देउवाकालमा अल्पमतको भविष्य


प्रतीक प्रधान
नेपाली कांग्रेसको कार्यालय बीपी नगर, सानेपामा चैत ३ गते बुधवार नयाँ सभापतिको पदस्थापनको कार्यक्रम चल्दै थियो । नवनिर्वाचित सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको योगदान र यसका नेताले गरेको त्याग र तपस्याको अलिकति बयान गरे । अनि आफ्नो पहिलो निर्णयका रूपमा सात जना नेतालाई केन्द्रीय सदस्यका रूपमा मनोनयन गरेको जानकारी प्रस्तुत गरे । तर उनले केन्द्रीय सदस्यमा मनोनीत व्यक्तिको नाम लिँदा गगन थापाको नामै उच्चारण गरेनन् । देउवाले गगनको नामै नलिएपछि गगन समूहका सभापतिका उमेदवार कृष्णप्रसाद सिटौलालाई छटपटी भयो । देउवाकै मुखबाट गगनको नाम भनाउन उनले यताउता सबैलाई भन्न थाले । जानीजानी हो वा बिर्सेर देउवाले भने गगनको नाम लिएनन् । पछि उद्घोषकले सातै जनाको नाम भनेपछि मात्र सबैलाई गगनको नाम नछुटेको पक्का भयो ।

नवनिर्वाचित सभापति देउवाले नयाँ केन्द्रीय सदस्य नियुक्त गर्ने पहिलो निर्णय गर्दा अल्पमत समूहबाट जितेका महामन्त्री शशांक कोइरालासँग औपचारिकताकै लागि भएपनि सरसल्लाह गर्लान् भन्ने अनुमान र अपेक्षा धेरैले गरेका थिए तर उनले कोइरालासँग पनि सल्लाह गरेनन् । गगनको नाम नलिनुमा कुनै प्रयोजन थियो वा थिएन तर कोइरालासँग सरसल्लाह नगर्नुको भने अर्थ प्रष्ट छ – शेरबहादुर देउवा अब नेपाली कांग्रेसमा अल्पमत र बहुमतको खेलमा अल्झेर बस्न चाहँदैनन् ।

शेरबहादुर देउवा अल्पमत र बहुमतको खेलमा आफै धेरै वर्ष बिताएका व्यक्ति हुन् । गिरिजाप्रसाद कोइरालाविरुद्ध उमेदवारी दिएर धेरै सानो अल्पमतका रूपमा आफूलाई अघि बढाएका देउवाले सुशील कोइरालाविरुद्ध उभिँदा ४४ प्रतिशतको अल्पमत भएर देखाए । आफ्नो पक्षमा पार्टीको करिब आधा हिस्सा आएपश्चात उनले अल्पमत र बहुमतको खेलमा धेरै मेहनत गरे । कुनै पनि निर्णयमा आफ्नो पक्षका व्यक्तिको उपस्थिति र नियुक्तिलाई उनले सधैँ प्रतिष्ठाको विषय बनाएर भिडे ।

बाह्रौं महाधिवेशनपश्चात नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक तबसम्म हुनसकेन जबसम्म शेरबहादुर देउवालाई वरिष्ठ नेताको पद दिइएन । नेपाली कांग्रेसका विभिन्न विभाग र समितिमा सिंगो पार्टीका रूपमा होइन दुई गुटका रूपमा प्रतिनिधित्व हुनुपर्ने देउवाको अडानले तिनले पूर्णता पाउनै सकेनन् । मन्त्री नियुक्त गर्दा होस् वा अन्य कुनै पदमा, सधै देउवा समूहले अल्पमतको प्रतिनिधित्वको विषय उठाइरह्यो, कहिल्यै ओझेलमा पर्न दिएन ।

नेपाली कांग्रेसमा अहिले शेरबहादुर देउवाको उदय भएको छ । अब देउवा विपक्षी वा अल्पमतका नेता होइनन्, उनी बहुमतका नेता र सभापति अर्थात् संस्थापन पक्ष भएका छन् । यसै त नेपाली कांग्रेसमा सभापतिलाई धेरै अधिकार दिएर निरंकुश बनाइएको हुन्छ त्यसमाथि देउवा निर्वाचित केन्द्रीय समितिमै बहुमत ल्याउन सफल भएका छन् । उनले अझै उपसभापति, एक जना महामन्त्री र एक जना सहमहामन्त्रीसहित १४ जना सदस्य आफैँले नियुक्त गर्न पाउँछन् । त्यसैले बहुमतका सभापति देउवाले अब अल्पमतको कदरका नाउँमा तिनलाई हरेक मनोनयन वा अवसरमा समानुपातिक मौका दिएर आफ्नो पकड कमजोर बनाउन चाहने अवस्था देखिँदैन ।

शेरबहादुर देउवा अल्पमतको नेता हुँदा उनको सबैभन्दा सफल कार्य आफ्नातर्फका नेतालाई बहुमततर्फ बग्न नदिनु नै थियो । केही नेता उनको क्याम्पबाट फुत्केर अर्को क्याम्पमा गए पनि धेरै उनीसँगै रहे । त्यसैले अहिले शेरबहादुर देउवाको क्याम्प नेपाली कांग्रेसको संस्थापन बनेको हो ।

देउवाको कार्यकालमा अल्पमतले के पाउँछ र कति विरोध गर्छ भन्ने १२औं महाधिवेशनमा जस्तै पहिलो केन्द्रीय समितिको बैठकबाटै थाहा हुनेछ । पौडेल समूहका सदस्यले उति बेला देउवालाई जस्तै अहिले रामचन्द्र पौडेललाई वरिष्ठ नेता बनाउन सके भने अल्पमतको अस्तित्व रहनेछ । अन्यथा अल्पमतको आवाज बिस्तारै सेलाउँदै जाने देखिन्छ ।

वरिष्ठ नेतामात्र होइन सहमहामन्त्री कसले पाउँछन् त्यो पनि महत्वपूर्ण हुनेछ । सुशील कोइराला सभापति हुँदा देउवा क्याम्पका पूर्णबहादुर खड्का सहमहामन्त्री नियुक्त गरिएका थिए । अहिले सो पदका लागि कसको दाबेदारी रहन्छ स्पष्ट नभइसके पनि अल्पमतले पाउने संभावना न्यून नै देखिन्छ ।

नेपाली कांग्रेस लोकतान्त्रिक दल भएको कारणले यस दलभित्र असहमतिको आवाज हुनु हुँदैन भन्नु अलोकतान्त्रिक सोच हो तर अबको विपक्ष पहिलेको शेरबहादुर देउवा समूहजस्तो बलियो हुने लक्षण भने देखिँदैन । पहिलो त विपक्षीको नेताको भूमिका कसले र कसरी खेल्छ भन्ने प्रश्न यसमा निर्णायक बन्नसक्छ । पुराना संस्थापनका नेताहरू रामचन्द्र पौडेललाई विपक्षको नेता बनाउने कि शशांक कोइरालालाई त्यो भूमिका दिने भन्ने विषयमै निर्णयमा पुग्न गाह्रो हुन्छ ।

रामचन्द्र पौडेलले विपक्षको नेतृत्व आफँले लिने हुन वा होइनन् भन्ने पनि चाँडै नै प्रष्ट हुनेछ । पौडेलले आफैँ सम्हाल्ने वा शशांकलाई जिम्मा दिने हुन् भन्ने निर्णय भएपछि नै नेपाली कांग्रेसमा अब अल्पमतको अवस्था के हुने र भविष्य कस्तो हुने निर्णय हुनेछ ।

स्रोत:बाह्रखरी

,