रमा देश बनाउने बारे संकल्प गर्दै गर्दा एउटा यो संकल्प पनि सँगसँगै गर्न’पर्छ कि अब माग्ने काम बन्द गर्नुपर्छ | मागेर देश चलाउने परियोजना स्थगित गर्न’पर्छ | माग्नै पर्छ भने पनि जे–जे माग्ने हो पाँच वर्षभित्रमा मागिसक्नु पर्छ | ती मागिएकै कुराहरु आगामी पन्ध्र वर्षका लागि विकासका पुर्वाधार बन्नपर्छ| पन्ध्र वर्ष पछि हामी कसैले दिन खोज्दा पनि "हुन्छ, धन्यवाद | अब अहिले हामी तपाईको सहयोग लिने काम स्थगित गर्दैछौं |" भन्न सक्ने हुनुपर्छ |

हामीले अहिलेसम्म जे माग्यौं केवल झारो टार्ने कुरा माग्यौं | स्थायी विकासका लागि परियोजना माग्नुभन्दा मासी खाने ‘भीख’ जस्ता कुरा माग्यौं | माग्ने नै भए इज्जतका साथ मागौं | जे पाउँछौं त्यसमा गर्व गर्न सकौं | हामी चुनाव आउँछ व्यालेटवक्स माग्छौं, सांसद जितेर गए पछि चढ्ने गाडी माग्यो, संविधान लेखियो भने छाप्नलाई कागज माग्यो, त्यसलाई गाउँमा प’¥याउन ढ’वानीको खर्च माग्यो | यस्ता मगाई र प्राप्तीको यति लामो परम्परा छ कि त्यसबाट हामी मुक्त हुनै सकेका छैनौं | साँच्चै माग्ने भए अब हामीले पुर्ब पश्चिम रेल मार्ग मागौं | डाँडा काँडा नाघ्ने केवल कार मागौं, पर्यटनका लागि पर्यटक मागौं |

विश्वप्रकाशको यो लामो भाषण एकदम नै प्रभावोत्पादक र उर्जाशील थियो | श्रोताहरुमा गहिरो रुचि देखियो | केही जोसिएका जस्ता पनि थिए तर विश्वले भाषण गर्दै गरेको ठाउँ नेपालको संसद वा कुनै योजना आयोगको कक्ष थिएन | न यसका श्रोताहरु कुनै निर्णायक भूमिकामा उभिने हैसियत राख्न सक्थे | उनी आफै अघिल्लो वर्षको संसदीय निर्वाचनमा पराजित भएका उमेद्वार थिए | तर उनीसँग नयाँ जोश थियो, योजना थियो, थिम थियो |

उनको चौतिस मिनेटको त्यो भाषणले चौतिसैपल्ट ताली पायो होला | प्रशंसा नगर्ने क’नै ठाउँ थिएन तर उनको भाषणसँगै म भित्र उठेका जिज्ञासाहरुलाई भने भरे राति एउटै ओच्छयानमा सुत्दासम्म पनि मैले प्रश्न बनाइन | किनभने उनले भोगेको र मैले भोगेको परिवेश र वातावरण एउटै हो | म दश महिना अघि मात्र अमेरिका आएको थिएँ र उनी भन्दा केही पछि मात्र फर्कने थिएँ | 

मैले विश्वप्रकाशको अनुहार हेरें | स्कुले जीवन देखि विश्वविद्यालयसम्म विद्यार्थी राजनीतिको अग्रस्थानमा रहेको विश्व पैतालिस वर्षको उमेरमा पनि जोशिलै भाषण गर्दै थिएँ | दश वर्षसम्म एउटा संविधानको ड्राफ्ट गर्न नसक्ने नेताहरुको निकै पछिल्लो लस्करमा उभिएका यिनी अब दश वर्षपछि के भन्दै हुनेछन् होला !