पर्यटकको पर्खाईमा व्यग्र भुजिकोट, दगाम

Narayan Sir 2

– नारायण श्रेष्ठ, दुलेगौंडा ।

हिमाल, पहाड, तराई जस्ता भौगोलीक विविधता र मनोरम हिमाली तथा पहाडी श्रृङखला तथा हरियाली वन, पाखा पखेरा, कंचन हिमनदिहरु एवं ताल तलैयाहरु तराईका हरिया घना जंगलहरुले सुशोभित भई प्राकृतिक सम्पदाहरु विविध मौलीक लोक सांस्कृतिक ऐतिहासिक एवं धार्मिक सम्पदाले भरिपुर्ण नेपाल जस्तो भु–परिवेष्ठीत मुलुकका निम्ति सवैभन्दा उत्तम र सबल अर्थतन्त्रको मेरुदण्ड पर्यटन व्यवसाय नै रहेको तथ्य प्रमाणीत भईसकेको छ ।

मानिस स्वभावैले प्रकृतिप्रेमी हुन्छन र त लेक, वेसी, कुना, कन्दरा, भिर, पहरा, उकाली, ओराली र नदिका भेलहरुको परवाह नगरी प्रार्कतिक क्रिडास्थलको खोजीमा भौंतारीरहेका हुन्छन र स्वर्गीय आनन्दको अनुभुतिका निम्ति आफ.ना समय खर्च गरिरहेका हुन्छन । यसैलाई मनन गरी संसारभरी नै कृतिम संरचनाहरु समेत निर्माण गरि आर्कषण गर्ने गर्दछन तर नेपालका लागी भने प्रकृतिले नै विविधता को श्रृजना गरि अपार गुन लगाएको छ ।
Bhujikot View Tower

महर्षि वेदव्यास र आदिकवि भानुभत्तको जन्मस्थल तनहुँ जिल्ला आफैंमा विविध प्राकृतिक, ऐतिहासिक तथा धार्मिक एवं सांस्कृतिक रुपमा सम्पन्न भएको भएता पनि अझै महत्वपुर्ण गन्तव्यको रुपमा पहिचान दिन सकिरहेको छैन । प्रचारप्रसारको अभाव र राज्यको उदासिनताका कारण प्रशस्त सम्भावना बोकेर पनि ओझेलमा परेको धेरै भु–भाग मध्ये पर्यटकिय सम्भावनाहरु गुम्स्याएर बसेको मनोरम स्थल भुजिकोट पनि हो भन्ने कुरा एकपटका भुजिकोटको उकालो चढ्नेहरु सबैलाई अनुभुति हुने गर्दछ ।

तनहुँ जिल्लाको पश्चिमि भु–भाग शुक्लागण्डकी नगरपालिका वडा नं–१ मा समुन्द्री सतहबाट करिब १ हजार ३३ मि. को उचाईमा अवस्थीत बाघभैरव मन्दीर परिसर पुगेपछि स्वर्गीय आनन्दको अनुभुति हुने गर्दछ । आँखै अगाडि ठिङ्ग उभिएछै लाग्छ धौलागिरि, अन्नपुर्ण, माछापुच्छ«े र मनास्लु हिम श्रृङखलाहरु, परेलि झिम्काएर नौका सयर गर्न निमन्त्रणा गरे झै लाग्छन लेखनाथ उपत्यकाका वेगनास र रुपा तालहरु अनि वयली खेलुं खेलुं लाग्छ लेखनाथ र पोखरा उपत्यका भित्र । अझै साँझपख परेली झिमझिम गर्दै झिलमिलाउँछ पोखरा शहर, शान्तीको विगुल फुक्न थाल्छ अनदु डाँडाको बौद्ध स्तुप र हावाको वेगसंग सल्बलाएझैं लाग्छ फेवाताल, एकाविहानै भक्तहरुको दर्शनार्थ उपस्थीत हुन्छिन् विन्धवासिनी माई, दक्षिणतर्फबाट शुक्लागण्डकी नदिको नागवेली आकार र नगर क्षेत्र आफ्नो किशोरवयको प्रर्दशनमा उत्रिएझैं लाग्दछ, अनि झुम्मिन्छन नजरभरी स्याङ्गजा, बाग्लुङ, गोरखा, धादिङ लगायतका पहाडि श्रृङखला र नवलपरासीका देवचुली, वरचुली र चुरे पर्वतका श्रृङखलाहरु साथै तनहुँकै अग्लो छिम्का लेक ।

वातावरणीय दृष्टिले समेत अत्यन्त स्वच्छ हावापानी र गर्मिको समयमा समेत सधैं शितलता प्रदान गरिरहने भुजिकोट, स्थानथोक र दगाम क्षेत्र वसन्त ऋतुको आगमन संगै ढकमक्क फुलेका लालीगुँरास हरेका आगन्तुकको स्वागतमा भिर पखेरा नभनी श्रद्धापुर्वक उभिएझैं लाग्छ भने शरद ऋतुको याममा पखेराभरि पहेंलपुर भई फुलेका बुकिफुलको सुगन्धले मन्त्रमुग्ध गराउँछ ।

प्राकृतिक सुन्दरताको अलावा यो क्षेत्र ऐतीहासीक स्थलको रुपमा पनि परिचित छ । बाईसे चौबिसे राज्यकालमा यहाँ दुरच्या थरका मगर राजा रजौटाले शासन गरेको दरबारको भग्नावशेष अझै पनि स्थानथोकको डाँडामा देख्न सकिन्छ । दुरच्याले शासन गरेकोले उक्त क्षेत्रलाई दुरुङचुङ नामले चिन्ने गरिएको र दुरुङचुङ राज्यमा तत्कालीन अवस्थामा ७ सय कुरिया (घरधुरी) रहेको समेत स्थानीयहरु बताउँछन । पछि राज्य एकिकरणको क्रम संगै ढोर राज्यसंगै यस राज्यलाई पनि पाल्पाली सेन वंशका राजाले कब्जा गरेर आफ्नो राज्यमा विलय गरेको किंवदन्ती पाईन्छ ।

केही वर्ष अघिसम्म मिश्रीत जातजातीको वसोवास मात्र रहेको यस क्षेत्रमा भौगोलीक असहजता र अवसरको खोजीमा अन्य जातीका समुदायहरु थातथलो छाड्दै गएपछि हाल गुरुङ्ग, मगर र केही दलित समुदायको वस्तिमा सिमित रहेरवस्ती पातलिदैं गएको भए पनि अझै हिम्मत हारेका छैनन भुजिकोट, स्थानथोक र दगामवासीहरु । सामाजीक अगुवाहरुको क्रियाशिलतामा आफ्ना भाषा र लोक संस्कृतिहरु जिवितै राख्ने प्रयास गरिनैरहेका छन । आगन्तुकहरुलाई होमस्टेको माध्यमबाट आतिथ्यता प्रदान गर्ने र आफ्नो मौलीक संस्कृतिहरु पस्केर नाचगान गरी मनोरन्जन दिन समेत त्यत्तिकै अग्रसर छन् । आगन्तुकको स्वागत सत्कारमा सधै तत्परता देखाईनैरहेका छन् । आफ्नो थातथलोलाई पर्यटकिय गन्तव्यको रुपमा स्थापित गर्ने आशाको त्यान्द्रो अझै जिवित राखेका छन् ।

यहि भावनालाई ह्रदयङ्गम् गरि दुलेगौंडा क्षेत्रका व्यापार व्यवसायीहरुको संस्था तनहुँ उधोग वाणिज्य संघ दुलेगौंडा बजार ईकाई समितिको अगुवाईमा शुक्लागण्डकी नगरक्षेत्रका स्थानिय वासिन्दा तथा व्यवसायिहरुको सहकार्यमा आर्थिक संकलन गरि हालसालै करिव १६ लाख रुपैंयाको लागतमा ३८ फिट अग्लो र करिव ३६० वर्गफिटको शुक्लागण्डकी भुजिकोट भ्यू टावरको निर्माणकार्य समेत सम्पन्न गरि औपचारीक समुद्घाटनको तयारीमा जुटेको छ ।

पृथ्वी राजमार्गको दुलेगौंडा बजारको वन्केवा चोकवाट वन्केवा बगैंचा हुँदै करिव ७ कि.मि. दुरिमा रहेको भुजिकोट सम्म जिप चल्न सक्ने गरि मोटरबाटो पुगिसकेको छ । लगभग त्यतिकै दुरिमा कोत्रेबाट मकानपुर हुँदै जाने कच्ची सडक जोडिएको उत्त क्षेत्रमा जिपमा १ घण्टामै पुगिन्छ भने पैदलै गएपनि दुई घण्टामा पुग्न सकिन्छ । बाटो जिर्ण अवस्थाले सवै खाले सवारि साधनको पहुँच पुग्न नसकेको वर्तमान अवस्थामा पनि भ्यू टावर निर्माण पश्चात विदाको समयमा आन्तरीक पर्यटकको आर्कषण वढ्न थालेपछि स्थानिय वासीन्दाहरु उत्साहित वन्न थालिसकेका छन । यसले के संकेत गर्दैछ भने तत्काल सडकको स्तरबृद्धि गरी हल्का सवारीसाधनहरु सहजरुपमा आवतजावत गर्न सक्ने गरी निर्माण गर्ने र प्रचार प्रसार कार्य तिव्र गतिमा अगाडि वढाउने कार्यमा राज्यका निकायहरु लाग्ने र स्थानियलाई अभिमुखिकरण गराई सचेत गराई पर्यटन प्रर्वद्धनमा जोड दिने हो भने भुजिकोट दगाम क्षेत्र तनहुँ जिल्लाको महत्वपुर्ण पर्यटकिय गन्तव्यको रुपमा बिकास गरी आन्तरीक एवं बाह्य पर्यटकको प्रमुख आर्कषणको केन्द्र बन्ने कुरामा कुनै शंका छैन, बरु थप आर्कषणको निम्ति भ्यू टावरमा बाईनाकुलर (दुरविन)जडान अति आवश्यक छ । यस तर्फ पनि सवैको ध्यान जान जरुरी छ । अस्तु