परिवर्तन पक्षधरहरुले विश्वप्रकाशलाई जिताएरै छाड्नेछन्




कृष्ण सादगी

जुँगाको रेखी नबस्दैको कलकलाउँदो युवा अवस्थामा विश्वप्रकाश शर्मा प्रजातन्त्रिक आन्दोलनका लागि संघर्ष गर्ने प्रतिबद्द विध्यार्थी नेता बनिसकेका थिए। १९ बर्षकै उमेरमा ०४६ सालको जनआन्दोलन ताका उनी विचारोत्तेजक राजनीतिक प्रवचन दिदै पुर्वान्चलका विभिन्न गाउँ शहर र क्याम्पसहरुमा पन्चायती निरंकुशता विरुद्ध जनमत तयार गर्नमा व्यस्त रहन्थे।

लेखक 
त्यतिबेला म १७ बर्ष टेक्दैमात्र थिएँ। २०४६ साल माघमा मेरो राजनीतिक जिवन मेची बहुमुखी क्याम्पस भद्रपुरमा उनकै पहिलो र अति नै प्रभावशाली भाषण सुनेपछी शुरु भएको हो। शर्माजीको अर्को शक्तीसाली क्षमता भनेको उनको स्मरण शक्ती हो। ७५ जिल्लाकै काँग्रेसका हजारौ कार्यकर्ताको नाम मात्र हैन उनीहरुको कतिपय परिवारका सदस्यहरु समेतको दुखसुख र प्रगतिको जानकारी उनीसँग हुन्छ। आजभोली संसारभरी फैलिएको नेपाली डायस्पोरामा समेत उनले सैयौ कर्मशील प्रवासी साथीभाईहरुलाई व्यक्तीगत रुपमै चिनेर नाम सहित बोलाउँछन्।

नेपाली काँग्रेस पार्टीमा यदि व्यबस्थित, पारदर्शी र प्रतिस्पर्धी पद्दतीबाट कार्यकर्ताहरुको भुमिका, प्रतिबद्दता र कार्यसम्पादन क्षमताको मुल्यांकन हुने पद्दती बसेको हुँदो हो- नेपालमा विश्वप्रकाश शर्मा जस्ता व्यक्ती अमेरिकाको शक्तीसाली राष्ट्रपति पदमा बाराक ओबामाले प्रवेश पाए झै गरी नव नेपाल निर्माणको महाअभियानमा मुलुकको कार्यकारी भुमिका निर्वाह गर्दै गरेको अवस्था हुन्थ्यो शायद।

तर दुर्भाग्य हामी नेपाली र हाम्रो नेपालको राजनीति अझै पनि 'कठैबरा'कै अवस्थामा गुज्रिरहेको छ! आज पनि दलहरु
क्षमतावानहरुलाई पाखा लगाउँदैछन् । अनी अशल नेतृत्वविहिन 'टुहुरा' झै बन्दै गएका छन्। देशलाई सुशासन र विकाशको मार्गमा अग्रसर गराउन सक्ने हैसियत भएका नयाँ पुस्ताका जवान र जिम्मेवार नेतृत्व गर्न सक्ने कार्यकर्ताको पंग्तीलाई 'हाईट' नपुगेको भन्दै अगाडी बढ्नबाट रोक्नलाई विभिन्न 'तिगडम'हरु रचिन्छ।

अनी आफ्नो वरीपरी सधैभरी चाकरी बजाउने अयोग्य, असक्षम र भ्रष्ट कार्यकर्ताहरु भने पार्टीमा एउटा व्यक्तीको नेतृत्वलाई खुशी तुल्याएकै भरमा सधै सत्तामा हालीमुहाली मच्चाईरहने प्रबृती बलियो बनेको छ। यो प्रबृत्ती काँग्रेसमा मात्र हैन सबै दलहरुमा निक्कै मज्जाले मौलाएको छ। जस्ले गर्दा दलहरु त किंकर्तव्य-विमुड बन्दैछन नै- सिंगो मुलुक पनि गतिबिहिन, दिशाहिन र विकासमार्गमा लक्ष्यविहिन बनेर अलमल्लीरहेको अवस्थामा छ।

र जसरी नेपाली फुटवल टिमले आफ्नो 'नेतृत्व र प्रबृत्ती परिवर्तन' पछी नयाँ र उत्साहजनक परिणाम ल्यायो- त्यसैगरी नेपाली राजनीतिमा पनि नयाँ पुस्ताको हातमा नेतृत्व पुगेपछी मात्र परिवर्तनको महसुस हुने अवस्था आउनेछ। यो अवस्था आउने कि नआउने अब यही महाधिवेशनको निर्णयमा भर पर्छ।

जनताले आफ्नालागि आफै संविधान जारी गरिसकेपछी मुलुकले आज जम्माजम्मी खोजेको मात्र दुई कुरा छ। पहिलो-मंधेशको राजनीतिक निकास र दोश्रो- मुलुकको आर्थिक विकास । र यो कार्यभार अब सबै दलहरुमा युवाहरुको बाहुल्य भएको नेतृत्वले मात्र गर्न सक्नेछ।

नेपाली काँग्रेसको महाधिवेशनले 'नयाँ र उर्जाशिल युवा नेतृत्व' खोजिरहेको छ। 'विश्वप्रकाश शर्मा'जस्ता निडर, सरल र क्षमतावान युवाहरुको बाहुल्यता खोजिरहेको छ। 'गुटबन्दी, पैसा र पदीय प्रलोभन'को शिकार बनेर घात-अन्तरघातको अवस्थामा मात्र काँग्रेसले कहिल्यै नवजिवन प्राप्त गर्न सक्दैन।

त्यसैले मेची महाकालीबाट भेला भएका "हे- महाधिवेशन प्रतिनीधिहरु हो!- योग्यता, क्षमता, ईमान्दारीता, प्रतिबद्दता र लोकप्रियता'लाई आधार मानेर निर्भिक भई असल नेता छान्ने काम गर्न सक्नुहोस्। न कि गुट, फुट, लुट र लोभलाई आधार मानेर!  काँग्रेसलाई यथास्थितिमै राख्ने कि परिवर्तित सन्दर्भमा नविन र उर्जाशिल बनाउने? बल- तपाईहरुकै हातमा। आगे तपाईहरुकै मर्जी!!

वासिंगटन डिसी, अमेरिका

,