सुरु भयो दीपाको छक्का पञ्जा

काठमाडौं चैत, ८-हाँस्य कलाकारहरुको लगानी रहेको तेश्रो चलचित्र छक्का पञ्जाको छायाँकन सोमबारदेखि सुरु भएको छ । भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा पूजा गरेर छायाँकन सुरु गरिएको हो ।
झण्डै एक महिनामा सक्ने तयारीका साथ छायाँकन सुरु गरिएको छक्का पञ्जालाई दीपाश्री निरौलाले निर्देशन गर्दैछिन् । झण्डै डेढ दशक लामो अनुभवलाई छक्का पञ्जामा आफुले सक्दो प्रयोग गर्ने उनले बताएकी छिन् । फिल्मको साथमा हाँस्य टेलिश्रृंखला निर्माण तथा निर्देशन गरेर खारिएका कलाकारहरु पनि सँगै रहेकाले छक्का पञ्जा उत्कृष्ट चलचित्र बन्ने उनको भनाई छ ।  शुभमुहुर्त कार्यक्रममा जीतु नेपाल मुन्द्रेले नरिवल फोरेपछि फिल्मको छायांकन सुरु भएको हो । कार्यक्रममा मुन्द्रेले दीपालाई निर्देशनका लागि शुभकामना दिँदै सयपत्रीको फूलको माला लगाईदिए । दीपाले उनलाई धन्यवाद दिँदै झण्डै एक महिनामा  छक्का पञ्जाको छाँयाकन सकिने बताइन् । उनले यो चलचित्र आफ्ना लागि सन्तान जत्तिकै महत्वपूर्ण भएको बताईन् । चलचित्रमा दिपकराज गिरी, जितु नेपाल (मुन्द्रे), केदार घिमिरे (माग्ने बुढा), शिवहरी पौडेल, किरण केसी, प्रियंका कार्की, वर्षा राउत, नम्रता सपकोटा, बुद्धि तामाङलगायतका कलाकारको अभिनय रहनेछ