निर्वाचित भएपछि बेडमा थलिएका कार्यकर्ता भेट्न पुगे विश्वप्रकाश

नेपाली कांग्रेसको हालै सम्पन्न निर्वाचनमा केन्द्रीय सदस्यमा निर्वाचित भए लगत्तै  कतिपय सदस्य त्यसको श्रेय आफ्ना गुटको नेतालाई दिन उनीहरुको निवासमा हानिए।
 
तर २५ जना नवनिर्वाचित सदस्यहरुमध्ये युवा नेता विश्वप्रकाश शर्मा भने न त कुनै नेताको घरमा पुगेर उनीहरुको चाहना र भरोसा अनुसार काम गर्ने संकल्प गरे न कुनै शक्तिपिठमा पुगेर पूजा अर्चना।
 
सोमबार अपरान्ह अन्तिम नतिजा आएलगत्तै कांग्रेस केन्द्रीय कार्यालय परिसरमा उपस्थित आफ्ना शुभचिन्तकले लगाइदिएको माला, खादा र अविर बोकेर आफ्ना एक दर्जन सहयोगीका साथ शर्मा काभ्रे जिल्लास्थित कात्तिकेदेउराली गाविसका दिपेन्द्र गिरीको काैशलटारस्थित डेरामा पुगे।
 
शर्माले त्यहाँ पुगेर आफूलाई लगाईदिएको माला, खादा र अबिर ३५ वर्षिय गिरीलाई लगाईदिँदै उनलाई छोएर संकल्प गरे -म आफ्नो कार्यकाल यहीँबाट कांग्रेसको राजनीतिमा लागेर दुःख पाएका नेता कार्यकर्ताप्रति सर्मपित गर्ने प्रतिबद्धता व्यक्त गर्छु।
 
शंकरदेव क्याम्पसमा अध्ययनरत गिरीलाई २०५८ सालको संकटकालमा माओवादी कार्यकर्ताले भौतिक आक्रमण गरी स्पाइनल कर्ड (मेरुदण्ड) भाँचिदिएका थिए। दश महिना लामो समय अस्पतालमा उपचार गराएर स्वस्थ्य लाभ लिए पनि गिरी बेडमा थला परिरहे। त्यसपछि गिरीलाई अहिले कुनै पनि कांग्रेस नेता कार्यकर्ताले सम्झेका थिएनन्।
 
तर नवनिर्वाचित केन्द्रीय सदस्य शर्माले भने आफ्नो विजय र त्यसमा मिलेको फूलमाला र अविरमा आफ्नो भन्दा पनि गिरीजस्ता पार्टीको नीम्ति जीउ ज्यान दिने पीडित कार्यकर्ताको हक बढी भएको भन्दै गिरीलाई नै सुम्पिए। त्यसका साथै उनले गिरीलाई एउटा सानो बुद्धको मुर्ति उपहार दिँदै आफू आगामी दिनमा पनि लोकतन्त्र, शान्ति र स्थायित्वका लागि लागि पर्ने प्रण गर्दै फर्किए।
 
खुला २५ सदस्यका लागि भएको निर्वाचनमा नेविसंघका पूर्व अध्यक्ष शर्माले १६ सय २० मतका साथ १४औं स्थानमा निर्वाचित भएका थिए।  

स्रोत सेतोपाटी

,