कांग्रेसको नेतृत्वलाई योगेश भट्टराईको सुझाब



फागुन, २६ बुधबार । नेकपा एमालेका सचिव एंव प्रचार बिभाग प्रमुख योगेश भट्टराईले नेपाली कांग्रेसको नयाँ नेतृत्वले बिगतमा भएका कमजोरी सच्चाएर जानुपर्ने बताएका छन् । संबिधान जारी भएपछि कांग्रेसले गरेका गम्भीर कमजोरीलाई सच्चाएर जाने अबसर वर्तमान नेतृत्वलाई आएको उनको कथन छ ।

प्रेस चौतारी नेपाल, खोटाङले बुधबार गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले संबिधान निर्माणपछि सहयात्री दलहरुसँगको सहकार्य तोड्नु कांग्रेसको कमजोरी भएको बताए । अब त्यो गल्ती सच्चाउनुपर्ने उनको सुझाब छ । उनले भने,‘संबिधान कार्यान्वयनका लागि संबिधान निर्माणका सहयात्री दलहरुसँग सहकार्य गर्नुपर्छ ।’ संबिधान कार्यान्वयन नहुँदासम्म सबै दलहरुबीचको सहकार्य जरुरी भएको उनले बताए । ‘भोली प्रतिस्पर्धा गरौंला तर संबिधान कार्यान्वयनको लागि आजका चुनौतीहरुलाई मिलेरै सामना गरौं ।’

संबिधान कार्यान्वयनको लागि कांग्रेस यही सरकारमा आउनुपर्ने उनको अर्को सुझाब छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाएर संबिधान कार्यान्वयनमा आएका चुनौतीहरुको एक साथ सामना गर्नुपर्ने उनको भनाई छ । परिवर्तनका आन्दोलनहरुमा कांग्रेसको भुमिका नेतृत्वदायी रहेपनि संस्थागत गर्ने प्रक्रियामा कांग्रेस जहिल्यै चुकेको उनको दाबी छ । कांग्रेसको कारण मुलुकले धेरै मोड र घुम्तीहरुमा क्षति भागेको उल्लेख गर्दै त्यो गल्ती फेरि पनि दोहोर्याउन नहुने उनको सुझाब छ । ‘कांग्रेसले इतिहासमा गरेका गल्तीहरु फेरि दोहोर्याउनु मुलुकको लागि घातक छ ।’

एक अर्को प्रसङ्गगमा उनले आगमी चैत ७ गतेबाट हुने प्रधानन्त्रीको चीन भ्रमणको क्रममा पारबहन, व्यापार, उत्तरी नाका खुल्ला लगायतका बिषयमा सम्झौता हुने बताए ।