पार्टीमा अब ६०/४० छैन




शेरबहादुर देउवा
(नवनिर्वाचित सभापति, नेपाली कांग्रेस)

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजय भएका छन् । सोमबार मध्यरातमा सार्वजनिक भएको मतपरिणामअनुसार उनी  कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गरी सभापतिमा निर्वाचित भएका हुन् । दोस्रो चरणको मतदानमा जम्मा ३ हजार १ सय ४० मत खसेको थियो । त्यसमध्ये उनले एक हजार आठ सय २२ मत प्राप्त गरेका छन् । सभापति निर्वाचित भएपछि उनले पार्टीभित्रको आन्तरिक प्रजातन्त्रको अभ्यास भएकाले सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार मध्यरात टेलिफोनमा कुरा गर्दै उनले पार्टीमा सबैलाई मिलाएर लैजाने प्रतिबद्धता पनि व्यक्त गरे । निर्वाचित अवस्था, पार्टीभित्रको एकता, राष्ट्रिय राजनीतिका सन्दर्भमा बलराम पाण्डेले नवनिर्वाचित सभापति देउवासँग गरेको कुराकानीः

तपाई सभापतिमा निर्वाचित हुनुभएको छ । अब कसरी अघि बढ्नुहुन्छ ?

निर्वाचन पार्टीको आन्तरिक प्रजातन्त्रको अभ्यास हो । यसलाई जित र हारको रूपमा लैजानु हुँदैन । आन्तरिक प्रजातन्त्रको अभ्यासमा कसैको जित र कसैको हार भन्ने हुँदैन । नेतृत्व चयनका लागि गरिएको आन्तरिक अभ्यास हो । यसलाई सहज रुपमा लिनुपर्छ ।

पराजित पक्षलाई कसरी मिलाएर लैजानुहुन्छ ?

आन्तरिक प्रजातन्त्रको कुरा रामचन्द्रजीले पनि बुझ्नुभएको छ । उहाँ (रामचन्द्रजी) सँग मिलेर जाने हो । सबैलाई मिलाएर लैजान्छु ।

तपाईंका प्राथमिकताका कामहरु के–के हुन् ?

प्राथमिकतालाई मैले वर्गीकरण गरेको छु । पहिलो प्राथमिकता संविधान कार्यान्वयन नै हो । सीमांकनलगायत मधेसमा उठेका माग सम्बोधन गरेर जानुपर्छ । पार्टीभित्रको सम्बन्धमा देखिएको चिसोपनालाई न्यानोपनमा ल्याउने हो । पार्टीभित्र न्यायपूर्ण अवस्था ल्याएर एक गराउनेछु । अरु पार्टीहरुसँग पनि राम्रो सम्बन्ध राखेर सबैलाई मिलाएर लैजाने मेरो भूमिका हुनेछ

धेरै जनाले अब तपाईंकै नेतृत्वमा नयाँ सरकार बन्छ भनेका छन् । यसलाई कसरी लिनुभएको छ ?

मलाई प्रधानमन्त्री पद महत्वपूर्ण कुरा होइन । म तीनपल्ट प्रधानमन्त्री भएको मान्छे हुँ । मैले सभापति हुने बेलामा नै प्रधानमन्त्री महत्वपूर्ण कुरा होइन भनेर भनिसकेको छु । नेपाललाई कसरी अघि लैजाने भन्ने महत्वपूर्ण कुरा हो । देशको हितमा सोचेर काम गर्नुपर्छ । यसरी बुझ्नुपर्यो ।

भूकम्पपछिको पुनःनिर्माणको काम अघि बढ्न सकेको छैन । यो तपाईंको प्राथमिकता हो कि होइन ?

यो ६ खर्बको प्रोजेक्ट हो । यसमा सबैको सहमति र समर्थनको समिति बन्नुपर्छ । सबैको विश्वास आर्जन नगरे काम हुँदैन । पीडितले अहिले पनि राहत पाएका छैनन् । पैसा भएर पनि पीडितले खान पाएका छैनन् । त्यसैले यो काम छिटो गर्नुपर्छ । कस्तो समिति भन्दा पनि सबैको सहमतिमा हुनुपर्छ । यो कुनै पार्टीको बजेट होइन । यो सहमतिमा गर्ने काम हो । यसमा अरु पार्टीसँग म आफैं कुरा गर्छु ।

अन्त्यमा, आजदेखि पार्टीमा ६०/४० को भागबण्डा अन्त्य भएको हो ?

पार्टीमा अब ६०/४० भन्ने छैन । संस्थागत निर्णय भनेको बहुमतको निर्णय हुनेछ । पार्टीमा सबैलाई मिलाएर लैजाने हो ।
स्रोत: १२खरी 

,