फेसबुकमा स्टाटस लेखे जस्तो छैन विदेश




- सतिश भट्टराई 

   खुशी के हो त  ? सायद सबैको आ-आफ्नै परिभाषा हुनसक्छ ।

१२ पास गरेको युवालाई सोध्नुहोस् अब तिमिले के गर्ने विचार गरेको छौ ? भनेर  | असि प्रतिशतको एउटै जबाफ आउछ विदेश जाने |

खुशी उसको अनुहारमा होइन शब्दमा पाउनु हुन्छ | जुन विदेश भन्दा उसको मुहारमा मुस्कान बनेर झल्केको हुन्छ।

गाउँको रबिन विदेश जान्छ तर उ फर्कदा रोबेन बनेर फर्केको हुन्छ | यता रमिलाको पनि त्यस्तै कहानी हुन्छ | रमिला - रुमी बनेर नेपाल फर्केकी हुन्छे।  किनकी मानिसको खुशी कृत्रिम बस्तुसंग तुलना गर्न थालिएको छ |  ठुलो घर, महँगो गाडी, पैसा, हातमा भयको स्मार्ट फोन अनि शरीरमा भयको ब्रान्डेड कपडा आदिले रबिनलाई रोबेन अनि रमिलालाई रुमी बनाई दियको हुन्छ।

त्यहि रोबिन अनि रुमीले ठुलो ठुलो घर आगाडी छोटा छोटा कपडा लगाएर हातमा स्मार्ट फोन बोकेर खिचेका फोटो सबैले फेसबुक, इन्स्टाग्राम, लाइन , भाइबरमा देखेका  हुन्छन | जसले हामी सबैको मन खिचेको हुन्छ अनि सबैले विदेशमा  खुशी भएको देख्न पुग्छन् | तर नेपालमा भएको हरिया पहाड, सेता हिमाल, कल कल बग्ने नदी अनि वरिपरीको प्राकृतिक बस्तुको सुन्दरता कसैले देख्दैनन ।

केवल देखिन्छ त विदेशमा बसेकाले खाएका फास्ट फूड ( बर्गर, पिज्जा, स्यान्डविच ) नेपालमा खाईने  हरियो सागपात, भुटेको मकै, ताजा फलफुल कसैको आखामा पर्दैन , घरगाउभरि मेवा, केरा, अम्बा पाकेर बसेको हुन्छ | हामी नेपालमा हुनेलाई त्यसको कुनै पनि महत्त्व हुदैन तर विदेशमा हुनेहरुले त्यो खाएको एक टुक्राको फोटो फेसबुकमा हाल्दा सबैको मनमा लोभ आउछ अनि उसको जीवन खुशी भएको अनुमान लगाउछौं |  वा वा भन्छौं |

आजकल त प्रेम गर्नलाई पनि तपाई विदेश जान पर्ने हुन्छ वा तपाईको घर परिवारबाट कोहि विदेश गएको हुनु र्ने हुन्छ।  त्यो पनि युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया ।

 समाजले पनि यस्तो बर्गिकरण गर्दीईसकियो कि बिहे गर्न जादा पनि तपाईको योग्यतालाई हेरीदैन केवल हेरिन्छ त तपाई कुन देशमा बस्नु हुन्छ, अनि तपाईसंग त्यो देशको पीआर (स्थायी बसोबासको अनुमतिपत्र) छ कि छैन।  यदि तपाईसंग छैन, अर्कोसंग छ भने कुरा बुझ्नुस तपाइको सट्टा अर्कोको बिहे हुन्छ |

यदि तपाई युरोप, अमेरिका, क्यानाडा, अस्ट्रेलिया जानु भएको छ वा त्यो देशको पीआर तपाईसंग छ भने तपाई लाई नेपालको  खानदानी वर्गको घरबाट छोरा  वा छोरीको बिहेको  प्रस्ताब आउछ। त्यो  व्यक्ति कस्तो र योग्यता के छ त्यसको लेखाजोखा हुदैन । अनि तपाई सानो देश जानु भएको छ भन्ने तपाईसंग राम्रो योग्यता भएपनी तपाइलाई त्यो वर्गका छोरा / छोरी को बिहेको प्रस्ताब गर्दैनन् वा कसैले प्रस्ताब गरेमा पनि जिब्रो टोकने गर्छन ।


नेपालमा बसेका मानिसको आखामा विदेशमा सुख मात्र छ भन्ने जालो लगाई दिनुमा विदेश बस्ने तपाई हाम्रो पनि दोष छ |

हामीले यहाँ पाएका दुख र पीडाहरु त्यहाका आफन्त र साथीभाईलाई भनेका छैनौं | मात्र यहाका हाँसो र खुसीका पलहरु सामाजिक संजालहरुमा राखेर उनीहरुका मनमा विदेश त सार्है राम्रो रहेछ भन्ने पारिदिएका छौं | यो भुमिसम्म आउदा पाएका हण्डर र ठक्कर भन्न सक्यौ भने उनीहरुले बुझ्ने थिए | समय र पैसाको कुरा पनि भन्दिने हो भने धेरै मान्छेले यो बाटो सोच्ने पनि थिएन |

कुनै पनि नेपाली विदेशमा दुख पाएर होस्, भिसाको समस्याले  होस, काम गारो भएर होस,  धेरै काम गरेर वा कुनै पनि समस्याले नेपाल फर्किएको छैन | सहेरै यही बसेको छ | औलामा गन्न सकिन्छ तस्तो कुनै नेपाली छैनन जसले बिदेशमा आफुले पाएको दुख पिडा अनि विदेशमा हुने समस्या नेपाल गएर भन्न चाहन्छन।  उनिहरुले नै सबै भन्दाबढी त्यो देशको बखान गरेका हुन्छन । छ महिनासम्म पाएको दुख आफ्नै मनमा राखेर एक साँझ गरेको रमाईलोको तस्बिर फेसबुकमा राख्छौं हामी | अनि देशमा बसेकाहरुले सजिलै सोच्छन की विदेशमा खुशी खुशी छ र सुख सुख छ भनेर |

हामी नेपालीलाइ आफु आफुमा कोहि पनि सानो हुन मन लाग्दैन। तर बिदेशी र मालिकका अगाडी हामी सधै झुकिरहेका छौं | सधै  सुखको,यात्रा गरेको, खाएको र पिएको मात्र कुरा गरेर नेपालमा हुनेलाई विदेशप्रति आकर्षित पार्ने काम गर्छौ | नत्र नेपालमा मेडिकल चलाएर बसेको व्यक्ति किन विदेश आएर भाडा माजेर बस्छ | एउटा शिक्षक कारखानामा फलाम माथि हम्मर हान्दै हुन्छ | बैंकमा काम गर्ने बैंक अधिकृत रेस्टुरेन्टमा वेटरको काम गर्छ | चर्चित कलाकार र पत्रकारको अवस्था पनि त्यस्तै छ |  के विदेशमा हुने सुख यहि हो त ?

विदेशमा सुखभन्दा दुख धेरै छन् | यदि हामीले विदेश आउनको लागी लाग्ने जति खर्च र पैसाले आफ्नो ठाउमा नै उपयुक्त काम, व्यापार वा केहीमा लगानी गर्न सकियौ भने विदेशमा भन्दा धेरै पैसा अनि खुशी खुशी आफ्नै घर परिवारसग जीवन बिताउन सक्छौ | यो हामी विदेश बस्नेले बुझिसकेका छौं | अब दुखका कुरामा पनि खुलेर बहस गरौँ | आफन्त र साथीभाईहरुलाई आजै भनौं की बिदेशमा हाम्रो हाल के छ !

त्यसो भयो भने बुढा बाबुआमालाइ छिमेकीको जिम्मा लगाएर हिड्नु पर्दैनथ्यो | श्रीमान एउटा देशमा अनि श्रीमती अर्को देशमा बसेर आफ्नो पिडा फोनमा आशुको धारा बगाउदै साटासाट गर्नु पर्दैनथ्यो | एउटा आमाले ममतालाई मारेर जन्मेको ३/४  महिनाको बच्चालाई अरुको जिम्मा लगाएर विदेश जानु पर्दैनथ्यो | सफल जीवनको सपना बोकेर विदेश आएको युवाले जीवनदेखि हार खाएर आत्महत्या गर्नु पर्दैनथ्यो | ऋण तिर्ने र घर उजिल्याउने कल्पना गर्दै सुटकेस बोकेर विदेश आएको तन्नेरी कडा र असुरक्षित कामका कारण मृत्यु भएर काठको बाकसमा बन्द भएर फर्कनु पर्दैनथ्यो |

हामीले भोगेको विदेशको कथा भन्ने आँट गरौँ | आफु फसियो तर अरुलाइ यो दलदलमा फस्नबाट मुक्त गरौं |

सोचेजस्तो छैन विदेश, देखे जस्तो छैन विदेश,
फेसबुकमा स्टाटस लेखे जस्तो छैन विदेश ||

हाल जापान 

,