मेलम्चीको काममा रोक

काठमाडौँ चैत, ७-मेलम्ची खानेपानीको सुरुङ निर्माणमा काम गरिरहेका कामदारलाई निकाल्न खोजिएपछि काम रोकिएको छ । सुन्दरीजलमा काम गरेका टेकबहादुर खड्कालाई आज बिहान कामबाट निकाल्न खोजेपछि त्यहाँ काम गरेका करिब ५० कामदार आन्दोलनमा उत्रेका हुन् । कम्पनीले चोटपटक लाग्दा थोरै बिदा दिने, कामदारको उपचारमा कम्पनीले बेवास्ता गर्ने, धेरै समय काममा लगाउने गरेको गुनासो समेत पोखे । सुरुङ निर्माणको काम सिएमसी कम्पनीले लिएको छ ।
स्थानीय कामदार लक्ष्मण श्रेष्ठले कम्पनीले आफ्ना मान्छेलाई काममा लगाउनका लागि आफूहरुलाई निकाल्न लागेको आरोप लगाए । कम्पनीका प्रबन्धक सूर्य शाहले कामदारलाई तलब बढाइदिएकाले तिनले काममा अवरोध गर्न नहुने बताउँदै कम्पनीको आन्तरिक विषय वार्ता र छलफलबाट टुङ्ग्याइने छ भने। रासस