सपनाको सिटमा देउवा



-खिलानाथ ढकाल
पञ्चायतविरूद्धको आन्दोलनताका बनारसमा पुग्दा शेरबहादुर देउवालाई बीपी कोइरालाले भनेका थिए – शेरबहादुर इज नन् क्राउन प्रिन्स अफ नेपाल।

अर्थात् देउवा जनताको युवराज हो।

देउवाले विद्यार्थी जीवनकालमा गरेका केही संघर्षबाटै बीपी कति प्रभावित थिए थाह छैन, तर उनलाई देउवाको हक्की र आँटिलो स्वभाव चाहिँ धेरै नै मन परेको थियो।
जान्नेहरू भन्छन्, डडेलधुरा जिल्लाको असीग्राम गाविस वडा नम्बर ५ मा जन्मेका देउवा बाल्यकालदेखि विद्रोही स्वभावका थिए। अन्याय सहने बानी थिएन, बोलीहाल्थे। वादविवाद गरिहाल्थे।
देउवाले प्राथमिक शिक्षा डडेलधुराकै असीग्राम प्राथमिक विद्यालयमा लिए। निम्न माध्यमिक शिक्षा महेन्द्र मावि र माध्यमिक शिक्षा सीताराम मावि उच्चकोट डोटीमा लिए। स्कुल पढ्दा नै देउवा कांग्रेसको राजनीतिसँग नजिक हुन थालिसकेका थिए।
एसएलसी दिएपछि बाबु प्रसाद देउवाले उच्च शिक्षाका लागि उनलाई भारत पठाउन खोजेका थिए। बाबुको प्रस्तावलाई अस्वीकार गरेर आफ्नै देशको राजधानीमा पढ्ने अड्डी कसे।
डडेलधुराबाट काठमाडौं झरे २०२१ सालमा। त्रिचन्द्र कलेज भर्ना भए।
आइएको परीक्षा चलिरहँदा एकपटक उनले उत्तरपुस्तिका ढिलो पाए, अनि सो उत्तरपुस्तिका छिट्टै खोसियो पनि। देउवा र त्रिचन्द्रका शिक्षकहरूबीच झगडा पर्यो। त्यो निहुँमा देउवालाई प्रहरीले समातेपछि कांग्रेस र नेविसंघभित्र उनको अलिअलि चर्चा भयो।
त्यसपछि उनी कांग्रेस र पन्चायती शासनका नजरमा एकैपटक परे। समय–समयमा पक्राउ परिरहन्थे।
तर छुटेपछि विद्यार्थी हकहितमा लागिहाल्थे। उनको त्यो निडर स्वभाव पार्टीको उच्च तहले मन पराउन थालेको थियो।
देउवाले पनि कांग्रेसका नेताहरूसँग सम्पर्क बढाए। बीपीलाई भेट्न बनारस गए, जहाँ बसेर बीपी पञ्चायतविरूद्ध सशस्त्र आन्दोलनको नेतृत्व गरिरहेका थिए।
देउवा २०२८ सालमा नेपाल विद्यार्थी संघको सभापति बने। कांग्रेस नेता रामशरण महत देउवाको कमिटीमा महामन्त्री थिए। नेविसंघको नेतृत्व लिएपछि उनको सक्रियता र जुझारुपन झनै बढ्यो। कांग्रेसका नेता र नेविसंघका युवामाझ उनको लोकप्रियता थपिँदै गयो।  
‘म २०३५ सालमा नेविसंघमा आवद्ध भएको नै देउवाको नाम सुनेर हो,’ देउवाका दुई प्रधानमन्त्रीकालमा स्वकीय सचिव भएका कांग्रेस नेता गोविन्द बोहरा भन्छन्, ‘मैले चिनेसम्म उहाँ निडर र विद्रोही स्वभावको हुनुहुन्छ।’
विद्यार्थी राजनीतिबाट हुर्किएपछि देउवालाई बीपीले सुदूरपश्चिममा पार्टीको काम दिए। भारतको बाटोबाट दार्चुला, बैतडी हुँदै डडेलधुरा आइपुगेका थिए। खुला तरिकाले हिँड्दा पक्राउ पर्ने डर हुन्थ्यो, त्यसैले उनी लुकीलुकी आफ्नो गृहमन्त्री जिल्ला पुगे र पश्चिम नेपालमा पार्टीको काम गर्न थाले।
२०४६ मा नेपाली कांग्रेसले पहिलो जनाअन्दोलन छेड्दा देउवा लन्डन स्कूल अफ इकोनोमिक्समा 'फेलो'को रुपमा थिए। किशुनजीको व्यक्तिगत चिठी बोकेर उनि लन्डन उत्रिएका थिए। उनले लन्डनमा के पढे वा पढे-पढेनन् यकिन छैन। लेखपढमा देउवाको धेरै सौख हैन।
प्रधानमन्त्री भएको बेला उनले एकपटक लेखक तथा साहित्यकारलाई बालुवाटारमा 'लन्च'मा बोलाएका थिए। भलाकुसारीको सुरुमै देउवाले भने, ‘म तपाइहरुलाई सुरुमै प्रष्टसँग भनौ, मलाई लेख पढमा रुची छैन।’
२०४७ सालमा जनाअन्दोलन सफल भएपछि देउवा हानिएर काठमाडौं आए।
प्रजातन्त्र स्थापनापछि २०४८ सालको पहिलो आमनिर्वाचनमा कांग्रेस नेतृत्वले देउवालाई सुदूरपश्चिमको कमान्डर बनाएर पठायो। आम निर्वाचनमा सेती-महाकालीका अञ्चलका १९ निर्वाचन क्षेत्रमध्ये १८ क्षेत्रमा कांग्रेसले विजय प्राप्त गर्यो।
देउवा एकैपटक पश्चिमका एकक्षत्र नेता बने। काठमाडौंमा पनि उनको राजनीतिक महत्व स्थापित भयो।
२०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा ‘शेरे पश्चिम’ गृहमन्त्री बने। पछिल्ला २४ वर्षमा उनको राजनीतिमा धेरै उतारचढाव आए तर उनको राजनीति ‘ब्याक गियर’मा भने गएन।
गृहमन्त्री बनेको पाँच वर्षभित्रै उनी मुलुकको प्रधानमन्त्री बने।
एकाउन्न सालमा आन्तरिक किचलोका कारण गिरिजाप्रसाद कोइरालाले आफ्नो बहुमत रहेको संसद विगठन गरेर मध्यावधि निर्वाचनको घोषणा गरे। संसदमा कांग्रेस एमालेभन्दा एक सिटले पछि पर्यो।
पार्टीभित्र गिरिजाप्रसादको कोइरालाको सर्वमान्य नेता गणेशमान सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराईसँग मनमुटाव गहिरिँदो थियो। सिंह पार्टीबाट अलग भएर बसिसकेका थिए। २०४८ साल र त्यसपछिको काठमाडौं क्षेत्र नम्बर १ मा किशुनजीको हारमा कोइरालाको अन्तर्घातको आरोप लागिसकेको थियो।
एकाउन्न सालको मध्यावधि निर्वाचनपछि कोइराला संसदीय दलको नेतामा उठ्न हच्किए। शैलजा आचार्य, शेरबहादुर, रामचन्द्र पौडेल र खुमबहादुर खड्का त्यसको दाबेदार देखिए। शैलजा त्यसको ‘सिनियरिटी’, क्रान्तिकारिता र कोइराला परिवारको सदस्य हिसाबले त्यसको स्वाभाविक उत्तराधिकारी थिइन्।
तर गिरिजाप्रसादले शेरबहादुरलाई अघि बढाए। उनी नेपाली कांग्रेस संसदीय दलको नेतृत्वमा निर्वाचित भए। त्यसको ९ महिनापछि एमालेको अल्पमतको सरकार ढालेर देउवा मुलुको प्रधानमन्त्री बने।
कांग्रेसभित्रको बढ्दो सत्ता संघर्षमा उनले किशुनजी र गणेशमान सिंहको प्रत्यक्ष अप्रत्यक्ष साथ पाए।
कोइरालाले अघि बढाएका देउवाले पार्टीको दसौं पोखरा महाधिवेशनमा कोइरालालाई नेतृत्वका लागि चुनौती दिए। २०५७ सालमा पोखरा महाधिवेशनमा देउवा कोइरालाको विरुद्ध सभापतिमा उठे, हारे।
बढ्दो माओवादी जनयुद्द, राजा र सेनाको असहयोग अनि एमालेको ५७ दिनसम्मको संसद घेराउबाट बाध्य भएर गिरिजाप्रसादले २०५८ असार राजिनामा दिए।
देउवा फेरि नेपाली कांग्रेस संसदीय दलको उम्मेदवार बने। सुशील कोइरालालाई हराएर नेता बने। संसदमा पार्टीको बहुमत थियो। उनी दोस्रोपटक प्रधानमन्त्री बने।
प्रधानमन्त्री बनेको ६ महिना नपुग्दै गिरिजाप्रसादले उनलाई हटाउन हस्ताक्षर अभियान सुरु गरे। फेरि कांग्रेसमा एकपटक सत्ता संघर्ष चुलियो। शेरबहादुर देउवाले पार्टीको सहमतिबिना संकटकाल घोषणा गरे, संसद तथा स्थानीय निकाय बिगठन गरेर आम निर्वाचन घोषणा गरे।
नेपाली कांग्रेसले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्यो। नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेर देउवा त्यसको सभापति बने।
तोकिएको मितिमा चुनाव गराउन नसकेपछि राजा ज्ञानेन्द्रले 'असक्षम' घोषणा गर्दै उनलाई बर्खास्त गरे। त्यसको लगभग साढे एक वर्षपछि फेरि उनलाई ज्ञानेद्रले प्रधानमन्त्री नियुक्त गरे।  
प्रतिगमन आधा सच्चिएको भन्दै देउवाको नेतृत्वमा एमालेसहितका पार्टी सरकारमा गए।
२०६१ साल माघ १९ गते ज्ञानेन्द्रले 'शाही कू' मार्फत देउवालाई दोस्रोपटक अपदस्त गरे र सत्ता आफ्नो हातमा लिए। 'शाही कू' पछि देउवाले प्रजातन्त्र दुईपटक दरबारमा बुझाएको आरोप खप्नुपर्यो।
गिरिजाप्रसाद कोइराला माओवादीलाई साथ लिएर ज्ञानेन्द्र विरुद्द जनान्दोलनको तयारी गर्दै थिए। प्रजातन्त्र दरबारमा बुझाएको भारी आरोप बोकेर देउवा राजनीतिमा 'लो कि' मा बसे। संसद पुनर्स्थापनापछि गिरिजाप्रसाद फेरि एकपटक नेपाली राजनीतिमा छाए। देउवा कोइरालासँग पार्टी एकीकरण गरेर माउ पार्टीमै फर्किए।
२०४७ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछिका २५ वर्षमा देउवाले एउटा राजनीतिज्ञले देख्ने सबै सपना पूरा गरे। तीनपटक प्रधानमन्त्री बने, विभाजित पार्टीकै भए पनि सभापति बने, शान, सौकत, तागत, पैसा सबै बटुले।
तर एउटा घिड्घिडो भने बाँकी नै थियो - नेपाली कांग्रेस पार्टीको सभापतिको कुर्सीमा बस्ने!
नेपालको सबैभन्दा शक्तिशाली पार्टी, सबैभन्दा अमूल्य बिरासत भएको र प्रचुर सम्भावना भएको पार्टीको सभापतिको कुर्सीको प्रतिष्ठा उनी अहिलेसम्म बसेका सबै कुर्सीभन्दा धेरै छ।

नेपाली कांग्रेस पार्टीमा काम गरेको लगभग पाँच दशकपछि र सत्तरी वर्षको उमेरमा तेह्रौँ महाधिवेशनमा आफ्ना चिरपरिचित प्रतिद्वन्दी रामचन्द्र पौडेललाई पराजित गरेर देउवा लामो समयदेखिको आफ्नो सपनाको कुर्सीमा विराजमान भएका छन्।
***
नेपाली कांग्रेसको तेह्रौं राष्ट्रिय महाधिवेशन पहिलेका महाधिवेशनभन्दा अलि फरक देखिन्थ्यो। खुलामञ्चमा उद्घाटन हुँदादेखि भृकुटीमण्डपमा बन्दसत्र चलिरहँदाको रौनकले देउवालाई यसपालि सभापतिमा ल्याउँदैछ भन्ने धेरैले अड्कल काटिसकेका थिए।
आइतबार मतदान भइरहँदा पार्टीका नेताहरू सभापति पदको उम्मेदवार कसले जित्छ या कसले हार्छ भन्दा पनि एकैपटकमा ५१ प्रतिशत पुग्दैन कि भन्ने संशय पालिरहेका थिए। भइदियो त्यस्तै।
त्यही सेरोफेरोमा अपराह्नतिर संवाददातासँग केन्द्रीय सदस्य डा. शेखर कोइरालाको भेट भएको थियो।
‘के छ चुनावी नतिजाको आँकलन?,’ कोइरालाले सोधेका थिए।
‘मलाई भन्दा तपाईंलाई नै बढी जानकारी छ, के छ भन्नुस् न,’ ममाथि आइलागेको प्रश्न मैले उतै फर्काइदिएँ।
‘सभापतिमा त यसै भन्न सकिन्नँ,’ कोइरालाले भनेका थिए, ‘महामन्त्रीमा शशांकले नजिते कसले जित्ला र?’
महामन्त्री पदका उम्मेदवार आफ्नै भाइ भएका नाताले शेखरले शशांकको जित देख्नु नौलो हैन। तर पार्टी सभापतिको चुनावमा ‘यसै भन्न सकिन्नँ’ भित्र रहस्य लुकेको थियो। उनले पनि पहिलो चरणबाट ५१ प्रतिशत नपुग्ला भन्ने संकेत गरेका थिए।
तीन जना प्रतिस्पर्धीका बीचबाट देउवाले पार्टी सभापति बन्नका लागि आवश्यक प्रतिशतमा चुनौती मोल्नुपर्यो। दोस्रो चरणको निर्वाचन लड्नका निम्ति देउवालाई पहिलोपटकै नतिजाले बल पुर्यायो।
उनका निकटतम् प्रतिद्वन्द्वी रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले हासिल गरेको दुबै मत जोड्दा पनि देउवाकै पक्ष पल्लाभारी देखियो। तर विधानअनुसार ५१ प्रतिशत नपुग्दा देउवाले दोस्रो मतदानमा जानैपर्यो।
दोस्रो मतदानमा देउवाले पौडेललाई ५२६ मतले हराए । कुल खसेको ३१४० मतमध्ये देउवाले १८२२ र पौडेलले १२९६ मत पाए। दोस्रो चरणको मतदानमा पौडेललाई देउवाले भारी मतअन्तरले हराएका छन्। कुल खसेको मतमध्ये २२ मत बदर भएको छ।
देउवाले खुलामञ्चमा महाधिवेशनको उद्घाटन सत्रमा धेरै लामो भाषण गरेनन्। छोटो भाषणमा उनले भनेका थिए, ‘भारतसँगको सम्बन्ध बिग्रिएकोदेखि महाभूकम्पले गरेको क्षति छ। यी सबै अभिभारा हामीमाथि छन्, म गर्छु, गर्छुगर्छु।’

***
देउवालाई तीनपटक प्रधानमन्त्री बन्दा पनि केही नगरेको आरोप छ। उनले केही गर्छन् भन्नेमा पटक्कै विश्वास नभएकाहरुको संख्या कम छैन।
पार्टी सभापतिका रुपमा र सरकारको सम्भावित नेतृत्वकर्ताका रुपमा देउवालाई 'काम गर्ने' नेताको परिचय बनाउने अवसर छ।
त्यो अवसर खेर फाल्छन् वा यथार्थमा बदल्छन् उनको राजनीतिक बिरासत त्यसैले निर्धारित गर्नेछ।
देउवा आफैंलाई गुटको नेता भएको आरोप छ। पहिले उनी यो आरोपबाट मुक्त हुनु पर्नेछ।नेपाली कांग्रेसको लामो इतिहासमा आज देउवा पार्टीको सर्वोच्च स्थानमा पुगेका छन्। यो जितसँगै देउवाले लामो समयसम्म संस्थापन पक्षमा रहेको पार्टी नेतृत्व फुत्काएका छन्। कांग्रेसलाई गुट उपगुटबाट टाढा राखेर एक बनाइ अगाडि बढाउने चुनौती देउवामाथि छ। पार्टीलाई एकढिक्का बनाउने दिशामा देउवा कति सक्षम हुन्छन्, त्यो भने भविष्यले बताउने छ।

,