रामचन्द्र समूहको उम्मेद्वारी घोषणा केहि बेरमा, पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन



काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि संस्थापन पक्षको तर्फबाट कार्यवाहक सभापति रामचन्द्र पौडेलले वुधबार उम्मेद्वारी घोषणा गर्दै छन् । पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह ४ बजे पत्रकार सम्मेलन गरी पौडेलले उम्मेद्वारी घोषणा गर्ने तयारी गरेका छन् । पौडेलको समूहबाट महामन्त्रीको उम्मेद्वार सशांक कोइराला छन् । कोषाध्यक्षको उम्मेद्वारीबारे भने पत्रकार सम्मेलनमै जानकारी गराइने बताइएको छ । पौडेलको पत्रकार सम्मलेन अघि संस्थापन पक्षकै कृष्णप्रसाद सिटौलाले उम्मेद्वारी घोषणा गर्दै छन् ।

सिटौला र थापा समूह
संस्थापन पक्षको मूलधारको उत्तराधिकारी दावी गरेका महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य गगन थापाले पनि वुधबार दिउँसो उम्मेद्वारी घोषणा गर्दै छन् । यसअघि, चर्चामा आए जस्तै सिटौला सभापति र गगन थापा महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्ने छन् । यो समूहबाट कोषाध्यक्ष घोषणा पनि वुधबार नै हुने भएको छ । वुधबार सिटौला र थापाले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

शेरबहादुरले चुनावी समूह घोषणा गर्दै 
वुधबारै बरिष्ठ नेता शेरबहादुर देउवाले समेत महाधिवेशनका लागि आफ्नो समूह घोषणा गर्दै छन् । देउवाको पक्षबाट महामन्त्रीमा अर्जुननरसिंह केसीले महमन्त्रीको उम्मेद्वारी घोषणा गरिसकेका छन् । यस्तै देउवाले कोषाध्यक्ष लगायतका पदको समेत उम्मेद्वारी पत्रकार सम्मेलनमा गर्ने छन् ।

केन्द्रीय समितिको पत्रकार सम्मेलन 
पार्टी केन्द्रीय कार्यालय सानेपामा वुधबार कांग्रेस केन्द्रीय कार्यसमितिले महाधिवेशको व्यवस्थापनबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दैछ । विहान ११:३० बजे पत्रकार सम्मेलन हुन लागेको पार्टी केन्द्रीय कार्यालय सचिव प्रदीप पराजुलीले जाकारी दिए ।  

,