डायस्पोराले चिन्नै पर्ने कांग्रेस नेता



कृष्ण सादगी / भर्जिनिया

प्रसिद्ध साहित्यकार धराबासीजीको सबैभन्दा पछिल्लो कृति 'ग्रेट फल्स' गत साता नेपालमा विमोचन भयो। यस पुस्तकमा धराबासीजीले प्रवासीएका नेपाली अमेरिकनहरुको कथा व्यथालाई उतारेका छन्। युवा नेता विश्वप्रकाश शर्माले न्युयोर्कवासी सैयौं नेपालीहरुका विचमा बोलेका कुराहरुको 'ओज र गहनता'लाई ध्यानमा राख्दै साहित्यकार धराबासीजीले आफ्नो पुस्तकमा यसलाई महत्वपुर्ण स्थान दिनु भएको रहेछ। 

लेखक 
सन् २०१४ को नोभेम्बरमा नेपाली जन सम्पर्क समिती अमेरिकाको एकता महाधिवेशनलाई संबोधन गर्न टेक्सास राज्यमा उत्रिएका विश्वप्रकाश शर्मालाई आ-आफ्नो स्टेटमा आईदिन उनका मित्र र शुभचिन्तकहरुबाट अनुरोधको ओईरो आईरहेको थियो। जम्मा १० दिन मात्रको छोटो भ्रमण भएकाले उनका साथीभाई ईस्टमित्रहरु सबैकहा पुग्न सम्भव नै थिएन । उनलाई समय व्यवस्थापनको निक्कै चटारो परेको देखिन्थ्यो।

डिसी, भर्जिनिया, मेरीलैण्ड क्षेत्रका साथीहरुलाई संक्षिप्त भेटघाट, छलफल र अन्तरकृया गर्न मैले एक साझ 'राउण्ड टेबल' कार्यक्रमको आयोजना गरेको थिएँ । त्यसको लगत्तै भोली पल्ट हामी न्युयोर्कमा हुने कार्यक्रममा पुग्नु थियो । न्युयोर्कमा सैयौ नेपालीहरुको भेलालाई सम्बोधनका क्रममा शर्माले जे बोले त्यो निकै मर्मष्पर्षी र उच्चस्तरको सम्बोधन थियो। त्यसपछी लगत्तै भएको अन्तरक्रिया पनि हरेक सहभागीले विश्वप्रकाश शर्मालाई नै प्रश्नहरुको धुईरो लगाएका थिए। त्यसबेला मैले महसुस गरें कि 'कत्रो ठुलो क्रेज' रहेछ प्रवासमा पनि विश्व प्रकाश शर्माको ?

मलाई पनी लाग्यो कि यो सम्बोधन उनको 'व्यक्तित्व र देश निर्माणको भिजन' बुझ्ने एउटा महत्वपुर्ण कसी हो। त्यसैले मैले यहाहरु सबैलाई जानकारी होस भनेर धराबासीजीको अनुमती लिएर क्रमश: प्रकाशित गर्ने जमर्को गरेको छु। यो पढेर विश्वप्रकाश शर्मालाई राम्रोसँग बुझ्नुहुन समस्त पाठकहरुमा म हार्दिक अनुरोध गर्दछु।

'ग्रेट फल्स' पुस्तकमा रहेको विश्व प्रकाश शर्माको सम्बोधन: (पहिलो भाग)

सायद कार्यक्रममा वक्ता धेरै थिएनन् । ती मध्ये प्रायः ले बोलिसकेछन् । विश्वलाई आसन ग्रहण र प्रवचन दुबैका लागि आव्हान गरियो । उनी स्टेजमा गएर माइक अघि उभिए । उनको आफ्नै शैलीमा प्रवचन शुरु भयो ।

- ‘सर्वप्रथम यहाँ उपस्थित सम्पूर्ण साथीहरुको सम्मान तथा अभिवादन गर्न चाहन्छु । भर्खरै टेक्सासमा सम्पन्न भएको जनसम्पर्क समितिको अधिवेशन सकेर हामी यहाँ भेला भएका छौं । आजको रात यहाँ बिताएर भोलि म नेपाल फर्किदैछु ।

अहिले म यहाँ बोल्दै गर्दा स्मरण गरिरहेको छु, म त्यहाँ अगाडि बसेको बेला अघि सोचिरहेको थिएँ– आजको पचास वर्ष पछि, अमेरिकामा जन्मिएको वालक जब अमेरिकाको माटोमा हजूरबा बन्ला, हजुरआमा बन्लिन । त्यो पुस्ताले यत्तिकै गम्भीर भएर भोलि आफ्नो पितृभूमिका बारेमा सोच्ला ? चिन्ता चासो कति राख्ला ? किन कि तपाईहरु त अहिले नेपाली जीवन र पिडा देखेर बुझेर आउनु भएको छ । त्यहाँको धुलो मैलो, सुखदुःख हेरेर आउनु भएको छ, अँध्यारो उज्यालो भोगेर आउनु भएको छ । आफूले पाएका अनुभव अनुभूतिलाई उतै कतै थन्क्याएर आउनु भएको छ ।

मलाई लाग्छ– आजका तपाइ हामीले यस विषयमा यो बेला गम्भीर ढङ्गले सोच्नु र छलफल गर्नु पर्ने बेला भएको छ । नेपाल देशले पनि सोच्नु पर्छ ।

नेपालभित्र बोलिरहँदा पनि म भन्ने गर्दछु कि अब नेपाल दुईटा छ । एउटा नेपाल भूगोल भित्र बाँचिरहेको छ र अर्को नेपाल भूगोल र सीमाना बाहिर भावनाका साथ बाँचिरहेको छ । यी दुइटा नेपाल कसरी एकाकार हुन सक्छन्, यस बारेमा आजको पचास वर्ष पछिको पुस्ताले होइन, आजकै पुस्ताले सोच्नु पर्छ । अनि त्यो सोचाई आज अमेरिकामा बसेर तपाईहरु जो गरिरहनु भएको छ त्यसलाई म सम्मान गर्न चाहन्छु ।

आज म यहाँ धेरै विषयमा बोल्दिन । आयोजक साथीहरुले मलाई अघि भन्नु भएको थियो आज तपाईले बोल्दा एउटा ठोस विषयमा बोल्नु होला । त्यसको बारेमा मैले बाटो भरि सोचिरहें । के विषयमा बोल्ने ? केही अघि देखि म यो सोचिरहेको छु कि अबको पन्ध्र वर्षमा देशलाई कसरी समृद्ध बनाउन सकिन्छ ? पन्ध्र वर्षे योजना के हुन सक्छ ? त्यस विषयमा मैले दुईटा कुरालाई मात्र ध्यानमा राखें ।

एउटा रहेछ प्राविधिक पाटो, अर्को रहेछ प्राज्ञिक पाटो ।

 यसमा पनि सबैभन्दा मूख्य कुरा प्राज्ञिक पाटो रैछ । नेपाललाई समृद्ध बनाउन अबको पन्ध्र वर्षभित्र प्राज्ञिक पाटो महत्वपूर्ण रहेछ । त्यसै विषयमा छलफल गर्नु पर्दा मलाई लाग्छ सबैभन्दा पहिला हामीले आशावादी हुनुपर्नेछ ।

 हाम्रो देश त्यो देश हो, जुन देशले राजसंस्थाको अन्त्य गर्दै गर्दा फ्रान्सका मान्छेहरुले जस्तो रगतै रगतको बीचबाट अन्त्य गरेनन् । हाम्रा अग्रजहरुले त्यो योग्यता राख्नु भो कि संगीनले घोचेर राजदरवार खाली गराइएन बरु अथाहा मानिसहरुको सडकमा उठेको आवाजले बन्दुकको आन्दोलनलाई पनि त्यही भित्र समावेश गरेर १२ बुँदे समझादारीको बलमा सम्भव तुल्यायो । त्यो इच्छा शक्ति र क्षमता फ्रान्सका मानिसहरुले गरेको भन्दा कम थिएन ।

नेपाल देशको अगुवाइ गरिरहेका कुनै अगुवा नेताहरुले पनि सायद आजको तिथीमा बुझ्यो भने आफ्नो आगनमा वालश्रमिक नहोला तर हामी यही अमेरिकाको स्थापना गर्दै गर्दाको संघर्षको नायक जर्ज वासिङटनको त्यो बेलाको घरभित्र पसेर हे¥यौं भने त्यहाँ थुप्रै दासहरु थिए ।

हामी त्यो देशमा छौ जुन देशमा १९६० मै महिलाहरुले निर्वाचनमा मतदान गरेर उमेद्वार पनि भए र निर्वाचित भएर मन्त्री बने तर यो दुनियाँमा अहिले पनि एउटा स्वीजल्र्याण्ड भन्ने देश छ, जो हामीभन्दा धेरै अगाडि छ तर १९६० सम्म त्यहाँ महिलाहरु मतदाता पनि थिएनन् । हामी दुनियाँका सामू कैयौं कुरामा इच्छाशक्ति दृढ भएका देशका नागरिकमा पर्छौ ।
क्रमश:

, ,